
काठमाडौं । नेपालका लागि १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता कराँतेका विप्लवलाल श्रेष्ठले खेलाडी जीवनबाट सन्न्यास लिनुभएको छ । आफ्नै खेलको निकाय नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाका कारण सन्न्यास लिन बाध्य भएको आरोप लगाउँदै विप्लवलालले खेलाडी जीवनबाट बिदा लिनुभएको हो ।
उहाँ नेपालमा नै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता र चीनमा भएको १९औँ एसियन गेम्समा तीन खेलका विजेका खेलाडी हुनुहुन्छ । घरेलु प्रतियोगितामा सदैव स्वर्ण चुम्दै आउनुभएका विप्लवलालले बुधबार पत्रकार सम्मेलन गर्दै सन्न्यास घोषणा गर्नुभएको हो । मन नलाग्दानलाग्दै पनि महासंघका अध्यक्ष लामाले आफूविरुद्ध गर्दै आएको निरुत्साहित गर्ने प्रवृत्तिका कारण खेलाडी जीवनबाट सन्न्यास लिएको उहाँको आरोप छ ।
केही समयअगाडि मात्र भुटानमा आठौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप खेल्नुभएको र त्यहाँ स्वर्ण पदक जितेको उहाँले स्मरण गर्दै दशौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको पनि बताउनुभयो । तर, अब आफूमाथि महासंघका अध्यक्षले गर्दै आएको निरुत्साहनका कारण खेल करियर अगाडि बढाउन नसक्ने स्थितिमा पुगेको उहाँको भनाइ छ ।
सानैदेखि खेल्दै आएको खेल छोड्नुपर्दा धेरै पीडा भइरहेको भन्दै उहाँ भावुक पनि हुनुभयो । एसियन गेम्सपछि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आफूलाई पिपुल्स च्वाइस अवार्डमा पारेको हो र त्यसबेला अध्यक्षले आफू त्यसमा योग्य नभएको भन्दै निरुत्साहित गरेको विप्लवलालको भनाइ छ ।
पारिवारिक कारणले केही समय ब्रेक लिँदा पनि अध्यक्ष लामाले आफूलाई नराम्रो गरेको बताउनुभएको छ । ५६औँ राष्ट्रिय खेलकुदमा आफूले स्वर्ण जितेको र त्यहाँबाट भुटानमा हुने दक्षिण एसियाली च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान रहेको उहाँले स्मरण गर्नुभयोे । तर, आफूसँग हारेको खेलाडीलाई भुटानमा हुने च्याम्पियनसिपका लागि लगिएको उहाँको आरोप छ । यद्यपि, आफू भुटान गएर अस्वस्थ रहँदा पनि व्यक्तिगत विधामा स्वर्ण जितेको उहाँले स्मरण गर्नुभयोे । तर, त्यतिबेला अध्यक्ष लामाले जिते पनि राम्रो नखेलेको भन्दै होच्याएको आरोप लगाउनुभएको छ ।
लगत्तै थाइल्याण्डमा भएको इन्डोर एसियन गेम्समा पनि आफूलाई टोलीभन्दा बाहिर राखेको उहाँले बताउनुभएको छ । विप्लवलाल बुढा भएको र उसको स्थानमा अर्को खेलाडी राख्न महासंघका अध्यक्ष लामाले राष्ट्रिय टिम तयारी समितिका सहसंयोजकलाई भनेको उल्लेख गर्नुभएको छ ।
उहाँ पछिल्लो समय अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको थियो । तर, उहाँ दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि नेपाल फर्किनुभएको हो । यद्यपि, विप्लवलालले यो आयोजना हुन दुई महिना बाँकी रहेको अवस्थामा खेलाडी जीवनबाट सन्न्यास लिनुभएको छ । घरेलु प्रतियोगितामा सदैव उत्कृष्ट रहँदै आउनुभएका विप्लवलालले अब कहिल्यै कराँते खेलमा नफर्कने गरी छाड्न बाध्य भएको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच