प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, संसद्को कार्यकाल सुरु

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित शपथ समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये चारजना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् । अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस सांसद माया राई र माओवादीका रामकुमार राई रहेका छन् । प्रतिनिधिसभामा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना,जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट तीनजना, लोसपाका चारजना, स्वतन्त्र पाँचजना, राष्ट्रिय जनमोर्चाबाट एक र नेमकिपाबाट एकजना सांसद निर्वाचित भएका छन् ।

नेपालीदेखि संस्कृतसम्म १४ मातृभाषामा शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित २६ जना सांसदले विभिन्न १४ मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मातृभाषामा शपथ लिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म रहनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मैथिली भाषा (मधेशी भाषा) मा शपथ लिनुभएको छ । जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्थाली भाषामा शपथ लिनुभएको छ । माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारू भाषामा शपथ लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रूपा चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारू भाषामै शपथ लिनुभएको छ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झाले मैथिली भाषामा सांसदको शपथ लिनुभएको छ । जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनुभएको छ ।

माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङले तामाङ भाषामा शपथ लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम÷नेपाली भाषामा शपथ लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधि भाषामा शपथ लिनुभएको छ । कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिनुभएको छ । एमालेका सराज अहमद फारुकीले उर्दु भाषामा शपथ लिनुभएको छ । सांसद दुर्गा राईले कोई/कोयु भाषामा शपथ लिनुभएको छ । स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिनुभएको छ ।

भ्रष्टाचार र हत्या अभियुक्त सांसदले पनि लिए शपथ
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रूपमा शपथ लिनुभएको छ । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबारको शपथमा सहभागी हुनुभएको हो । त्यस्तै, सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुनुहुन्छ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहनु भएका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद कोइरी २०७२ को मधेश आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी-लेखेटी हत्या गरेको आरोपमा अहिले पनि फरार सूचीमा हुनुहुन्छ ।

भागवत गीता बोकेर सुनील शर्माको शपथग्रहण
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गीता छोएर ईश्वरको नाममा शपथ लिनुभएको छ । संस्कृत भाषामा शपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साहजस्तै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर शपथग्रहण गर्नुभएको हो । शपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर जानुभएका शर्माले हिन्दुहरूको महान् ग्रन्थ गीता पनि साथमै बोक्नुभएको थियो । सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीतासमेत थियो । डा.शर्माले सांसदबाट पाउने तलबभत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरूलाई प्रदान गर्ने बताउनुभयो ।

गठबन्धनकै सरकार बन्छ, प्रधानमन्त्रीबारे सल्लाह हुँदै छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै सरकार बन्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकार गठन प्रक्रिया सहज रूपमा अघि बढ्छ । गठबन्धनकै सरकार बन्छ । पहिलो पालोमा को प्रधानमन्त्री भन्ने विषयमा सल्लाह हुँदै छ ।’

सरकार गठनका विषयमा छलफल प्रारम्भ भएकै छैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिनिधिसभाका नवनिर्वाचित सांसद माधवकुमार नेपालले नयाँ सरकार गठनका बारेमा सत्तारूढ गठबन्धनबीच कुनै छलफल नभएको दाबी गर्नुभएको छ । सांसद पदको शपथ लिन संसद् भवन पुग्नुभएका नेपालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, ‘गठबन्धनका नेताहरूका बीचमा कुनै छलफल नै भएको छैन । हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । अस्ति बस्ने भनेको म बिरामी भएकाले छलफल हुन पाएन, अहिले पनि म बिरामी अवस्थामै छु । तर, आज, भोलिमा हामी छलफल गर्छौँ ।’ एक अर्को प्रसंगमा अध्यक्ष नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताउनुभएको छ ।

राष्ट्रपतिको भूमिकाबारे संसद्मा छलफल हुनुपर्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसद्मा छलफल हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संसद्बाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठिक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसद्को सार्वभौमसत्ता खोसिने जिकिर गर्नुभयो । सरकारले हालै मात्र ल्याएको अध्यादेश संसद्मा आउँदा आफूले विपक्षमा मत दिने प्रतिक्रिया दिँदै थापाले भन्नुभयो, ‘तर, त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई छैन । राष्ट्रपतिको भूमिकाबारे संसद्मा छलफल हुनुपर्छ ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाऊन् : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाऊन् भन्ने चाहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले भन्नुभयो, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ । यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् ।’

संसद्मा धेरै केन्द्रित हुने हो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभाका सांसद रामचन्द्र पौडेलले अब आफू संसद्मा धेरै केन्द्रित हुने बताउनुभएको छ । संसद् भवनमा सञ्चारकर्मीहरूले राष्ट्रपति बन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा संक्षिप्त जवाफ दिँदै पौडेलले भन्नुभयो, ‘संसद्मा धेरै बस्ने हो अब ।’

सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आइरहेको छ : राउत
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त (सिके) राउतले सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आएको बताउनुभएको छ । सांसदको शपथ लिन नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका अध्यक्ष राउतले सत्ता गठबन्धन र एमालेले सरकारमा सहभागिताको लागि अनुरोध गरेको जानकारी दिँदै भन्नुभयो, ‘कस्तो सरकार बन्छ ? भन्ने थाहा छैन । सरकार बन्छ भन्ने मात्रै बुझ्न सकिन्छ । न त लेफ्ट छ, न त राइट छ । जुनसुकै सरकार बने पनि त्यहाँ गएर जनताका माग पूरा गराउने मात्रै हो ।’

राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसकै : कोइराला
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाटै बन्ने दाबी गर्नुभएको छ । शपथग्रहणका लागि संघीय संसद् पुग्नुभएका कोइरालाले दुवै पद कांग्रेसले पाउने दाबी गर्नुभएको हो । यता, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ । तर, कांग्रेस पहिलो चरणमा प्रधानमन्त्री आफैँसँग राख्न खोजिरहेको छ ।

सरकारको नेतृत्वको लागि दाबी रहन्छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गर्नुभएको छ । सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘हामीलाई सरकार बनाउन पुग्ने जनमत त छैन । यद्यपि, कसैलाई पनि बहुमत नआएको परिप्रेक्ष्यमा चौथो ठूलो दलको हैसियतमा कुनै ढंगबाट हामीले नै नेतृत्व गर्न सक्ने अवस्था रहन्छ कि भन्नेलाई पनि छलफलको विषय बनाएका छौँ । बाँकी हेर्दै जाऊँ ।’

राष्ट्रपति रामचन्द्र वा माधव, प्रचण्ड प्रधानमन्त्री : शर्मा
नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताउनुभएको छ । शपथग्रहणका लागि संघीय संसद् भवन पुग्नुभएका शर्माले भन्नुभयो, ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ । अध्यक्ष प्रचण्डको पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ । राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुनुहुन्छ होला ।’

व्यक्तिगत र दलगत स्वार्थमा लाग्न मिल्दैन : बस्नेत
नेपाली कांग्रेसका नेता एंव प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले अब राजनीतिक आन्दोलन नभएर देश र जनताको समृद्धिमा लाग्नुपर्ने बताउनुभएको छ । शपथग्रहणपछि संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले भन्नुभयो, ‘अब जनताबाट निर्वाचित भइसकेपछि अब सांसदहरू व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देशको विकासका लागि सक्रिय हुनुपर्छ । त्यो हुन नसके राजनीतिक वितृष्णा पैदा हुनसक्छ । पहिला पनि यो स्थिति देखा नपरेको होइन । अब राजनीतिक आन्दोलनमा लाग्नुपर्ने अवस्था छैन । जनताको समृद्धिका लागि लाग्नुपर्ने समय हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?