घरदैलोसँगै मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल

Read Time = 5 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा व्यस्त छन् । यहाँका ठूला दलदेखि स्वतन्त्र र साना दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलोसँगै चुनावी सभा, भेला र गोष्ठी गरिरहेका छन् ।
यहाँ सत्तापक्ष गठबन्धन दलले भने घरदैलौसँगै मतदाता शिक्षालाई समेत सँगसँगै अगाडि बढाएको छ । उसले बदर मतको संख्या कम गर्नका लागि मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गरेको छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसेका बेला गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने गाउँ–गाउँमा मतदाता शिक्षा पु-याएको हो ।

मतदाता शिक्षाका लागि जिल्लाका १० वटै पालिकामा गठबन्धनका कार्यकर्ताहरु खटिएका छन् । निर्वाचनको प्रचारप्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा व्यक्तिहरु खटाइएको गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बताउनुुभयो ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई समेत राजनीतिक दलको काँधमा राखिदिएकाले मतदाता शिक्षा दिन दल आफैले कार्यकर्ता खटाउनुपरेको सभापति श्रेष्ठको भनाइ छ । सभापति श्रेष्ठले भन्नुुभयो, ‘निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएका छौँ ।’ आम नागरिकले मतदानमा भाग लिन पाउने राजनीतिक अधिकार संरक्षणका लागि मतदाता शिक्षा दिइएको सभापति श्रेष्ठले बताउनुुभयो । पहिले दूरदराजका ग्रामीण मात्र नभएर सहरी इलाकाहरूमा समेत बदर मत संख्या बढेको देखिँदा मतदाता शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भन्नुुभयो ‘हरेक मतदाताको मतदान वैध हुनुपर्छ, मतदान प्रक्रियामा उत्साहजनक सहभागिता हुनुपर्छ । मतदाता शिक्षाले नै मतदाताको क्षमता अभिवृद्धि हुन्छ र मतदान प्रक्रियामा सहभागी हुने मनोबल उच्च पार्छ ।’

कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य तथा बुथ व्यवस्थापन समितिका संयोजक राम बहादुर कार्की,काँग्रेसका जिल्ला सदस्य माधव थापाले प्रशिक्षण दिए पछि गाउँ गाउँ खटाइएको हो । निर्वाचनको समयमा हुन सक्ने दलको चुनाव चिन्ह बारे प्रभावकारीता कायम राख्न र मतदान देखिएको चुनाव चिन्हको अन्योलता कम गर्न तालिम प्रदान गरिएको प्रशिक्षक कार्कीले बताउनुभयो । मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा मतदाता शिक्षामा खटिएकाले सिकाउने छन् ।

यता जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको समन्यवमा १८ गतेदेखि सामन्य रुपमा मतदाता शिक्षा दिइरहेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल १ सय १८ मतदान केन्द्र रहेका छन् भने २ सय ४६ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो । समितिले २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल सूचिमा रहेको जनाएको छ । यस्तै ५० वटालाई सम्वेदनशील र ३९ वटालाई सामान्यमा राखेको छ । यहाँ १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?