
सुर्खेत । कर्णालीमा एक वर्षमा चार हजार बढीले बसाइँसराइको गरेको तथ्यांक सार्वजनिक भएको छ । बसाइँसराइ गर्नेमा अधिकांश पानीकै संकटले गाउँ छाडेको तथ्यांकले देखाउँछ । कर्णालीमा एक वर्षमा चार हजार ४३७ जनाले बसाइँसराइ गरेका छन् । गाउँमा पानीको संकटसँगै सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गर्ने क्रम बढेको हो । खानेपानी, शिक्षा, वातावरणलगायत अत्यावश्यकीय सेवा सुविधाको अभाव भएपछि सहजता खोज्दै यहाँका नागरिकले एक जिल्लाबाट अर्को जिल्लामा बसाइँसराइ गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सन् २०२४ मा गरेको सर्भेक्षणअनुसार नेपालमा विभिन्न जिल्लाबाट बसाइँ सर्नेको संख्या एक लाख ५० जार ८४५ जना रहेको छ । जसमा कर्णाली प्रदेशमा मात्रै चार हजार ४३७ जनाले बसाइँसराइ गरेको उल्लेख छ । बसाइँसराइ गर्ने प्रमुख कारणमा हिमाल र पहाडबाट तराईतिर वा प्रदेश राजधानीतिर झरेको पाइएको छ । इन्सेक कर्णाली प्रदेशका अनुसार खाद्यान्न अभाव, विकास र सेवा सुविधाको चाहना, सन्तानको उज्ज्वल भविष्यको अभिरुचिले गर्दा पहाडबाट तराई र सदरमुकामतिर बसाइँ सर्ने क्रम बढेको हो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट जिल्लाबाट बसाइँसराइ बढी भएको बताउनुुभयो । उहाँका अनुसार सुर्खेतमा एक हजार २४०, दैलेखमा एक हजार, सल्यानमा ७१६, जाजरकोटमा ५१०, कालीकोटमा २९३, रुकुम पश्चिममा २८४, जुम्लामा २३९, मुगुमा ११८, हुम्लामा २२ र डोल्पामा १५ जनाले बसाइँसराइ गरेका छन् । उचित शिक्षा तथा खाद्यान्न उत्पादनबाट वञ्चित भएपछि थाततलो छाडेर बसाइँ सर्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् ।
इन्सेकले यस वर्षदेखि पहिलोपटक बसाइँसराइ लगायतलाई पनि वातावरणीय अधिकारमा राखेर सर्वेक्षण गरेको छ । यसरी बसाइँ सर्नु पनि मानव अधिकारको उल्लंघन भएको संयोजक सुुवेदीको भनाइ छ । वातावरणीय अधिकारमा बसाइँसराइ, वायु प्रदूषण, खानेपानी, सार्वजनिक शौचालय जस्ता विषय उल्लेख छन् । कर्णालीमा झण्डै आधा जनसंख्या खानेपानीको पहुँचको अभावमा रहेको उल्लेख छ ।
रेक्चा बस्ती रित्तिँदै
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ को रेक्चा बस्तीबाट पाँच वर्षको अवधिमा करिब ३५ बढी घरपरिवारले बसाइँसराइ गरेका छन् । खानेपानीको अभावमा अन्य पालिका तथा सदरमुकामतिर बसाइँ सर्ने क्रम बढेपछि रेक्चा बस्ती नै रित्तिने खतरा बढेको छ । पाँच वर्ष अघिसम्म ११५ घरधुरी रहेको रेक्चामा खानेपानीकै अभावका कारण अहिले ८० घरधुरी पनि छैनन् । गाउँमा रहेका १० वटा कुवामध्ये हाल आठवटा पूरै भत्किसकेका छन् । बाँकी रहेका दुुईवटा कुवामा खडेरीका कारण पानी सुकेको छ ।
यो गाउँका लागि खानेपानीको योजना बुनिएको छ । तर, अहिलेसम्म अधुरो छ । खानेपानीका लागि प्रत्येक घरधुरीबाट पैसा उठाइए पनि उपभोक्ता समितिले समेत नदिएको स्थानीय बताउँछन् । बारम्बार आवाज उठे पनि पानीको चरम अभाव भएको रेक्चा गाउँलाई तीनै तहका सरकारले कहिल्यै प्राथमिकता नदिएको स्थानीय तपेन्द्र क्षेत्रीले बताउनुुभयो । कर्णाली प्रदेश सरकारले एक करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना सुरु गरे पनि हाल यो आयोजना पनि अलपत्र छ ।
यता, चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विश्वकर्मा पानीको स्रोत नहुँदा समस्या भएको बताउनुहुन्छ । खानेपानी संंकट टार्न आवश्यक पहल गरिने उहाँको भनाइ छ । खडेरीले पानीका मुहान सुकेपछि रेक्चावासीसँगै चौकुने-१ का तोलीसैन र सोता वस्ती पनि रित्तिन थालेका छन् । पहिले पाखोबारीमा अन्नबाली राम्रै फल्थ्यो । सिजनअनुसार तरकारी खेती हुन्थ्यो । तर, पछिल्लो एक दशकयता गाउँमा उत्पादन घट्दै गइरहेको छ । सुक्खा र खडेरीका कारण उब्जनी हुन छाडेपछि सुर्खेतको चौकुने र पञ्चपुरीका बस्तीहरू रित्तिँदै गएका छन् ।
उब्जनी हुन छाडेपछि स्थानीयको बसाइँ सर्ने क्रम बढेको छ । बढ्दो खानेपानीको संकट र सिँचाइको अभावले गर्दा उब्जनी हुन छाडेपछि स्थानीयले बस्ती नै छाड्न थालेका हुन् । छाक टार्न हम्मेहम्मे हुन थालेपछि धेरै परिवार गाउँ नै छाडेर अन्यत्रै गएको तोलीसैनकी देवीकला रानामगर बताउनुुहुुन्छ । खानेपानी नै पाउन मुस्किल भइरहेका बेला खेतीमा सिँचाइ गर्ने कल्पनामै सीमित रहेको उहाँको भनाइ छ ।
उब्जनी नहुँदा स्थानीयहरू पछिल्लो समय बस्ती नै छाडेर चौकुनेकै लगाम, पोखरे र छिमेकी जिल्ला कैलालीको लम्कीतर्फ बसाइँ सरेर जान थालेका छन् । तोलीसैन गाउँमा रहेको दुुई लाख १५ हजार ५४२ वर्गमिटर जमिनमध्ये हाल अधिकांश जग्गा बाँझो छ । यस्तै तोलीसैनदेखि पश्चिम क्षेत्रमा पर्ने सोता गाउँमा केही वर्ष अघिसम्म ३५ परिवारको बसोबास थियो । तर, गाउँमा उब्जनी हुन छाडेपछि अहिले यहाँ केवल तीन परिवार मात्र बसोबास गरिरहेका छन् । बाँकी परिवार आफ्नो घरजग्गा छाडेर अन्यत्रै गएका छन् ।
यो गाउँमा रहेको दुुई लाख ८८ हजार २८६ वर्गमिटर खेतीयोग्य जमिनमध्ये हाल करिब ४० हजार वर्गमिटर क्षेत्रफल जमिनमा मात्र खेती गर्ने गरिएको छ । गाउँमा उब्जनी हुन छाडेपछि अधिकांश परिवारले बस्ती नै छाडेर गएका हुन् । चौकुनेमा मात्र होइन, जिल्लाको पञ्चपुरी नगरपालिकाकामा पनि यस्तै समस्या छ । पञ्चपुरी नगरपालिका–१ मा रहेका हाँसेगाउँ, फार्सेकाँडा र भक्तडीका बस्तीहरू पनि पछिल्लो समय पातलिँदै गएका छन् । वडा कार्यालयका अनुसार खानेपानीको अभाव र खडेरीले उत्पादन घट्दै गएपछि यो वडाबाट हालसम्म करिब १५० घरधुरी बसाइँ सरेर गइसकेका छन् ।
सिँचाइ सुविधाको व्यवस्थापन नभए ग्रामीण क्षेत्रमा खाद्यान्नको संकट बढ्ने र यसले बसाइसराइको दरलाई थप बढाउने विज्ञहरू बताउँछन् । यसलाई रोक्न ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा उपलब्ध गराउनुपर्ने र खडेरीमा पनि फल्न सक्ने अन्नबालीको खेतीतर्फ स्थानीयलाई आकर्षित गर्नुपर्ने विज्ञको सुझाव छ ।
क्याप्सन ः खानेपानीको माग गर्दै प्रदर्शनमा उत्रिएका पश्चिम सुर्खेतको रेक्चावासी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच