
भक्तपुर । भक्तपुरको मुख्य सडकखण्डमा तीव्र गतिका कारण सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले गति नियन्त्रण अभियान सुरु गरेको छ। मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि, पेप्सीकोला सडकखण्ड अन्तर्गत निकोसेरा चोकबाट अभियान सुरु गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार भक्तपुरका फराकिला सडकमा अत्यधिक गति नै दुर्घटनाको मुख्य कारण बनेको छ। पछिल्लो सात महिनामा मात्र सल्लाघारी–पेप्सीकोला सडकमा १६० सवारी दुर्घटना भएका छन्, जसमा ९० प्रतिशत घटनामा मोटरसाइकल र स्कुटर संलग्न थिए। फराकिलो र चिल्लो सडकमा मोटरसाइकल, मिनिट्रक, भाडाका साना गाडी, र टिपर तीव्र गतिमा चलाउँदा दुर्घटना बढेको तथ्यांकले देखाएको छ।
दुर्घटना रोक्न ट्राफिक प्रहरीले सवारी गति सीमा निर्धारण गर्दै निगरानी कडा बनाएको छ। मध्यपुरथिमि–पेप्सीकोला सडक खण्डमा प्रतिघण्टा ४० किलोमिटर, बस्तीभित्र ३० किलोमिटर, र अरनिको राजमार्ग अन्तर्गत मनोहरा खोलादेखि राधेराधे सूर्यविनायकसम्म ५० किलोमिटरको गति सीमा तोकिएको छ। ट्राफिक प्रहरीले जुनसुकै समयमा राडार गन प्रयोग गरी गति मापन गर्ने भएकाले तोकिएको सीमा भन्दा बढी गतिमा सवारी चलाए कारबाही गरिनेछ।
रातिको समयमा पनि ट्राफिक प्रहरीले निगरानी बढाएको छ। सोमबार राति ८ बजेदेखि ९ बजेसम्म गरिएको एकघण्टे चेकिङमा ४९ सवारी साधन कारबाहीमा परेका छन्। टिपरहरूले रातिको समयमा तीव्र गतिमा सवारी चलाउँदा पैदलयात्री, साइकल, मोटरसाइकल, स्कुटर तथा अन्य सवारीलाई ठक्कर दिने, सडक किनारका बारहरू भत्काउने र घरभित्रै छिर्ने घटनाहरू बढेपछि रातिको समयमा समेत गति मापन गरी कारबाही थालिएको छ।
भक्तपुरका विभिन्न सडकहरूमा यस्तो अभियान आवश्यक रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। मध्यपुरथिमि नगरपालिकाको संयोजनमा ट्राफिक प्रहरी, नगरपालिका, प्रहरी वृत्त, डिभिजन सडक कार्यालय भक्तपुर र नगर प्रहरीको टोलीले निकोसेरा चोकदेखि पेप्सीकोला मनोहरा पुलसम्म २० स्थानमा गति नियन्त्रणसम्बन्धी जनचेतनामूलक बोर्डहरू राखेको छ।
भक्तपुर नगरपालिकासहित अन्य क्षेत्रका जनप्रतिनिधिहरूले यस्ता अभियान अन्य मुख्य सडकहरूमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउँदै सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच