
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग भारतसँगको कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको जिकिर गर्नुभयो । सन् १९६२ अघि नेपालका नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएका तर त्यसपछि बीचमा यी भूभाग कसरी हटे ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘भारतसम्बन्धी सीमा विवाद कसैलाई समस्या नहुनेगरी समस्याको सधैँको लागि समाधान गर्न कूटनीतिक संवाद र वार्ता गर्नुपर्ने हो । सन् १९६२ अघि हाम्रो नक्सा पनि सोहीअनुसार रहेको थियो । उक्त भूभाग नेपालकै अधीनमा रहेको थियो । अहिले जस्तो नक्सा पहिले पनि त्यस्तै थियो । त्यसपछि नेपालको नक्सा किन फेरियो, कसले फे¥यो ? यसको उत्तर सबैलाई थाहा छ । यो समस्या कूटनीतिक वार्ताको माध्यमबाट समाधान गरिन्छ ।’
प्रधानमन्त्री ओलीले भारतीय पक्षले इपिजी प्रतिवेदन बुझ्न नमानेकाले सीमा समस्या समाधान गर्न नसकिएको जिकिर गर्दै भन्नुभयो, ‘इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यस अघिका भेटघाटका दौरानमा छिमेकी मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको कुरा सम्मानित सदनसमक्ष राख्न चाहन्छु । समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ ।’ द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र सन्धि-सम्झौता सम्मका विषयमा सिफारिश गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा इपिजी गठन भएको थियो । यद्यपि, इपिजीले नौवटा बैठक बसेर सन् १९५० को नेपाल-भारत सन्धि परिमार्जनसहितका महत्वपूर्ण बुँदामा सहमति जुटाए पनि ६ वर्ष बितिसक्दा पनि भारतीय पक्षले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा स्वीकारेको छैन । प्रधानमन्त्री ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी दिँदै भन्नुभयो, ‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ ।’
राप्रपा सांसदलाई प्रधानमन्त्रीको प्रश्न- ‘चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भयो ?’
प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालको नक्सा किन र कसले फेरियो ? कसको सरकार र कस्तो व्यवस्था थियो ? तपाईंहरूलाई याद होला । २०७७ असार ४ गते संविधान संशोधनमार्फत हामीले अध्यावधिक गरिसकेका छौँ ।’
नेपाल र चीन उरै भञ्ज्याङ नाका सुचारु गर्न पहल
प्रधानमन्त्री ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिनुभएको छ । बझाङ जिल्लाको उरै भञ्ज्याङ नाका सुचारु गर्नका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल–चीनको सिमानामा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरू पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोहीबमोजिम चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन गर्न अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ ।’ प्रधानमन्त्री ओलीले नाका सञ्चालनमा रहे पनि हिउँ परेका कारण अस्थायी रूपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताउनुभयो ।
रास्वपा सांसदलाई जवाफ- ‘कर्मचारी मैले होइन लोक सेवाले नियुक्त गर्छ’
प्रधानमन्त्री ओलीले कर्मचारी नियुक्ति प्रधानमन्त्रीले नभई लोक सेवाले गर्ने स्पष्ट पार्नुभएको छ । बिहीबार प्रतिनिधि सभामा प्रतिपक्षी दल रास्वपाका सांसद मनीष झाको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने आरोप सही छैन । प्रश्नभन्दा अगाडि केही व्याख्या राख्नुभयो, केही आक्रोशपूर्ण देखिए । कर्मचारीहरू मैले नियुक्त गरेको होइन, लोक सेवाले गर्छ । र अहिलेको सरकारले हाम्रो मान्छे होइन, राम्रो मान्छेको खोजी गर्छ ।’ प्रधानमन्त्री ओलीले सांसद झाले प्रश्नभन्दा आक्रोश व्यक्त गरेको र आरोप लगाएको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रश्न सोध्नुभयो भने जवाफ दिन्छु । आरोप लगाएपछि खण्डन गर्नुपर्छ ।’ सांसद झाले प्रधानमन्त्रीले नियुक्त गरेका कर्मचारीको अक्षमताका कारण सरकार फेल भएको आरोप लगाउनुभएको थियो ।
युवा बाहिरिए भन्ने कुरालाई नकारात्मक रूपमा नबुझ्न आग्रह
प्रधानमन्त्री ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँच सय उद्यमीलाई कर्जा प्रवाह गरिने जानकारी दिनुभएको छ । ओलीले सृजनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । विदेश जाने सिलसिला विश्वव्यापी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रूपमा बुझ्नु पनि हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रूपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ । हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’
अवैध भेप ल्याउनेलाई कारबाही गर्न सांसदहरूको माग
सांसदहरूले तातोपानी भन्सारबाट काठमाडौं आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद गंगा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौं आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद मनीष झाले केही दिनअघि समातिएको २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गर्नुभयो । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।
पूर्वराजालाई कारबाही गर्न खतिवडाको माग
पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ महाराजाधिराज र शाही निशान प्रयोग गरेकोमा संसद्मा प्रश्न उठेको छ । सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लंघन गरेर गतिविधि गरेकोले कारबाही गर्न माग गर्दै भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडिओ सन्देशमा श्री ५ महाराजधिराज भन्ने उल्लेख गरिएको र शाही निशान प्रयोग गरेको देखियो, शाही निशान २०६५ जेठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन, यस्ता कार्य बन्द गरियोस् ।’
ज्ञानेन्द्र शाहीको प्रश्न- ‘गणतन्त्रवादीविरुद्ध आन्दोलन गरे के हालत होला ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको टिप्पणी गर्नुभएको छ । नेताहरूलाई पूर्वराजाबारे बोल्दा होस गर्न चेतावनी दिँदै शाहीले भन्नुभयो, ‘हामीले राजालाई गरेको स्वागत गरेको कसैका विरुद्धमा आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्यौँ भने हालत के हुन्छ होला ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच