
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रष्ट पारेको छ । नागरिकको हैसियतले बोल्न छुट भएर पूर्वराजा ज्ञानेन्द्र शाहले बोले पनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । जनता परिवर्तन र अग्रमनको पक्षमा भएकाले लोकतन्त्रको नभएको उहाँको भनाइ थियो । ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठण्डा दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो,’ शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले भन्नुभयो, ‘राप्रपाले पनि केही न केही गर्नु त परेको छ नै, अहिले उहाँलाई त्यति पनि भन्नसक्ने आत्मविश्वास अहिलेको सरकारको कुशासनले गर्दा नै हो । भ्रष्टाचारमा लिप्त हुने कुराले उनीहरूले मुख मिठ्याएका होलान्, जनता परिवर्तन र अग्रमनको पक्षमा छन् । जनता लोकतन्त्रको विकल्पमा छैनन् ।’
पूर्वराजाबाट भन्दा पनि अहिले सत्तामा भएकाहरूबाट व्यवस्थामाथि खतरा रहेको सोपकोटाको टिप्पणी थियो । यसअघि प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते पूर्वराजा शाहले ‘देश जोगाउन आफूलाई साथ दिन’ आहृवान गर्नुभएको थियो । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उहाँले दलहरूलाई चेतावनी दिनुभएको थियो । पूर्वराजाको सन्देशपछि राजावादीहरू भने उत्साहित भएका छन् ।
इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरू सल्बलाए : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरू सल्बलाएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वपना देख्ने गरेको बताउनुभयो । सरकारको उपलब्धि दिन प्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको उहाँको भनाइ थियो । ‘यो सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आ-आफ्नोे हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईँहरू सबैले यो कुरालाई महसुस गरिरहनु भएकै छ,’ उहाँले भन्नुभयो, ‘अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवा स्वप्नामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।’
प्रचण्डले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाउनुभयो । ‘अहिले फेरि नेपाल आर्थिक रूपले ग्रे लिष्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ, ठगहरू हुन् यी पार्टीहरू भनेर कांग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौँ,’ उहाँले भन्नुभयो । प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बनेको स्वीकार गर्नुभयो ।
लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुनै सक्दैन : पुन
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभएको छ । शनिबार झापामा आयोजित एक कार्यक्रममा पुनले सरकारमा बस्नेहरूको व्यवहारले जनतामा असन्तुष्टि चुलिएको बताउनुभयो । तर, लोकतन्त्रको विकल्प भने निरंकुशतन्त्र हुन नसक्ने उहाँको भनाइ थियो । केपी शर्मा ओलीको ‘भ्युटावर’ विकास मोडल अनुत्पादक भएको उहाँले टिप्पणी गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी र घरबारविहीनलाई सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्युटावर हो भन्ने स्थापित गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो । ‘हिजो निरंकुश शासन हुँदा गरिब जनतालाई शोषण गरेर शासकहरूले आफ्ना लागि ठुल्ठूला घर बनाउँथे । जनतालाई ज्याला पनि नदिई खाना दिएको भरमा भीमफेदीबाट काठमाडौंसम्म बोकाएर ल्याएको गाडी चढेर शासकहरू हिँड्थे’, पुनले भन्नुभयो, ‘आफू र आफ्नाहरूको मस्तीका लागि गरिब जनता चुस्ने प्रवृत्ति निरंकुश शासनमा हुन्छ । लोकतन्त्रमा यस्तो हुनु हुँदैन ।’ लोकतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही नहुने उहाँले बताउनुभयो ।
लोकतन्त्रको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको स्पष्ट पार्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने स्पष्ट पार्नुभयो । लोकतन्त्रकै विकल्प खोज्नु भनेको मुलुकलाई संकटमा धकेल्ने काम मात्रै भएको उहाँको भनाइ थियो । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’ लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको लेखकले बताउनुभयो । १० वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँको भनाइ थियो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच