
काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल वर्चस्व क्रमशः कमजोर बन्दै गएको छ । झण्डै साढे तीन दशकदेखि निरन्तर नेतृत्वमा रहनुभएका प्रचण्डलाई पछिल्लो समय पार्टी र विभिन्न मोर्चामा दोस्रो तहका नेताहरूले चुनौती दिन थालेका हुन् । यसले पार्टीमा उहाँको एकल वर्चस्व कमजोर हुँदै गएको देखाउँछ । उहाँलाई चुनौती दिने नेताहरूले नै पार्टी छोड्दा निर्विकल्प जस्तै बन्नुभएका प्रचण्डले यसअघि आफ्नो चाहनाअनुसार पार्टी चलाउँदै आउनुभएको थियो । तर, पछिल्लो समय महाधिवेशनदेखि पार्टीका बैठकमा समेत उहाँको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठ्ने गरेको छ । कतिसम्म भने पार्टीको स्थायी कमिटी बैठकमै प्रचण्डलाई सम्मानजनक बहिर्गमनको आग्रहसहितको लिखित दस्तावेज पेस गरिएको थियो । उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित दस्तावेज पेस गर्दै अध्यक्ष प्रचण्डलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्नुभएको थियो । शर्माले नै गत महाधिवेशनमा पनि छुट्टै लिखत प्रस्ताव गरेर केही गम्भीर प्रश्नहरू उठाउनुभएको थियो । प्रचण्डलाई चुनौती डा. बाबुराम भट्टराई लगायतका केही नेता बाहिरिएपछि कही समय निर्विकल्प बन्नुभएको प्रचण्डलाई पछिल्लो समय शर्माले निरन्तर चुनौती दिइरहनु भएको छ ।
माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको चुनाव पनि अध्यक्ष प्रचण्डले सोचेअनुसार भएन । क्रान्तिकारीकै एक नेताका अनुसार उहाँको चाहना सकेसम्म निर्विरोध अध्यक्ष चयन गर्ने थियो । तर, त्यसो हुन सकेन । चुनाव भयो र नतिजा पनि उहाँले सोचेभन्दा फरक आएको ती नेताको भनाइ छ । अहिलेको चुनावमा प्रचण्डको घोषित प्यानल थिएन । तर, केही उम्मेदवारलाई पार्टी ‘हेडक्वार्टर’को साथ रहेको भन्दै प्रचार गरिएको थियो । अर्थात् शर्मा समूह बाहेककाले आफूहरूलाई संस्थापनको उम्मेदवार भनेर प्रचार गर्ने गरेका थिए । तर, परिणाम हेडक्वार्टरको साथ पाएका भनिएकाहरू भन्दा इतर समूहका उम्मेदवारका पक्षमा बढी आयो । क्रान्तिकारीको महासचिवसहित उपमहासचिवमा शर्मा समूहका सात उम्मेदवार विजयी भएका छन् । उपमहासचिवमा संस्थापन पक्षका विपिन पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका नीरज श्रेष्ठ मात्रै विजयी हुनुभयो । यसैगरी, कोषाध्यक्षमा फूलमाया रानामगर (खुशी) निर्वाचित हुनुभयो । उहाँ पनि शर्मा समूहकै उम्मेदवार हो ।
महासचिव र कोषाध्यक्षसहित शर्मा समूहका सात उपमहासचिव विजयी
अखिल (क्रान्तिकारी)को महासचिवसहित उपमहासचिवमा जनार्दन शर्मा समूहका सात उम्मेदवार विजयी भएका छन् । बुधबार भएको मतगणनामा हेमन्त राई पक्षका सातजना उपमहासचिवमा विजयी भएका हुन् । महासचिवमा रोशन थापा १९१ मतान्तरले विजयी हुनुभयो । थापामगरले ६०१ मत प्राप्त गर्नुभयो । थापामगरले महासचिवका सात उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । महासचिवमा थापामगरसँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्यामबहादुर रोक्का, सञ्जयकुमार महतो र सञ्जीव फुँयाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
थापामगर यसअघि संगठनको सचिव हुनुहुन्थ्यो । ३२ वर्षे उमेरहद लगाउने कि नलगाउने भन्ने विषयमा पार्टी र विद्यार्थी संगठनमा विवाद चलिरहदँदा थापामगर उमेरहद लगाउनुपर्ने पक्षमा खुलेरै लाग्नुभएको थियो । जनार्दन शर्मा अर्थमन्त्री रहँदा मगर उहाँकै सचिवालयमा हुनुहुन्थ्यो । थापामगरले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्टरतर्फ स्नातक गर्नुभएको छ भने त्यसै क्याम्पसबाट सहरी योजनामा स्नातकोत्तर गर्नुभएको छ ।
