
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा काठमाडौंका तीन खाद्य व्यवसायमा अवैधरूपमा चामल प्याकिङ तथा बिक्री गरिएको भेटिएको छ । विभागको र्यापिड रेसपोन्स टिम (आरआरटी) ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानीय निकायका प्रतिनिधिहरूसँगको सहकार्यमा तारकेश्वर-९, नागार्जुन-७ र नागार्जुन-४ मा रहेका खाद्य व्यवसायको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा तारकेश्वर-९ मा रहेको देवकोटा चिउरा तथा चामल मिलले बिना अनुमतिपत्र टाइचिन चामल सादा पहेंलो बोरामा प्याकिङ गरेको र अन्य ब्राण्डका नाममा बिक्री गरेको पाइएको थियो । उक्त गोदाममा रहेको दुई हजार पाँच सय १६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिलबन्दी गरी खाद्य ऐनबमोजिम थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ ।
त्यस्तै, नागार्जुन-७ मा रहेको हलेसी फुड्स खाद्य उद्योग प्रालिले पनि खाद्य अनुमतिपत्र नलिई अन्य ब्राण्डका नाममा चामल प्याकिङ तथा बिक्री गरेको भेटिएपछि गोदाममा रहेको एक हजार छ सय ४६ बोरा चामल सिलबन्दी गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
त्यसैगरी नागार्जुन-४ मा रहेको गढीमाई प्याकेजिङ उद्योगले समेत बिना अनुमतिपत्र अन्य ब्राण्डका चामल प्याकिङ गरेको पाइएकाले गोदाममा रहेकोे ७७ हजार आठ सय ५० केजी चामल सिलबन्दी गरी कारबाही प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
महर्जनका अनुसार तीनवटै व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो । साथै विभागले व्यवसायीलाई बिना अनुमतिपत्र खाद्य कारोबार नगर्न आग्रह गर्दै अटेरी गरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच