नेपालमा सुन तस्करीको जालो बढ्दै

विमानस्थलबाट हालसम्मकै धेरै सुन बरामद, ठूला व्यापारीको संलग्नता हुनसक्ने आशंका

डिबी शर्मा
Read Time = 23 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर आएको हालसम्मकै धेरै मात्रामा तस्करीको सुन बरामद भएको छ । विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको हो । मोटरसाइकल र स्कुटरको ‘ब्रेकसु’ तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको सुन विभागले मंगलबार साँझ बरामद गरेको हो । ‘अण्डर इन्भेस्टिगेसन’मा रहेको भन्दै मंगलबार बरामद भएको सुनबारे बुधबार मात्रै सार्वजनिक भएको हो । विमानस्थलस्थित भन्सार कार्यालयबाट जाँच पास भएर आएको सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो ।

विभागले बरामद गरेको सुनसहित स्कुटर र मोटरसाइकलका ‘ब्रेक सु’को तौल नेपाल राष्ट्र बैंकको टक्सार विभागले जोखेर भ्याएको छ । राष्ट्र बैंकले ती ‘ब्रेक सु’ जोख्दा कुल तौल १५५ किलो आएको विभागले जनाएको छ । ती सबै ‘ब्रेक सु’ मा सुन रहेको पाइएको छ । अब ती ‘ब्रेक सु’बाट सुन निकालेर जोखेपछि सुनको यकिन विवरण आउने छ । ती ‘ब्रेक सु’मा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ । राष्ट्र बैंकले सुन मात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ आयात गर्ने कम्पनी हो रेडी ट्रेड प्रालि । रेडी ट्रेडले तीन महिनाको अवधिमा दर्जनौँपटक सामान आयात गरेको पाइएको छ । दिलीप भुजेल सञ्चालक रहेको कम्पनीले विमानस्थलबाट सन् २०२३ अप्रिल २४ तारिखबाट १८ जुलाईसम्म तीन महिनाको अवधिमा दुई दर्जन बढीपटक सामान आयात गरेको पाइएको हो । ‘ब्रेक सु’का नाममा सुन भियाउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा २०७९ चैत २१ गते मात्र दर्ता भएको पाइएको छ । तीन महिनाअघि प्यानमा मात्र दर्ता भएको उक्त कम्पनीको ठेगाना भने बूढानीलकण्ठ नगरपालिकाको पासिकोट रहेको आन्तरिक राजस्व कार्यालयको अभिलेखमा उल्लेख छ ।

ठूलो मात्रामा बरामद भएको सुनमा ठूला व्यापारीको संलग्नता हुनसक्ने विभागको आशंका छ । विगतदेखि नै सुन कारोबारमा संलग्न नाम चलेकै व्यवसायी यसमा संलग्न भएको हुनसक्ने विभागको आशंका छ । यसअघि पनि यसरी सुन आएको हुनसक्ने विभागको आशंका छ । यसमा व्यवसायी दीपक मल्होत्राको संलग्नता हुनसक्ने विभागले आशंका गरेको छ । यद्यपि, उहाँले भने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता अस्वीकार गर्नुभएको छ ।

पक्राउ परेकाहरूलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई बिहीबार उच्च अदालत पाटनले १० दिन थुनामा राख्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको हो । सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबारसम्म एकजना चिनियाँसहित सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, भोजपुरकै अरुण गाउँपालिका-४ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ । लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन् । उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो । तस्करीमा अरू व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी तीव्र पारिएको छ । तस्करीमा संलग्न भएको आशंकामा विमानस्थल अध्यागमनबाट एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

चीन उड्न लागेका ३६ वर्षीय जेक्युयाङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । उनी सात महिनाअघि नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको प्रहरीको आशंका छ । उनलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अध्यागमन कार्यालयले जनाएको छ । उनी मंगलबार बरामद करिब एक सय केजी सुनको कारोबारसँग जोडिएको आशंका छ । सुन तस्करी प्रकरणमा विभागले थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी लिएको छ । यता, राजस्व विभागले काठमाडौंबाट पुष्करराज भट्टलाई बिहीबार साँझ पक्राउ गरेको छ । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । उच्च अदालत पाटनबाट विभागले थप व्यक्ति पक्राउ गर्न जरुरी पक्राउ पुर्जी जारी गरेको छ ।