यसैगरी, उपमहासचिवमा निर्मला गौतम, गजेन्द्र यादव, भगवान बास्तोला, रमेश अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट र जटिल कार्की निर्वाचित हुनुभयो । उपमहासचिवमा संस्थापन पक्षका विपिन पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका नीरज श्रेष्ठ विजयी हुनुभएको छ । नौ जनामा आठजना पुरुष उपमहासचिवमा निर्वाचित हुँदा बागमती प्रदेशबाट गौतम निर्वाचित हुनुभयो । उहाँले उपमहासचिवमा सर्वाधिक दोस्रो मत प्राप्त गर्नुभयो । गौतम ८०३ मत ल्याएर विजयी हुनुभयो । उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेल सर्वाधिक ८३१, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ र सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मतसहित निर्वाचित हुनुभएको हो । गैर भौगोलिकतर्फ उपत्यका विशेष प्रदेशबाट नीरोज श्रेष्ठ ४०६, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ मतसहित निर्वाचित हुनुभयो ।
अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा फूलमाया रानामगर (खुशी) निर्वाचित हुनुभयो । विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा फूलमायाले ५९६ मत ल्याएर विजयी हुनुभएको हो । यस्तै, सचिव खुलामा सम्झना राई, प्रेम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित हुनुभयो । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याउनुभयो भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित हुँदा समकृति पुन ५२९ मत ल्याएर विजयी हुनुभयो । यस्तै, सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी हुँदा सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी हुनुभयो ।
एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववियु र युवा संघ अध्यक्ष पदमुक्त
नेकपा (एकीकृत समाजवादी)ले भ्रातृ संगठन विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष आरती लामा र युवा संघ अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेको छ । एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गर्दै उनीहरूलाई पदमुक्त गरेको जानकारी दिएको हो । पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन–४ मा उनीहरूको जिम्मेवारी खोसिएको उल्लेख छ । पार्टीको केन्द्रीय सदस्य तथा भौगोलिक जिम्मेवारीसमेत पाएको कारण उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको नेकपा एसले जनाएको छ । लामालाई पार्टीको केन्द्रीय सदस्यसँगै सर्लाहीको सहइञ्चार्ज र विकलाई म्याग्दी जिल्लामा जिम्मेवारी दिइएको छ । सोही आधारमा उहाँहरू जनसंगठनका जिम्मेवारीबाट मुक्त हुनुभएको हो । लामा पदमुक्त भएपछि अखिल अध्यक्षको जिम्मेवारी महासचिव महेश श्रेष्ठले पाउनुहुने भएको छ ।
अखिलको अध्यक्षमा सापकोटा विजयी
अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतान्तरले अखिलको अध्यक्ष विजयी हुनुभएको हो । सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाउनुभयो । अध्यक्षमा चारजना चुनावी मैदानमा उत्रिएका थिए । तेस्रो हुनुभएका उपदेश यादवले ३१० मत ल्याउँदा सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गर्नुभयो । सापकोटा हेडक्वार्टर पक्षका उम्मेदवार हुनुहुन्थ्यो । दोस्रो हुनुभएका राई भने उपमहासचिव जनार्दन शर्मा समूहका उम्मेदवार हुनुहुन्थ्यो ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो । गत असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको हो । पुस १३ मा उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट सापकोटा अध्यक्ष हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच