बागलुङ । बागलुङ नगरपालिका-९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती गर्न थालेका छन् । १५ वर्षदेखि खेती हुन छाडेको बाँझो जमिनको सदुपयोग गरि स्थानीयले ओखर खेती गर्न थालेका हुन् । दशक अगाडि गाउँका स्थानीयले खेतीपाती गर्ने बारी बसाइँसराइपछि बाँझोमा परिणत भएको थियो । बाँझो जमिनलाई कृषक समूहले मेसिन लगाएर सम्याई ओखरका विरुवा लगाएका छन् ।
दुर्लेनी सामुदायिक कृषि तथा जडिबुटी समुहमार्फत ओखर खेती सुरु गरेको समुहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिनुभयो । बसाइँसराइका कारण उजाड बनेको गाउँमा झाडीले ढाकेको जमिनको उपयोग गरि आयआर्जनसँग जोडिन ओखर खेती गरेको उहाँको भनाइ छ । १७ जना युवाले थालेको ओखर खेती राम्रो हुँदै गएपछि गाउँका अन्य स्थानीय पनि आकर्षित भएका छन् ।
अध्यक्ष खड्काका अनुसार हाल १४० रोपनी जग्गामा दुई हजार २०० ओखरका विरुवा लगाइएको छ । विरुवा हुर्किदै गएपछि किसानहरु उत्साहित भएका छन् । ओखर खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । हालसम्म किसानको रु १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु १० लाख अनुदान गरि रु २४ लाख लगाइ भइसकेको समूहका अध्यक्ष खड्काको भनाइ छ ।
उहाँले भन्नुभयो - “लामो समय गाउँका खेतीयोग्य जमिन झाडीले ढाकिएको थियो, १५/१७ वर्ष अगाडि अन्न बाली फल्ने ठाउँलाई फेरि एक पटक उर्वर बनाउँ भन्ने हिसाबले लागेका छौँ, अहिले ओखरको विरुवा हुर्कि रहेका छन्, उत्पादन दिन थाल्यो भने यहाँबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ, लगानी पनि निरन्तर गरि रहेका छौँ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखर खेतीका लागि उपयुक्त हावापानी रहेको र किसानले माग गरे अनुसार अनुदान उपलब्ध गराएको बताउनुभयो । उक्त ठाउँमा हाल १४० रोपनी क्षेत्रफलमा विरुवा लगाए पनि अझै क्षेत्र विस्तार गर्न सकिने उहाँको भनाइ छ । ओखर खेतीबाट राम्रो आम्दानी गर्न सकिने हुँदा किसानको जीवनस्तरसमेत उकास्न सकिने प्रमुख पौडेल बताउनुभयो ।
“परियोजनाले कश्मीरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट विरुवा ल्याएर लगाउनु भएको छ, विरुवा हुकिएका छन्,” प्रमुख पौडेलले भन्नुभयो - “आगामी वर्ष थप सहयोग गर्ने योजना बनाएका छौँ, प्राबिधिक र प्रबिधि सहयोग निरन्तर हुन्छ, उहाँहरुले निकै मेहेनत पनि गर्नु भएको छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच