गलैंचा उत्पादक संघमा नयाँ नेतृत्व

Read Time = 3 mins

काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनबाट ई. तेन्जिङ शेर्पा अध्यक्षमा चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा समिकविक्रम शाह, प्रथम उपाध्यक्षमा देवआनन्द सरावगी, द्वितीय उपाध्यक्षमा हिराबहादुर लामा, तृतीय उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा बलराम गुरुङ र दुई सचिवमा दानबहादुर चन्द ठकुरी र सुकुमान बम्जन चयन हुनुभएको छ ।

कोषाध्यक्षमा राधा पन्त र सहकोषाध्यक्षमा राजेशकुमार रायमाझी रहनुभएको छ । सदस्यमा छिरिङ लामा, नरहरि थापा, सोनाम लामा, ङिमा जाङ्मो शेर्पा, विवश योञ्जन, आशिष लामा, कृष्णमान प्रजापती, भीमबहादुर तामाङ, श्याम श्रेष्ठ र सुरेश लामा चयन हुनुभएको संघले जनाएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष शेर्पाले अहिले देखिएको विदेशी मुद्राको अभाव गलैंचा निर्यातबाट पूर्ति गर्न सकिने बताउनुभएको छ । सरकारले सही नीति लिएको खण्डमा विदेशी मुद्रा आर्जनका लागि गलैंचा उपयुक्त माध्यम बन्न सक्ने उहाँको भनाइ छ । निर्यातमा आठ प्रतिशत नगद अनुदान हालसम्म सहज तरिकाले पाउन नसकेको भन्दै उहाँले सहजीकरण गरिनुपर्ने, गलैंचा क्षेत्रको विकासका लागि कामदार र दक्ष जनशक्ति उत्पादन गर्न वर्षभरि तालिम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विभिन्न नौ उद्योग तथा व्यवसायीलाई सम्मान गरिएको थियो । उत्कृष्त निर्यातकर्ता तीनजना, वातावरणमैत्री र उत्कृष्ट कार्यस्थल सञ्चालन र दुई दशकभन्दा बढी गलैंचा क्षेत्रमा काम गरेका तीन-तीन कलाकारलाई सम्मान गरिएको हो । आर्थिक वर्ष २०७८\०७९ मा सबैभन्दा बढी निर्यात गर्ने सांग्रिला कार्पेट, थर्ड आई इन्टरनेसनल र प्याराडाइज कार्पेट उद्योगलाई सम्मान गरिएको छ । वातावरणमैत्री र उत्कृष्ट कार्य सञ्चालनबापत विपु गलैंचा उद्योग, एनआर कार्पेट, आशिष कार्पेट उद्योग र दुई दशकभन्दा बढी गलैंचा उद्योग काम गर्ने कलाकार लक्ष्मी तामाङ, अर्पण शिवभक्ति, पदम खपांगी मगर सम्मानित हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?