छानविन समिति गठन, विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी निलम्बित
विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार राजस्व अनुसन्धान विभागले छानविन समिति गठन गरेको छ । बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । तर, भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानविन समिति गठन भएको हो । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिले पाँच दिनदेखि बढीमा सात दिनभित्र प्रतिवेदन दिइसक्नु पर्ने समय पाएको छ । विभागले सामान ल्याउने कम्पनीले कतिपटक सामान ल्याएको छ ? के के सामान ल्याएको छ ? भन्सार प्रक्रिया पूरा भए नभएको, भन्सार जाँचका लागि राखिएको यन्त्र उपकरणको प्रयोग भए नभएको विषयमा छानविन समितिले अध्ययन गर्नेछ । प्रक्रिया पूरा नभई सामान भित्रिएको भए त्यसमा संलग्न कर्मचारीलाई कारबाही गर्न सिफारिस गर्ने काम समितिले गर्नेछ ।

विभागले विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गर्न अर्थ मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ‘ब्रेक सु’ भित्र सुन आउँदा जाँच गर्ने फाराममा हस्ताक्षर गर्ने, भारम भर्ने र सामान आएको घोषणा गर्ने भन्सार एजेन्टलाई निलम्बन गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो । अधिकृतलाई सचिव स्तरको निर्णयबाट मात्रै निलम्बन गर्नुपर्ने हुन्छ । निलम्बनमा पर्ने कर्मचारीलाई भन्सार विभागले बिहीबार बिहानै जानकारी दिएको थियो ।

चिनियाँ व्यापारीको गोदाममा छापा
राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । ट्याक्सी चालकले दिएको बयानका आधारमा बालुवाटारको उक्त घर लोकेसनमा छापा मारिएको हो । उनले उक्त लोकसनमा सामान लैजान भनिएको भन्ने बयान दिएका थिए । विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने यकिन भने भएको छैन ।

साधारण ज्यामीको नाममा कम्पनी
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आएको रेडी ट्रेड पक्राउ परेका व्यक्ति दिलिप भुजेलको रहेको खुलेको छ । भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ‘ब्रेक सु’को रूपमा उक्त सुन भित्रिएको हो । उनी साधारण ज्यामी हुन् । निर्माणस्थलमा काम गर्ने उनी काठमाडौंमा घर बनाउने काममा खटिने गरेका थिए । विभागले साँखुबाट उनलाई पक्राउ गरेको थियो । केही समय अगाडिसम्म उनले घर बनाउने स्थानमा इँटा बोक्नेलगायत साधारण काम गर्दै आएका थिए । दुई महिनाअघि उनी साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा काम गर्दै आएका थिए । उनै भुजेलको स्वामित्वमा कम्पनी रहेको पाइएको छ । प्रमाणित रूपमा उनका नाममा कम्पनी रहेको पाइए पनि कसैले उनलाई प्रयोग गरेको हुनसक्ने राजस्व अनुसन्धान विभागको आशंका छ । दिलीपका बुवा रामबहादुर भुजेलका अनुसार उनले २० हजार रुपैयाँको लोभमा अरु कसैका लागि कम्पनी खोलिदिएका थिए । उनको नाममा कम्पनी खोलेर उनलाई २० हजार रकम दिइएको थियो । २० हजारको लोभमा आफ्नो नाममा अरूकै योजनाअनुसार रेडी ट्रेड नामक कम्पनी खोलिदिएका थिए । कम्पनी खोलिदिए पनि कम्पनी र त्यसको कारोबारबारे भने उनी बेखबर थिए । कम्पनी कसले चलाउँथ्यो उनलाई त्यो पनि थाहा थिएन ।

अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । यस्ता घटनाहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराउनुभयो । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्वउच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ ।’ अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको उहाँको भनाइ थियो ।

सुन प्रकरणमा संलग्नता नरहेको मल्होत्राको दाबी
प्रारम्भिक अनुसन्धानको सुई भने उनैतर्फ
सुन प्रकरणमा व्यवसायी दीपक मल्होत्राको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा खटिएका अधिकृतहरूले पनि सो दाबी गरिरहेका छन् । अध्यागमन विभागको प्रारम्भिक अनुसन्धानमा पनि मल्होत्राको संलग्नता देखिएको स्रोतले जनाएको छ । मल्होत्रामाथि यसअघि समेत सुन तस्करी गरेको आरोप छ । उहाँको विमानस्थलमा लामो समयदेखि सेटिङ चल्दै आएको छ । मल्होत्राले शक्तिकेन्द्र मिलाएर एयरपोर्टमा कर्मचारीको सरुवामा समेत प्रभाव राख्दै आउनुभएको स्रोत बताउँछ । उहाँकै योजनामा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणमा प्रदीप अधिकारीलाई महानिर्देशकसमेत बनाउनुभएको थियो । यसमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ ।

तर, मल्होत्रा भने यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुहुन्छ । हङकङबाट भित्र्याइएको तस्करीको सुनमा नाम जोडिएपछि उहाँले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संलग्नता अस्वीकार गर्नुभएको हो । आफू संलग्न नै नभएको विषयमा नाम जोडेर समाचारहरू आएको भन्दै उहाँले आफ्नो चरित्रहत्या गरिएको जिकिर गर्नुभयो । ‘म र मेरो परिवारको कारोबार राज्यलाई थाहा छ । त्यत्रो सुन आयात गर्न मसम्बद्ध प्रतिष्ठानबाट भुक्तानी पठाउने काम भएको छैन ।’ उहाँले सुन तस्करीमा संलग्न भएको पुष्टि भए सजाय भोग्न तयार रहेको जिकिर गर्नुभएको छ ।

सुन तस्करीमा राजनीतिक संलग्नता रहेको सांसदहरूको आरोप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणमा सुन बरामद भएको विषय संसद्मा उठेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षीका सांसदहरूले यो प्रकरण उठाएका हुन् । कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले यति धेरै सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट कसरी छिर्‍यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले एकपटक नभई पटक-पटक ठूलो परिमाणमा सुन भित्रिएको भन्दै प्रश्न गर्नुभयो, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’

रायमाझीले त्यो ठूलो परिमाणमा सुन भित्रिनुमा मिलेमतो भएको हुनसक्ने बताउनुभयो । उहाँले कसैको मिलेमतोबिना यो कसरी सम्भव भयो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले यो घटनाले राष्ट्रको छवि धुमिल भएको टिप्पणी गर्नुभयो ।

यस्तै, एमाले सांसद गोपाल भट्टराईले एक सय किलो सुन बरामद भएको विषयमा निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो । उहाँले तस्करहरूले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आशंका उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरू जोडिँदासमेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’

जनमतका सांसद मोहम्मद खालिदले एक अर्बको सुन भित्रिन सक्ने भए बाहिरिन पनि सक्ने भन्दै छानविन आवश्यक रहेको बताउनुभयो । उहाँले जुन सरकार आएपछि आफ्नो मान्छे राख्ने प्रवृत्ति रहेको भन्दै सुन तस्करीमा राजनीतिक संलग्नता रहेको हुनसक्ने बताउनुभयो । यसैगरी सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानविन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गंगाकुमारी बेल्वासेले पालिकास्तरमा महिला विकास तथा उत्थान प्रवद्र्धन र महिला सशक्तिकरणका लागि महिला विकास शाखा स्थापना गर्न माग गर्नुभएको छ । सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानविन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

सांसद जगप्रसाद शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दर मुखिया नामका व्यक्तिले उद्धार गरी बचाएको र लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको भन्दै राज्यले उनलाई सीपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पुर्‍याएर गोताखोरमा नियुक्त गर्न माग गर्नुभयो ।

सेनाको संख्या घटाउनै हुँदैन : गौतम
राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । पूर्व-उपप्रधानमन्त्रीसमेत रहनुभएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गर्नुभयो । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो । त्यसो गरियो भने नेपाली सेनाले आगामी पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने सांसद गौतमले तर्कसमेत गर्नुभयो । सांसद गौतमले गौरवगाथाले भरिएको नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताउनुभयो । त्यस अवसरमा उहाँले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै नसक्ने जिकिरसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?