
बालसुलभ चञ्चलता अपूर्व मनमोहक जति हुन्छ कुनै सन्दर्भमा क्षति प्रदायक हुने गरेका अनेक घटना छन् । त्यस्ता चञ्चलतापूर्ण घटनाहरू कतिपय अब विस्मृतिको गर्भमा पुगे । ठूला र ऐतिहासिक मानिसहरूका यस्ता उट्पट्याङ सायद बाललीला भनिन्थे होलान् । हामी धुलोमा जन्मी, धुलैधुलोमा चिप्लेटी, झ्यारमाने, गुन्टी, गट्टा, ग्याम खेलेर हुर्कनेहरूका बालसुलभ चपलताको कुनै अर्थ हुँदैन होला । तैपनि छ दशक पार भएको अवस्थामा आज आफ्नै स्मृति परीक्षणका लागि मननयोग्य हुनसक्छ । यस्ता कतिपय स्मृतिमा रहेका घटनालाई लिपिबद्ध गर्ने प्रयास गरेको छु ।
(१) फुपूको शुद्धशान्तिमा कुस्ती :
हाम्रो बिगुटार भँगेरी टोलमा तीन घर पौडेल, चार घर दाहाल, दुई घर खतिवडा र ६ घर शेर्पाको बसोवास थियो । सिरानमा बुकेली लक्ष्मणप्रसाद दाहाल, बीचमा, प्रभुनाथ पौडेल, विष्णुप्रसाद पौडेल, मनोरथ पौडेलका घरमुनि हाम्रोमुनि नीलकण्ठ दाजुको, अनि तीनजना शेर्पाहरू फुन्द्रे, पसाङ, कर्माको घर थियो । अर्कापट्टि तल तेम्बा, अन्तरे र काइलो शेर्पाहरू थिए र पुछारमा नीमहरि (पोकले माइला) दाइको घर थियो । पुराना नामहरू बिर्सिएछन् । बोलाउने नाम मात्रै स्मृतिमा छ । असाध्य मिलेर बसेका थियौं । एउटा टोलका तेह्र घर यसरी मिलेको त्यो पनि शेर्पाहरूसँग समेत कतिपयलाई अनौठो लाग्थ्यो ।
हाम्रो यो प्रिय गाउँ बिगुटारमा बस्दाका निकै स्मरणीय दिनहरू छन् । यद्यपि मैले एघार बाह्र वर्षमै यस गाउँबाट आफूलाई राजधानीको महासागरमा हेल्न आइपुगेको हूँ । यसै कारण बालस्मृतिहरू क्रमशः धुमिल हुँदै, बिलाउँदै जानलागेका छन् । तैपनि केही स्मृतिहरू टड्कारा छन् ।
बुकेखोलापारिको बुके टोलमा भने सबै ब्राहृमणहरू बस्थे । सिरानमा चार घर दाहाल थरका बुकेली कालीप्रसाद, चूडामणि, विष्णुप्रसाद, रत्नलाल (शान्तिरामका पिताजी) एक घर रामपुरे खिलानाथ, एकजना भँगेरी आमा, एक घर बुइगले रत्नलाल, नन्दलाल बडाबा र दुई घर सापकोटा (कुलप्रसाद सापकोटा र जेठी सापकोटिनीको) थिए । शेर्पाहरूको घर बाहुनहरूका बीचमा नै थिए । कुनै शेर्पा परिवारका सदस्यको मृत्यु भएमा लामालाई बोलाएर साइत हेराउने, लास जलाउने दिनसम्म लामा पाठ गराउने, बाजा बजाउने र ढ्यांग्रो ठोक्ने अनेक कर्महरू हुने गर्छन् ।
त्यस समयमा हामी डरले ती मृतकका घरको बाटो पनि हिँड्दैनथ्यौँ । संयोगबस हाम्रो घरभन्दा चार घरमाथि भँगेरी टोलकै सिरानमा शेर्पाहरूको चिहान थियो । मलामी जानेहरू जाँड रक्सीले खुब मातेका हुन्थे । टोलको सिरानमा शव जलेर खरानी नभएसम्म र चिहान बनाएर नपुरेसम्म टोलमा भय व्यापक हुन्थ्यो । तैपनि टोलका शेर्पाहरू सज्जन थिए । कुनै समय त सल्लीबाट पनि लास ल्याएर हाम्रै घरको सिरान अर्थात् संसारीस्थान छेउमा राख्ने गरिन्थ्यो । सुर्केतिरका लासहरू भने रमिते डाँडोमा जलाउने वा गाड्ने चलन थियो । अब त त्यो प्रचलन हराए जस्तो लाग्छ । भँगेरी सिरानमा त लास राख्न रोकिएको सुनेको छु । रमितेमा अझै छ कि ? थाहा भएन ।
यसबाहेक बिगुटार अत्यन्त सुन्दर गाउँबस्ती मानिन्थ्यो । माथिपट्टि असाध्य आकर्षक तारेभीर पहरो, रानीवन, भव्य जंगल, ससाना खोला, झर्नाहरू असाध्य सुन्दर दृश्य छ यो गाउँको । चारैतिर डाँडाले घेरिए पनि जाँतेको भञ्ज्याङबाट सानो आँखाले लामिडाँडा, भँगेरी, बुके सिरानबाट कोष डाँडो, कटुञ्जे सिरान, च्यानम, बुङनाम, चित्रे र घुन्सामा पुगेपछि रुम्जाटार, गैरीडाँडा, ओखलढुंगा बजार अनेक दृश्यहरू स्पष्ट हुन्थे । मोलुङ खोलो निकै पर छ तर पोक्तिङ खोलो विनाशकारी हुनेगर्छ । जरंगेको पहिरो, धनेपुको पहिरो र यस खोला वरिपरि सदा पहिरोको पीडाले जति चिन्ता भए पनि लमतन्न टारमा केही फरक थिएन ।
तोजिङ र लिन्चर खोला वर्षामासमा तर्न कठिन हुन्थ्यो । पोंक्तिङले त हरेक साल जस्तो मानिसको बलि लिन्थ्यो । रामपुरे कान्छा काका रोहितको दैहिक अन्त्य यसै खोलामा भएको मेरो स्मृतिमा छ । लमतन्न पाँचोटा टार छन् : सर्सेपुटार राई र शेर्पा, फन्दपुटार शेर्पा, सुर्के शेर्पा र राई, बिगुटार ब्राहृमण, भुजेल, शेर्पा (अब त अरू थरी पनि बसाइँ सरेर आएका छन्), टक्सार शेर्पा, क्षत्री, विश्वकर्मा, भुजेल र नेवारका केही घर छन् । टक्सारको ऐतिहासिक महत्व रहेको छ । पहिले टक काट्ने ठाउँ थियो यो ।
हाम्रो यो प्रिय गाउँमा बस्दाका निकै स्मरणीय दिनहरू छन् । यद्यपि मैले एघार-बाह्र वर्षमै यस गाउँबाट आफूलाई राजधानीको महासागरमा हेल्न आइपुगेको हूँ । यसै कारण बालस्मृतिहरू क्रमशः धुमिल हुँदै, बिलाउँदै जानलागेका छन् । तैपनि केही स्मृति छन् । मेरो स्मृतिमा नारद र मेरा बीचको पहिलो कुस्ती रहेको छ । मभन्दा केही वर्ष जेठा नारद र कलानिधि असाध्य मिल्नेमध्ये थियौँ । टोल पनि सँगै । नारद कान्छा पौडेल मनोरथको छोरा । उनीहरूकै घरमा आँखा नदेख्ने फुपू बस्नुहुन्थ्यो । उहाँको मृत्यु भयो । मैले पहिलोपटक कसैको शव देखेको त्यही नै थियो । हाम्रा घरअगाडिबाट शंख बजाउँदै मलामी हिँडे । आमाको गुन्यु समाउँदै, थुरथुर डरले काप्दै फुपूको लासलाई मान्द्रोमा राखेको र बाँसमा बेरेको हेरिरहेका थियौं ।
शायद काम भने माइला पौडेलले गर्नुभए जस्तो लाग्छ । अन्तिम शुद्धशान्तिको दिन गाउँभरिलाई निम्ता दिएर चामलको भात, दाल, तरकारी खुवाउने चलन थियो । घ्यू अनिवार्य हुन्थ्यो यस्तो भोजभतेरमा । खनिउको फेदमुनिको गरामा लहरै बसेका थियौँ हामी केटाकेटीहरू । कर्म नचलेका अनि अरू जातकालाई अलग्गै राख्ने चलन थियो । माथिल्लो गरामा भने कर्म चलेकाहरू थिए । पालैपालोसँग भात, दाल, तरकारी, अचार आयो र अन्तिममा घ्यू तर मेरो भागमा घ्यू आएन ।
पिताजीका बडाबाका नाति नीलकण्ठ हाम्रा सबैभन्दा नजिकको छिमेकी । हरेक वर्षजसो भाउजूले स्वस्थानी व्रत लिनुहुन्थ्यो र हामी बेलुका स्वस्थानी कथा भन्न मरिहत्ते गथ्र्यौं । सबैभन्दा चाँडो वाचनकला नीलकण्ठ दाजुकै थियो । त्यसपछि ढुण्डीराज दाजुको अनि मेरो मनिन्थ्यो । गिरिराज खतिवडाको पनि वाचन राम्रो थियो ।
मैले छेउमा नै बसेको नारदलाई भने : तेरी फुपूको शुद्ध्याइँमा मलाई घ्यू किन नदिएको ? उसले भन्यो तँलाई किन दिनु ? नदिने । यो विवाद यति गहिरो भयो कि हामी दुईजना कुस्ती खेल्न थाल्यौँ । अरू केटाकेटीहरू भात खान छाडेर रमिता हेर्न थाले । नारद बलियो थिए, मलाई पछारेर माटोमा धुल्याम्म पारे । अरू कोही ठूलाहरू आएर छुट्याए । म त रुदै भात खान छाडेर घरतिर लागेँ । यो मुद्दा केही दिनसम्म हाम्राबीच चले पनि फासफुस भयो । आज पनि एक चम्चा घ्यूको त्यो विवाद सम्झदा रमाइलो लाग्छ ।
(२) धोक्रेफूलको सेवन र मातेको क्षण :
बिगुटारमा हरिकीर्तन लगाउने केही थोरै घर थिए । काठमाडौंका कविप्रसाद गौतमले हरेराम हरेकृष्ण भन्ने भजन लेखिएको रामकृष्णको शीला पठाएका थिए । जसको घरमा त्यो शीला राख्ने हो त्यो घरले वर्षको एकपटक हरिकीर्तन लगाउने गर्थे । हाम्रा गाउँमा नीलकण्ठ दाजु, पण्डित फणीन्द्रमणि दाहाल, ठूलाघरे हरिप्रसादहरूका घरमा हरेक वर्ष हरिकीर्तनको आयोजन हुने गर्दथ्यो । जसको घरमा रामकृष्ण भजनशीला हुन्थ्यो त्यस घरमा अनिवार्य हुन्थ्यो हरिकीर्तन । त्यसपटक हरिकीर्तनको पालो थियो नीलकण्ठ दाजुको घरमा ।
पिताजीका बडाबाका नाति नीलकण्ठ हाम्रा सबैभन्दा नजिकको छिमेकी । हरेक वर्षजसो भाउजूले स्वस्थानी व्रत लिनुहुन्थ्यो र हामी बेलुका स्वस्थानी कथा भन्न मरिहत्ते गथ्र्यौं । सबैभन्दा चाँडो वाचनकला नीलकण्ठ दाजुकै थियो । त्यसपछि ढुण्डीराज दाजुको अनि मेरो मनिन्थ्यो । गिरिराज खतिवडाको पनि वाचन राम्रो थियो । कथा पढेपछि पोलेका सुठुनी, पोलेका आलु असाध्य मीठा लाग्थे । स्वस्थानीको कथा भन्न कहिले खतिवडा कान्छाका घरमा, कहिले लोकनाथ खतिवडा दाजुकोमा, कहिले बुकेली, रामपुरे, बुइँगले माइला काकाकोमा पुगिरहेका हुन्थ्यौँ । रहर पनि गज्जबको हुन्थ्यो तर यसपटक भने हरिकीर्तन थियो । चौबीस घण्टा नटुटाई भजन गर्नुपर्ने, राति जाग्राम बस्नुपर्ने र जाग्राम बस्नेहरूलाई चिया, खाजा दिने प्रचलन थियो ।
राति हरिकीर्तनका नाममा बखेडा पनि हुन्थ्यो । एकपटक मलाई सम्झना छ : हाम्रा घरमा कीर्तन थियो । राति धेरै गाउँले जम्मा भएका थिए । गाउँमा निकै चर्चित भुजेल दिदीबहिनी हर्की, दिर्पी भन्ने पनि आएका थिए । गाउँका धनीमानीका छोरा महाजन जेठाका जेठा छोरा पनि कीर्तनमा सहभागी थिए । उनका जुत्ता हराएछन् । उनले ती विपन्न भुजेलका छोरीहरूले नै लुकाए वा चोरे भन्ने आरोप लगाउँदै यसरी कुटे कि असाध्य नरमाइलो भयो ।
मेरा पिताजीले रोक्नुभयो र भन्नुभयो : तिम्रा जुत्ता यतै कतै परेका होलान् उज्यालोमा हेरौँला । न भए म तिरौँला । अनिस्थिति शान्त भयो । बिचरा ती दिदीहरूको आँसु आज पनि मेरा स्मरणमा छ । स्थानीय सार्कीले भैंसीको छाला सुकाएर बनाएका जुत्ता थिए । भोलि पल्ट कान्लामुनि भेटिए । सायद कुकुरले तानेर पुर्याएको हुनसक्छ । जुत्ता फेला परेपछि ती दाजुले भुजेल बहिनीहरूसँग माफी माग्नुभयो भन्ने सुनेका थियौं । हरिकीर्तनको प्रसंग आउँदा मैले यो घटना बिर्सन नसकेको मात्रै हूँ । नीलकण्ठ दाजुकोमा सुरु भएको कीर्तनमा नारद, कलानिधि र मैले केही उपद्रो गर्ने र राति जाग्राम बस्ने तय गर्यौँ ।
साना थियौं हामी सायद छ सात वर्षका । कतै हामीले सुनेका थियौं सेतो रंगको धोक्रे फूलका बियाँले मात लाग्छ भनेर । हाम्रा घरका बारीमा धोक्रे फूलको बिरुवा थियो । फूलमा कोसासमेत थिए । कोसाका बोक्रा निकालेपछि बियाँ भेटिए । बियालाई नुन र खोर्सानी मिलाएर पिस्ने काम भयो र अचार जस्तो हामी तीनै जनाले खायौं । केही क्षणमा नै हामीलाई रिँगटा चल्यो । टाउको घुम्यो । गाँजा खाएजस्तो वा पूरै माते जस्तो हाम्रो अवस्था भयो । हामीले हाहा गर्दै हरिकीर्तनमा पुगेर बबण्डर सुरु गरेछौं । साँझपख थियो त्यो ।
पहिले त ठट्टा जस्तो लागेछ भजनकीर्तन गर्नेहरूलाई तर हामी सही अर्थमा मातेका थियौं । के खाएर यस्तो भयो कसैलाई थाहा थिएन । आतंक नै भएछ । हामी भने उफ्रने, नाच्ने, हाँस्ने, लडिबुडी गरिरहेका रहेछौं । हामीलाई कसैले पनि समातेर अचेट्न नसकेपछि खुब पानी खन्याएछन् । तैपनि ठीक भएन । हाम्रा घरमा पु¥याएपछि पनि उपद्रो भइरहेछ । कलानिधि त भोलिपल्ट बाटामा एक्लै कुद्दै गोरु धपाए जस्तो गरी कराइरहेको थियो अरे । म त सुतेछु । दुई दिनपछि हलुका भयो । त्यस दिनदेखि मैले यस्तो द्रव्य ग्रहण गरेको छैन । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच