
काठमाडौं । नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सूक्ष्म रूपमा हेरिरहेको बताएको छ । विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उहाँले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भन्दै त्यसलाई सेनाले नियालिरहेको जंगी अड्डाले जनाएको छ । ‘विभिन्न शक्ति राष्ट्रले लिएका नीति र क्षेत्रीय रूपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौँ भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ’, सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले भन्नुभयोे, ‘नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्नमा चिन्तन मनन भइरहेकै अवस्था हो ।’
बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको उपरथी अधिकारीले प्रतिक्रिया दिनुभएको छ । गएको शुक्रबार सकिएको सेनाको पृतनापति सम्मेलनमा समेत यो विषयमा बहस भएको थियो । आइतबार भएको पत्रकार सम्मेलनमा सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी गौरवकुमार केसीले सेनाको पृतनापति सम्मेलन अर्धवार्षिक रूपमा हुने नियमत अन्तरक्रियाको फोरम भएको बताउँदै भन्नुभयो, ‘त्यसमा देशभरिका युनिटहरूका गतिविधि र उनीहरूका क्षेत्राधिकारभित्र पर्ने ठाउँका सुरक्षा अवस्थाबारे छलफल हुनु स्वाभाविक हो ।’ सेनाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रियस्तरमा भएका गतिविधिलाई छलफल गर्ने, बुझ्ने र रणनीति बनाउने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
जिम्मेवारी पाएकामध्ये ३२ वटा सडक आयोजना सम्पन्न
नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । पत्रकार सम्मेलनमा एक हजार चार सय किलोमिटरभन्दा बढी सडकको पाइलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ । यस्तै, हाल चारवटा सडक आयोजनाहरू (खाँदबारी–किमाथांका सडक, बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत दुई सय किलोमिटरभन्दा बढी सडक निर्माण भइरहेको जानकारी गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएकै मितिमा निर्माणकार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसअनुसार काठमाडौं-तराई-मधेस द्र्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाएको छ । उक्त आयोजना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी सेनाले २०७४ साल वैशाख २१ गते पाएको थियो । कुल ७०.९७७ किलोमिटर लम्बाइ रहेको सो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाको भनाइ छ ।
त्यसैगरी, आयोजनाअन्तर्गत रहेका जम्मा सातवटा सुरुङहरूमध्ये दुईवटा सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको र दुईवटा सुरुङहरू निर्माणाधीन रहेको सेनाको भनाइ छ । यस्तै, अन्य तीनवटा सुरुङहरूको डिजाइन तथा पूर्व-तयारीका कार्यहरू भइरहेको छ । विविध कारणले गर्दा सडक आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए तापनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोशिस भइरहेको सेनाको भनाइ छ ।
शान्ति सैनिक पठाउनेमा नेपाल अग्रणी
नेपाल विश्वमा शान्ति स्थापना कार्यका लागि शान्ति सैनिक पठाउने सूचीमा अग्रणी स्थानमा रहेको छ । महिला र पुरुष दुवै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी स्थानमा रहेको आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सेनाका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल पाँच हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । यस्तै, संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा एक लाख ५४ हजार ३४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ । यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतित गरिरहेको सेनाले जनाएको छ ।
सैनिक कल्याणकारी कोषमा ८७ अर्ब बचत
सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ । सेनाले आइतबार पत्रकार सम्मेलन गरेर कोषमा भएको रकमबारे जानकारी गराएको हो । २०३२ सालमा एक करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब एक करोड रुपैयाँ पुगेको सेनाको भनाइ छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरूमा लगानी सात अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ छ । यद्यपि, निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाको भनाइ छ । कोषको लगानीको रूपमा रहेको सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै एक अर्ब ६० करोड ६० लाख लगानी भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच