
काठमाडौं । पछिल्लो समय बाक्लै चलचित्र घोषणा र निर्माण भइरहेका छन् । केही चलचित्रले राम्रो व्यावसायिक सफलता पाएसँगै चलचित्र निर्माणको बाढी नै आएको छ यतिबेला । यस्तैमा बुधबार महाशिवरात्रिको अवसर पारेर आधा दर्जन जति चलचित्र निर्माण घोषणा, शुभमूहर्त र छायांकनमा निस्केका छन् । रिमेश अधिकारीको निर्देशन रहने चलचित्र ‘योगमाया’को पशुपतिमा घोषणा गरिएको छ भने सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘माग्ने राजा’को छायांकन आरम्भ गरिएको छ । त्यस्तै काठमाडौं मातातीर्थमा मुहूर्त गर्दै ‘कुस्ती’को छायांकन सुरु गरिएको छ भने ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन प्रारम्भ भएको छ । यस्तै, निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ भने जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति तथा कलाकार गीता नेपालको निर्देशनमा बन्न लागेको टेलिचलचित्र ‘मेरी आमा’को शुभमुहूर्त गरिएको छ । एकपछि अर्को गर्दै धमाधम फिल्म निर्माण घोषणा र मुहूतलाई पछिल्लो समय बढेको चलचित्रकोे व्यवसायसँग जोड्न सकिन्छ । चलचित्रको व्यवसाय बढेसँगै निर्माण घोषणा बढ्नु स्वभाविक भएको चलचित्रकर्मी बताउँछन् ।
पछिल्लो समय बाक्लै चलचित्र घोषणा र निर्माण भइरहेका छन् । केही चलचित्रले राम्रो व्यावसायिक सफलता पाएसँगै चलचित्र निर्माणको बाढी नै आएको छ यति बेला । यस्तैमा बुधबार महाशिवरात्रिको अवसर पारेर आधा दर्जन जति चलचित्र निर्माण घोषणा, शुभमूहर्त र छायांकनमा निस्केका छन् । रिमेश अधिकारीको निर्देशन रहने चलचित्र ‘योगमाया’को पशुपतिमा घोषणा गरिएको छ भने सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘माग्ने राजा’को छायांकन आरम्भ गरिएको छ । त्यस्तै काठमाडौं मातातीर्थमा मुहूर्तगर्दै ‘कुस्ती’को छायांकन सुरु गरिएको छ भने ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन प्रारम्भ भएको छ । यस्तै, निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ ।
पशुपतिमा पूजा गर्दै ‘योगमाया’को औपचारिक निर्माण घोषणा
महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘योगमाया’को औपचारिक निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै यो चलचित्रको घोषणा गरिएको हो । भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भूपाल बस्नेत, गुरु दामोदर भण्डारी, चलचित्रका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भूपाल कठेत, टीकाराम भण्डारी, विनोद भट्टराई, मधुसूदन भटराई, जगन्नाथ अधिकारी, जीवनाथ सुवेदी, नीलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल होड ब कठेत, विद्याराज न्यौपाने लगायतले स्क्रिप्ट तथा पोष्टर पूजा गर्नुभएको थियो भने काठमाडौंको पशुपतिमा चलचित्रका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्र्रौलालगायतले मन्दिरमा स्क्रिप्ट तथा पोष्टर पूजा गर्दै चलचित्र घोषणा गर्नुभएको हो ।
‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उहाँ जुद्ध शमशेर राणाको समय समाजका विभेद, कूरुती, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्म राज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने साहसी महिला हुनुहुन्छ । ध्यान र योगमार्फत उहाँका हजारौं अनुयायी थिए ।
जुद्ध शमशेर राणासँग आँखामा आँखा जुधाएर पटक-पटक आन्दोलन गरेर आफ्नो माग राख्नुभएकी उहाँलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको विरुद्धमा उहाँले ६७ जना अनुयायीसहित अरुण नदीमा जल समाधि लिनुभएको थियो । उहाँले छेडेको आन्दोलन उत्सर्गमा पुगेर नौ वर्षपछि राणा शासनको अन्त्य भएको थियो ।
योगमायाको संघर्ष र बलिदानको कथा चलचित्रले भन्ने निर्माता/निर्देशक रिमेश अधिकारीले बताउनुभयो । चलचित्रका लागि विगत एक वर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार व्याक्तिहरूसँगको छलफलमा चलचित्रको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गर्नुभएको हो । चलचित्रका लागि डा.आसबाहदुर तामाङ र पूर्वमन्त्री शंकर कोइरालाको शब्दमा दुई गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले संगीत दिनुभएको छ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वरकुमार श्रेष्ठ, माधव थापालगायतको समूहले निर्माण गर्न लागेको हो । चलचित्रको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहनुभएको छ भने लाइन प्रोड्युसर पुष्कर लामा हुनुहुन्छ ।
चलचित्रको पशुपतिमा स्क्रिप्ट पूजासमेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रीय अध्यक्ष बलाराम न्यौपाने लगायतको उपस्थिति थियो ।
यो चलचित्रमा बेनिशा हमाल, लय संग्र्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डिसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठलगायत फाइनल हुनुुभएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । चलचित्रमा अझै लिजेन्ट र थियटर कलाकार छनौटको क्रममा रहेको निर्देशक अधिकारीले बताउनुभयो । चलचित्रको छायांकन नयाँ वर्ष-२०८२ मा सुरु हुनेछ ।
सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘माग्ने राजा’को छायांकन सुरु
सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘माग्ने राजा’को छायांकन आरम्भ गरिएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले काभ्रेको बल्थलीबाट सुरु भएको चलचित्रका लेखक सामिप्यराज तिमिल्सेनाले जानकारी दिनुभयो । एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्र निर्माता मुनाल घिमिरे हुनुहुन्छ । नरेन्द्र्र मैनालीको छायांकन रहने यो चलचित्रको रिलिज मिति आगामी हरितालिका तीजलाई तय गरिएको छ ।
यो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई र शिशिर वाङ्देलको अभिनय रहनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उहाँहरू पछिल्लोपटक ‘राम कहानी’ मा एकसाथ देखिनुभएको थियो । चलचित्र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
मुहूतसँगै छायांकनमा ‘कुस्ती’
चलचित्र ‘कुस्ती’को छायांकन आरम्भ गरिएको छ । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको यो चलचित्रको काठमाडौं मातातीर्थमा मुहूर्तगर्दै छायांकन आरम्भ गरिएको हो । धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन गरिएको सुरु गरिएको थियो । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्दैहुनुहुन्छ । ‘शहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायांकन गर्ने छौं । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको चलचित्रमा उनीहरू एक अर्कालाई धेरै माया गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, चलचित्रका लेखकसमेत रहनुभएका निर्देशक योञ्जनले भन्नुभयो ।
उहाँले काठमाडौं आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायांकन सुरू गरेको उहाँले जानकारी दिनुभयो । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, उत्तम केसी, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय रहेनछ ।
आफ्नो पहिलो चलचित्र निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलाकारिता बटुलेको अनुभवलाई चलचित्र निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पूरा भएर पर्दामा आउँदै छ ।’
चलचित्रमा उमङग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको चलचित्रमा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गर्नुभएको छ ।
काठमाडौं रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
फ्लोरमा ‘कोशेढुंगा’
महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’ को शुभमुहूर्त गरिएको छ । चलचित्रका काष्ट एण्ड क्रूको उपस्थितिमा ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा यसको मुहूर्त गरिएको हो । बुधबारदेखि नै छायांकन प्रारम्भ भएको यो चलचित्रको युनिट एक सातापछि थप छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गर्नेछ । यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल आदि कलाकारले अभिनय गर्दैहुनुहुन्छ ।
नारी प्रधान भनिएको यो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा हुनुहुन्छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रूपमा रहनुभएको छ भने दिनेश खड्का कार्यकारी निर्माता हुनुहुन्छ ।
बाबु श्रेष्ठको डीओपी रहने यो चलचित्रमा रिदम कँडेल र आषिश अविरलको संगीत निर्देशन रहने छ । सुवलमणि सापकोटा यो चलचित्रका काष्टिङ डाइरेक्टर हुनुहुन्छ । २०८२ मा प्रदर्शन हुने यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैहुनुहुन्छ ।
‘हर्ष’को शुभमूहूर्त
निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने र वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उहाँहरूका अलावा सिनेमामा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितसमेतको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी हुनुहुन्छ भने उहाँले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गर्नुभएको छ । आमसञ्चारमा स्नातक गर्नुभएकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तरसमेत गर्नुभएको छ । यसका अलावा उहाँले केही छोटा चलचित्रहरू निर्माण गर्नुभएको छ ।
यही फागुन १७ गतेदेखि फ्लोरमा जाने सिनेमाले पारिवारिक सामाजिक कथा पस्किनेछ । चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेख्नुभएको हो । चलचित्रलाई आलोक शुक्लाले छायांकन गर्नुहुनेछ भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । यस्तै सम्पादकमा लोकेश बज्राचार्य हुनुहुन्छ भने सुनिल क्षेत्रीले कोरियोग्राफी गर्नुहुनेछ ।
कुलदीप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको यो चलचित्र ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) चलचित्रका निर्माता हुनुहुन्छ भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहनुभएको छ ।
गीताको ‘मेरी आमा’
जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति तथा कलाकार गीता नेपालको निर्देशनमा बन्न लागेको टेलिचलचित्र ‘मेरी आमा’को शुभमुहूर्त गरिएको छ । शिवरात्रिको अवसर पारेर कपनमा रहेको शिद्धेश्वर शिव मन्दीरमा उक्त टेलिचलचित्र सुभमुहूर्त सम्पन्न भएको हो । टेलीचलचित्रको मुहूर्त कार्यक्रममा वरिष्ठ कलाकार रमेश बुढाथोकीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै कलाकार बुढाथोकीले निरन्तर रूपमा शन्देशमूलक टेलिचलचित्र निर्माण गरेर समाजलाई सुसुचित पार्दै गएकोमा निर्माण टिमलाई आशिर्वाद तथा सफलताको शुभकामना दिनुभएको थियो ।
गीता नेपाल र बालकलाकार देवांशी केशीको मुख्य अभिनय रहने यो टेलिचलचित्रमा नवीन श्रेष्ठ, सरोज दाहाल, कृष्ण काफ्ले, माधवा खनाल, संगम राई, रेश्मा केशी, श्रेया दुलाल, प्रशिद्ध नेपाल, विजय खड्कालगायत कलाकारको अभिनय रहने जनाइएको छ । यसमा गायक कृष्ण काफ्लेको विशेष भूमिका रहने निर्माण टिमले जनाएको छ । गीताकै लेखन रहेको यो टेलिचलचित्रमा राहुल राईको छायांकन र राजेन्द्र मानन्धरको सम्पादन रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच