
काठमाडौं । दोलखाको बिगु गाउँपालिका-४ लादुकको सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट तामाकोशी पाँचौं जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाअन्तर्गत अडिट-१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो-केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन पालना नगरेको भन्दै श्रमिकहरू कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार कम्पनीमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरूले आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म ¥याली आयोजना गरेका छन् ।
आन्दोलनरत श्रमिकका अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा हरेक दिन एक घण्टा विरोधसभा र शान्तिपूर्ण धर्ना कार्यक्रम हुनेछ । श्रमिकहरूको जायज माग ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट-१ र २ लगायत स्थानको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् ।
सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकको माग सम्बोधन नगरेपछि बुधबारदेखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले बताउनुभयो । उहाँका अनुसार श्रमिकले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधानअनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीको रोहवरमा भएको सहमति कार्यान्वयन गर्न कम्पनीले आलटाल गरेपछि कामकाज ठप्प पार्न बाध्य भएको मगरको भनाइ छ ।
अर्का श्रमिक मदनकुमार श्रेष्ठले भन्नुभयो, ‘एक हप्ताभित्र सबै श्रमिकलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो कार्यान्वयन नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापनलाई पुनः ध्यानाकर्षण गराएका थियौं । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन । सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसैअनुसार अघि बढ्छौं ।’ उनीहरूले नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवा सुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलब वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत बिदाबारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणबारे पनि स्पष्ट हुनुपर्ने माग गरेका थिए । हाल तामाकोशी पाँचौंमा करिब पाँच सयजना श्रमिक कार्यरत छन् । त्यसमध्ये चार सयजना नेपालीमात्रै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच