
नमागिएको सल्लाह :
म्याच फिक्सिङ खेलकुद क्षेत्रमा सुनिएको र जानिएको कुरा हो । अब विश्व राजनीतिमा पनि यसको प्रयोग भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि चलिआएको विश्व व्यवस्थामा कल्पनातीत घटनाहरू देखिन थालेका छन् । चुनावी अभियानको समयमा नै आफू राष्ट्रपति भएको २४ घण्टामा रुस-युक्रेन युद्ध अन्त्य गर्ने नारा लिएर मतदातामाझ गएका ट्रम्प कार्यकालको एकमहिना नाघेपछि युद्ध अन्त्य गर्ने काममा संवाद अगाडि बढाइरहेका छन् । तर, ताजुब लाग्ने विषय छ- त्यस वार्तामा युद्धको एक पक्ष युक्रेन र नेटो सहयोगी युरोपेली संघका देशहरूलाई सहभागी गराइएको छैन । कुनै पनि हालतमा युक्रेन र युरोपेली देशहरूलाई वार्तामा सहभागी नगराउने पक्षमा ट्रम्प दृढ देखिएका छन् ।
ट्रम्पको अडानमा परिवर्तन गर्ने प्रयासमा ट्रम्पसँग भेटघाट गरेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको प्रयास पूर्ण सफल हुन सकेन । दुवै राष्ट्रपतिले आ-आफ्नै अडानका वक्तव्य जारी गरेर आफ्नो बाटो लागिसकेका छन् । युरोपको अर्को प्रमुख शक्ति जर्मनीमा हालै भएको निर्वाचनमा ट्रम्पको टिमले पराजित गर्ने भद्दा प्रयास गरेका कन्जरभेटिभ क्रिष्टियन डेमोक्रेटिक पार्टी (सिडियु)ले ६३० सिटको जर्मन संसदमा २०८ सिट जितेको छ । सरकार बनाउन चाहिने ३१६ सिटका लागि थप १०८ सिटको आवश्यकता पर्दछ । यसका लागि पूर्वचान्सलरको १२० सिट भएको पार्टी उपयुक्त विकल्प हुनसक्छ ।
आफूसँग युद्ध रोक्ने तागत रहेको र शान्ति वार्तामा युक्रेनको कुनै स्थान नरहेको, जेलेन्स्की तानाशाह भएको र उनकै कारण युद्ध सुरु भएको, वाइडेन प्रशासनले दिएको सहयोगबापत युक्रेनले आधा खनिज दिनुपर्ने लगायत सुन्दै अस्वाभाविक लाग्ने ट्रम्पका कथन बीसौं शताब्दीका ग्रामीण सामन्तका भन्दा तुच्छ छन् ।
१५२ सिट जितेर दोस्रो स्थान हासिल गरेको ट्रम्प समर्थित पार्टीसँग सहकार्य नगर्ने विषयलाई ट्रम्पका सहयोगी मस्क लगायतको भद्दा हस्तक्षेपको कारण दुःखी बनेका सम्भावित चान्सलर फ्रेडरिक मर्जले बताइसकेका छन् । जर्मनीको हालैको चुनावमा चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनीको उदयलाई पनि विश्व राजनीतिमा चलेको पपुलिजम र उग्रराष्ट्रवादको हावासँग गाँसेर हेरिएको छ । हालैको जर्मनीको चुनावी नतिजाले युरोपमा हावी बन्ने र युरोप टुक्र्याउने ट्रम्पको चाहनामा केही हदसम्म आघात पुगेको छ ।
जर्मनीमा हालै भएको चुनावमा अमेरिकी चासो र हस्तक्षेपलाई दृष्टिगत गर्दा युरोपियन युनियनमा आबद्ध देशहरूलाई पनि विभाजित गराएर चलिआएको विश्व प्रणालीमा जानेर वा नजानेर रुस र चीनलाई फाइदा पुर्याउने दिशामा ट्रम्प देखिएका छन् । एक महिनाको उनको कार्यशैली आफ्ना नजिकका छिमेकी र युरोपेली मित्रहरूप्रति आक्रामक र रुस र चीनप्रति सद्भावपूर्ण देखिएको छ । युक्रेनी राष्ट्रपति जेलेनस्कीलाई ट्रम्पले तानाशाह भएको र उनकै कारणले युद्ध भएको बताएका छन् । युद्धको कारण ट्रम्पले भने जस्तै हो त ?
युक्रेन रुस युद्धको कारण
डिसेम्बर २६, १९९१ मा तत्कालीन सोभियत युनियनको विघटनपछि युक्रेनलगायत देशहरू सोभियत गणराज्यबाट स्वतन्त्र भएर सार्वभौम देश बनेका थिए । एउटा सबल र ठूलो भूगोल भएको देश छिन्नभिन्न भएकोमा धेरै राष्ट्रवादी रसियनहरूलाई चित्त बुझेको थिएन । त्यसमध्येका एक थिए-गुप्तचर विभागमा उच्च पदाधिकारीका रूपमा कार्यरत भ्लादिमिर पुटिन । माल्दोभा र जर्जिया सोभियतसंघमा गाभिइसकेका छन् भने पुटिनको नेतृत्वमा सन् २०१४ देखि युक्रेनका क्रिमिया, लुहान्स्क, दोनेस्क र जापोर्जियाको केही भागलाई अनेक बाहानाबाजी गरेर त्यहाँका रसियन मातृभाषा भएकालाई उचालेर रुसमा गाभिइसकिएको छ ।
युक्रेनलाई पनि रुसमा समाहित गर्ने मनसुवा पालेका पुटिनलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नेटो संगठनको सदस्यता लिने विषय असैहृय भइरहेको थियो । यसै विषयलाई निहुँ बनाएर सैन्य कारबाही नगर्ने भन्दाभन्दै फेब्रुवरी २४, २०२२ का दिन पुटिनले युक्रेनमाथि सैन्य आक्रमण प्रारम्भ गरे । तुरुन्त युक्रेन कब्जा गर्ने मनशायले गरेको आक्रमण पुटिनलाई महँगो परेको विषय केही दिनअगाडि युद्धको वर्षगाँठका दिन युक्रेनमाथि भीषण आक्रमण गरेकोबाट पनि पुष्टि हुन्छ ।
युक्रेनले नेटो सदस्यता लिन हतार नगरेको र अमेरिकाको वाइडेन प्रशासनले जेलेन्स्कीलाई धेरै साथ नदिएको भए युद्ध टर्ने सम्भावना थियो । यसमा रुसको मात्र दोष छैन युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी प्रशासन पनि जिम्मेवार छ भनेर तर्क गर्नेहरूको पनि कमी छैन । यस्तो तर्कमा सत्यता नभएको होइन । पुटिनको महत्वाकांक्षालाई सजिलो बनाइदिने काम नेटो सदस्यता लिने र दिने विषयले गरेको छ । युक्रेनले नेटोको सदस्यता लिने विषय त्यागेको भए युद्ध टर्ने सम्भावना थियो ।
युद्ध अभिशाप हो
कुनै पनि किसिमका युद्धबाट जोगिनु र जोगाउनु महानता हो । परम्परागत रूपमा भन्ने गरिएका धर्म युद्ध पनि विनाशलीला नै हुन् । यद्यपि असल मानक स्थापना गर्न यदाकदा युद्ध अपरिहार्य भइदिन्छ । रुस-युक्रेन युद्धले पनि विनाश ग¥यो । प्राकृतिक स्रोतको भण्डार र कृषिमा पनि उच्च निर्यात गर्ने हैसियत भएको युक्रेन युद्धले तहसनहस भएको छ । रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गइसकेको छ, ६८ लाखभन्दा बढी देश छोड्न बाध्य भइसकेका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन् । १ लाख ४६ हजार मानिसलाई मानवीय सहायता आवश्यक भएको छ ।
रुसी सेनातर्फ पनि ठूलो क्षति भएको छ । ९५ हजार सैनिकको मृत्यु भइसकेको छ । उत्तर कोरियाली सेनादेखि विभिन्न देशका नागरिक र भाडाका सैनिक प्रयोग गरेर पनि रुसलाई किभसँग लडाइँ गर्न महँगो पर्दैगएको छ । निहत्था गरिब जनता मार्न काबिल ठहरिएको उत्तर कोरियाली सेनाको युद्धमा देखिएको कार्य सम्पादनले नेता किमलाई झस्काएको हुनुपर्छ । अनावश्यक युद्धमा होमेको भनेर रुसभित्र पनि असन्तोष बढ्दोछ । पुटिनको त्रासले मात्र काबुबाहिर नपुगेको परिस्थिति छ । डोनवास क्षेत्रमा मारिएका करिब २५ हजार लडाकुमाथिको तथ्यांकमा सामेल नभएको विश्लेषण बिबिसीको रहेको छ । रुसले युद्धको क्रममा एक लाख पचास हजारदेखि दुई लाख सेना गुमाइसकेको भन्ने अर्को स्रोतको तथ्यांक रहेको छ ।
यस्तै युक्रेनले पनि ४२ हजारमात्र नभएर सत्तरी हजारभन्दा बढी गुमाएको अनुमान गरिँदैछ । युद्धको वर्षगाँठको पूर्वसन्ध्या गएको फेब्रुवरी २२ का दिन युक्रेनको १३ क्षेत्रमा २६७ ड्रोनबाट रुसले हालसम्मकै शक्तिशाली आक्रमण गरेको छ । किभले पुनः मानवीय, भौतिक क्षति व्यहार्नुपरेको छ जसको क्षति भए पनि विश्व सम्पदा र मानव जीवनको क्षति हो । युद्ध सर्वथा अग्राहृय विषय हो । युद्ध अभिशाप हो । हरेक किसिमका युद्धको अन्त्य गरिनुपर्दछ ।
ट्रम्पको म्याच फिक्सिङ
आफूसँग युद्ध रोक्ने तागत रहेको, शान्ति वार्तामा युक्रेनको कुनै स्थान नरहेको, जेलेन्स्की तानाशाह भएको, उनकै कारण युद्ध सुरु भएको, वाइडेन प्रशासनले दिएको सहयोगबापत युक्रेनले आधा खनिज दिनुपर्ने लगायतका सुन्दै अस्वाभाविक लाग्ने ट्रम्पका कथन बीसौं शताब्दीका ग्रामीण सामन्तका भन्दा तुच्छ छन् । पत्रकारद्वारा पुटिन तानाशाह हुन् कि होइनन् भन्ने प्रश्नमा मौन बसेका ट्रम्पले सन् २०१९ को निष्पक्ष निर्वाचनमा जित हासिल गरेर सन् २०२४ को चुनाव युद्धको कारण गराउन नसकेका जेलेन्स्कीलाई तानाशाह भन्नु अनौठो छ । संसारलाई जगजाहेर भएको विषय पुटिनले सैन्य आक्रमण गरेको विषयलाई पनि अन्तर्राष्ट्रिय सम्मेलनमा नभनेर जेलेन्स्कीमाथि दोष थोपर्नुलाई ट्रम्पको पूर्वाग्रहबाहेक केही मान्न सकिँदैन ।
अमेरिका जस्तो चिरप्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले नै पुटिनको एकपक्षीय पक्षपोषण गरेर पुटिनको मात्र जित हुनेगरी म्याच फिक्सिङ गरिदिएका छन् । रुस युक्रेन युद्धको मामिलामा ट्रम्पले आफ्नै पोष्टमा गोल हानेर विपक्षीलाई प्रसन्न बनाएका छन् र परम्परागत मित्रशक्तिसहितको आफ्नो कप्तानीको टिमलाई आत्मघाती गोल खुवाएर हतप्रभ बनाएका छन् ।
चीन, रुस, इरान र उत्तर कोरिया जस्ता कुनै पारदर्शिता नभएका र पश्चिमी शक्तिलाई दुश्मन देख्ने देशहरूसँग मित्रता बढाएर परम्परागत र प्रजातान्त्रिक नाटो सहकर्मीसँग दुश्मनको व्यवहार गर्नु ट्रम्पका लागि प्रत्युत्पादक हुने पक्का छ । युक्रेन नेटोको सदस्य बन्नुनहुने र युक्रेनले गुमेका सबै भाग फिर्ता नपाउने जस्ता पुटिनका मागलाई मात्र सम्बोधन गर्ने प्रस्ताव अमेरिकी ट्रम्प प्रशासनबाट आउँदा पुटिन दंग नबन्ने कुरै भएन । युक्रेनलाई र युरोपियन संघलाई वार्तामा नराखी साउदीमा वार्ता गरेर पुटिनको अर्को मागको पनि सम्बोधन भएको छ । यो समाधान पुराना सामन्तले बेसहारा गरिबको सर्वस्वको रूपमा रहेको बारीको सुर्को कब्जा गरेर, तेरो जग्गा कब्जा गरेँ मेरो कारणले बाँच्न पाएको छस्, न्याय यही हो भनेको जस्तो देखिँदैछ ।
यस्तो समाधान निकाल्न कुनै दक्षता र सीप होइन, दादागिरी र राक्षसी मन चाहिन्छ, जुन् ट्रम्प प्रशासनले देखाएको छ । वाइडेन प्रशासनले युक्रेनलाई गरेको सहयोगको बदलामा युक्रेनमा रहेको आधा खनिज दिनुपर्ने प्रस्ताव पनि अमानवीय त हुँदै हो । बनियागिरीको निकृष्ट नमुना पनि हो । यद्यपि, धर्मसंकटमा परेका युक्रेनी अधिकारी खनिज सम्झौता गर्न राजी भएको र चाँडै जेलेन्स्की वासिंगटन आउने विषय सार्वजनिक भएको छ । सबैलाई थाहा भएको विषय हो कि-ट्रम्प व्यापारी हुन् । जसले सबै कुरा त्यागेर नाराको मात्र हिसाबकिताब राख्दछ । ट्रम्प राजनीतिलाई पनि सधैं आर्थिक लाभका लागि प्रयोग गर्छन् ।
पहिले पनि लेनदानका कामहरू नभएका होइनन् तर त्यस्ता काम पर्दापछाडि हुन्थे तर कसैको सार्वभौमिकतामा दखल पु¥याएको अवस्थामा संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वका सबैजसो देशहरू अतिक्रमणकारीको विपक्षमा उभिने परम्परा थियो । संसारमा नैतिकता मानवता र सद्भाव पनि छ भन्ने भावना सञ्चार हुनेगथ्र्यो । तर, संयुक्त राष्ट्रसंघमा युक्रेनमाथि रुसले आक्रमण गरेको भन्ने विषयमा भएको मतदानमा अमेरिका, चीन, रुस, उत्तर कोरिया, इरानको पक्षमा उभिएर अल्पमतमा परेको छ भने नेपाल जस्ता साना देशले रुसको अतिक्रमणको विरोधमा मतदान गरेर सही निर्णय गरेका छन् ।
यसैगरी ठूला देशले साना देशको सार्वभौमितामा धावा बोल्दै जाने र ट्रम्प जस्ता निर्मम व्यापारीको जगजगी विश्वमा बढ्दैजाने हो भने विश्वमा कुनै पनि सानो देशको अस्तित्व नरहन सक्छ । मत्स्यन्याय नै न्याय हो भन्ने मान्यता स्थापित हुँदै जाने सम्भावना रहन्छ । ट्रम्प आत्म प्रशंसाका भोका हुन् । उनमा अहंकार ज्यादा छ । सनकमा जे पनि बोलिदिन्छन् भन्ने कुरा सबै सहकर्मीले बुझेका छन् । पुटिन, जेलेन्स्की, सी जिन पिंग उनको स्वभाव अनुकूलको अभिनय गरेर आफ्नो स्वार्थ पूर्तिमा लागेका छन् । अहिलेसम्म सबैभन्दा लाभान्वित बनेका छन्- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।
अमेरिका जस्तो चिरप्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिले नै पुटिनको एकपक्षीय पक्षपोषण गरेर पुटिनको मात्र जित हुनेगरी म्याच फिक्सिङ गरिदिएका छन् । रुस युक्रेन युद्धको मामिलामा ट्रम्पले आफ्नै पोष्टमा गोल हानेर विपक्षीलाई प्रसन्न बनाएका छन् र परम्परागत मित्रशक्तिसहितको आफ्नो कप्तानीको टिमलाई आत्मघाती गोल खुवाएर हतप्रभ बनाएका छन् । बाँच्नुपर्छ असम्भव केही छैन भन्थे बुढापाकाहरू ।
हेर्दै जाऊँ चार वर्षपछिको विश्व व्यवस्थामा अमेरिका, ट्रम्पको बनियागिरीबाट विश्व रंगमञ्चबाट बहिर्गमित बनेर सशक्त युरोपियन शक्तिको उदय होला, चीनसहितको युरोपियन शक्तिको निर्माण होला वा केही समयपछि ट्रम्प र युरोपबीचको सम्बन्धमा सुधार आएर अहिलेकै अमेरिकी नेतृत्वको विश्व व्यवस्थाले निरन्तरता पाउला । युक्रेनको सवालमा पुटिनका सबै मागको सम्बोधन गरेर गरिएको म्याच फिक्सङ सर्वथा अनैतिक र अमान्य हुने भएकाले सबै पक्षलाई मान्य हुने न्यायपूर्ण समाधानका लागि जर्मनी र फ्रान्सजस्ता देशका नेताले गरेको पहल सफल भएमा विश्वमा ट्रम्पवादको पतन भई सभ्यता, न्याय र मानवीय भावनाको सञ्चार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच