
सञ्चारकर्मसँगै गायन क्षेत्रमा आफूलाई तल्लीन राख्दै आउनुभएको छ ईश्वरी बरालले । लमजुङ स्थायी घर हुनुभएकी ईश्वरी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । समाचार लेख्ने र वाचनमा कुशल उहाँ गायनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । उहाँको स्वरमा रहेका ‘हरेक रात सपनीमा’, ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’ जस्ता गीत रुचाइएका छन् । ‘लभ पर्न सक्छ’ गीत श्रोता/दर्शकमाझ ल्याएर यो क्षेत्रमा औपचारिक पाइला चाल्नुभएकी ईश्वरीका आधा दर्जनजति सिंगल र दर्जन बढी समूह गीत रहेका छन् । स्कुल/कलेज पढ्दै गर्दा कार्यक्रममा गीत गाउनुहुने उहाँ सुरुका दिनमा रहरले यो क्षेत्रमा प्रवेश गरे पनि यतिबेला भने स्थापित गायिकाको परिचय बनाउन सफल हुनुभएको छ । दर्शक/श्रोताको प्रतिक्रियाले आनन्द मिल्ने बताउनुहुने ईश्वरी आफूमा गीत संगीतको नशा रहेको सुनाउनुहुन्छ । हामीकहाँ गीत धेरै चले पनि गायक/गायिका नचिनिले समस्या हुने गरेको आफूले पाएको बताउनुहुने गायिका तथा सञ्चारकर्मी ईश्वरी बरालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
गीत संगीतको क्षेत्रमा किन आउनुभयो ?
आफ्नै रुचिले आएँ । अध्ययन र पत्रकारितामा व्यस्त भएका कारण धेरैपटक गीत संगीत मेरा लागि होइन, म सक्दिन, समय दिन भ्याउदिन भनेर संगीततिर ध्यान नदिए पनि रहर मर्नुको सट्टा झन् बढ्दै जान थाल्यो । सानैदेखि अलि-अलि गाउँथेँ। एसएलसीपछि विस्तारै भोकल प्राक्टिसका लागि माहोल मिल्न थालेको थियो । प्लस टु पढ्दै गर्दा आफ्नै कलेज (स्वयम्भुस्थित रेन्वो इन्टरनेसनल)ले आयोजना गरेको सांगीतिक कार्यक्रममा स्टेजमा गाएपछि मलाई मैले पनि गीत गाउन सक्ने रहेछु भन्ने थाहा पाएँ । शिक्षक र साथीहरूले तारिफ गर्नुहुन्थ्यो । कलेजमा मैले नचिनेका अरू फ्याकल्टीका साथीहरू पनि बोल्न आउनुहुन्थ्यो । त्यसपछि फुर्सदको समयमा भोकल प्राक्टिस गर्न थालेँ । मैले पनि बजारमा गीत निकाल्न पाए हुन्थ्यो भन्ने किसिमको रहर लाग्न थाल्यो तर यो क्षेत्र मेरा लागि अत्यन्तै नयाँ थियो । मेरो आफन्त वा चिनेजानेको कोही यस क्षेत्रमा हुनुहुन्नथ्यो । त्यतिबेलै गीत निकाल्ने रहर पूरा हुन सकेन ।
ब्याचलर पढ्न आरआर कलेज गएँ । पत्रकारिता पढ्दै मिडियामा समाचार रिपोर्टिङ सिक्न थालेँ । भद्रकालीस्थित सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा न्युजमा काम सुरु गरे पनि त्यहाँ लामो समय बस्ने मौका मिलेन । त्यहाँबाट पानीपोखरीस्थित इमेज गु्रप अफ कम्पनिजमा प्रवेश गरेँ । त्यहाँ म समाचार लेख्ने र वाचन गर्ने गर्थें ।
इमेजमा गएपछि पत्रकारितासँगै गीत संगीतको माहोलले फेरि लोभ्याउन थाल्यो । समाचार र मनोरञ्जन प्रदान गर्दै आएको ठूलो प्राइभेट मिडिया हाउस इमेजले थुप्रै र गुणस्तरीय सांगीतिक कार्यक्रम सञ्चालन गर्ने भएकाले अफिसमा चल्तीका कलाकारहरूको बाक्लै उपस्थिति हुन्थ्यो । म पनि इमेजमै कार्यरत पत्रकार भएका कारण धेरै कलाकारहरूसँग राम्रो चिनजान हुन थाल्यो । त्यही माहोलमा वरिष्ठ गीतकार, गजलकार डा. कृष्णहरि बराल अंकलसँग भेट भयो । अंकलसँगको सहकार्यमा मेरो पहिलो गीत ‘लभ पर्न सक्छ’ रेकर्ड भयो । तर, त्यसको भिडियो बन्न सकेन । गीतलाई नै रिरेकर्ड गरेर तीन-चार वर्षअघि मात्रै युट्युबमा राखेको छु ।
गायनको औपचारिक सुरुवात ?
‘लभ पर्न सक्छ’ गीत दोस्रोपटक २०७३/२०७४ सालतिर रेकर्ड गरेको हो । त्यसलाई नै औपचारिक सुरुवात मान्नुपर्छ । तर, मैले गीतलाई मात्रै समय दिन नभ्याएका कारण ग्याप भयोे । त्यसपछि ‘हरेक रात सपनीमा’, ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’ जस्ता मेरा सिंगल गीतहरू रहेका छन् भने दर्जन बढी गीतहरूमा ग्रुप गायन गरेकी छु ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
म सुरुमा आफ्ना लागि मात्रै र आफ्नो खुसीका लागि मात्रै गीत गाउँथेँ तर अहिले गीत गाउनुको अर्थ र कारणको दायरा फराकिलो हुँदै गएको छ । मेरो खुसीसँगै जोडिएको मेरो घरपरिवार, मलाई माया गर्नेहरू र दर्शक श्रोताका लागि गीत गाउँछु । उहाँहरूको प्रतिक्रियाले आनन्द मिल्छ ।
गीत संगीतमा लागेर बाँच्न सकिन्छ नि ?
मैले संगीतलाई मात्रै पेशा नबनाएका कारण यसबारे जानकारी छैन । तर, संगीतलाई मात्रै समय दिने हो भने यसबाट राम्रै कमाई हुन सक्ने मैले साथीहरूले भनेको सुनेकी छु । बाहिरबाट हेर्दा स्टेज र सामाजिक प्लेटफर्मबाट कमाइ हुने देखिन्छ तर वास्तविकता नहुन पनि सक्छ । मैले पनि मेरो आफ्नै युट्युब च्यानल (श्री ईश्वरी प्रोडक्सन)मार्फत् गीतहरू सार्वजनिक गर्न थालेकी छु । मेरो यसअघिको माया छ कि छैन गीत सार्वजनिक गरेर आफ्नो युट्युब सुरु गरेकी हुँ । मेरो भर्खरै रिलिज भएको गीत ‘नैना रेसम’ पनि आफ्नै युट्युबमार्फत् सार्वजनिक गरेको हो । युट्युबबाट पनि केही कमाइ भएको छ ।
संगीत सिक्नुभयो कि ?
सिकेँ नि । मैले जमलस्थित गन्धर्व विद्यालयमा चन्दन श्रेष्ठ गुरुसँग संगीत सिकेकी हुँ । कोभिडपछि थानेश्वर गौतम, नरहरि प्रेमी सरसँग सिकेर अहिले गायकीमा प्राक्टिस गरिरहेकी छु ।
आफ्ना गीतका भिडियोहरूमा आफू पनि देखिनुभएको छ, मोडलिङ पनि सिक्नुभएको हो ?
मोडलिङ होइन तर डान्सचाहिँ सिकेको हो । गीत धेरै चले पनि गायिका नचिनिले समस्या हुँदोरहेछ । मेरा गीतहरू ‘नरिसाउन होइ माया’ र खानदानी छोरी मा’ त्यस्तै भएको थियो । ‘खानदानी छोरी’को रिमिक्स भर्सन करोड क्लबमा प्रवेश गर्ने तरखरमा छ तर गायिका म हो भन्ने धेरैलाई थाहा छैन । आफ्नो गीतमा दर्शक, श्रोता झुमेको, रमाएको देख्दा भने निकै खुसी लाग्छ ।
यो सम्बन्धमा एउटा किस्सा पनि छ । बबरमहलस्थित सत्यवती कला केन्द्रमा म डान्स सिक्थेँ । क्लासमा डान्स सिकाउने गुरुआमाले ‘खानदानी छोरी’को डिजे भर्सनमा पनि डान्स प्राक्टिस गराउनुहुँदो रहेछ । आफ्नो गीतमा नाच्न पाएपछि म झन् एक्साइटेड भएर नाच्न थालेँ, म्यामले ‘किन खुसी हुनुभयो त बहिनी’ भनेर सोध्नुभयो, मैले ‘आफ्नै गीतमा नाच्न पाएर नि’ भनेँ । म्यामले नपत्याएर धेरैपटक भेरिफाइ गर्नुभयो । मलाई चिनिसकेपछि भने स्पेसल कोर्समा डान्स सिकाउनुभयो । भिडियो सुट र क्यामेराको अगाडि पर्फम गर्ने धेरै आइडियाहरू दिनुभयो । त्यसपछिका गीतहरू बनाउँदा मैले गाउने सँगसँगै भिडियो फिचरिङलाई पनि ध्यान दिन थालेकी छु ।
घरपरिवारको सहयोग कस्तो छ ?
मेरो सामान्य परिवार हो । बुबा टिचर, आमा समाजसेवी, दुईजना दाजुहरू हुनुहुन्छ । भाउजू र भदा वेवी हुनुहुन्छ । म एउटी छोरी । पढेलेखेको परिवार भएका कारण मलाई गीत संगीतमा मात्रै लाग्ने छुट भएन, थिएन । एसएलसी फष्र्ट डिभिजनमा पास गरेर लमजुङबाट पढ्नका लागि काठमाडौं आएको हो । मलाई पत्रकारिता पढ्न धेरै रहर थियो । दाजुले हामी बस्ने स्वयम्भु डल्लु टोलमा रेन्वो इन्टरनेसनल कलेजमा लगेर एडमिसन गराइदिनुभयो । मैले पत्रकारिता नभई कुनै टेक्निकल सब्जेक्ट पढिदिएको भए हुन्थ्यो भन्ने थियो । मैले पत्रकारिता पढ्दा त घरमा सबैजना खुसी हुनुहुन्नथ्यो भने झन् गीत गाउँदा खुसी हुनुहुन्छ होला जस्तो मलाई लाग्दैन । पढाइलाई पनि मास्टर्ससम्म लैजाँदासम्म गीतको संख्याहरू पनि केही थप्दै गएँ । गीत निस्केको बेला हेरेर खुसी भइदिनुहुन्छ । त्यो बाहेक घरमा मेरो गीत संगीतको क्षेत्रबारे खासै छलफल हुँदैन ।
यो क्षेत्रमा लागेर केही गुनासो छ कि ?
गुनासो त खासै छैन । गीत संगीतको नशाजस्तै हुने रहेछ । यसमा डुबुल्की लगाएपछि निस्कन गाह्रो हुँदो रहेछ । म रहरका लागि एउटामात्रै गीत गर्छु भन्ने सोचेर प्रवेश गरेकी थिएँ । तर, यो क्षेत्र छाड्न नपरोस् जस्तो हुन थालिसकेको छ । फेरि दर्शक/श्रोताले यति धेरै माया गरिदिनुभएको छ कि म अब यो क्षेत्रलाई टाढा राख्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच