
काठमाडौं । विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)निकट विद्यार्थी संगठनलाई प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)ले चुनौती दिएको छ । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा भए पनि तेस्रो स्थानको क्रान्तिकारीले कडा टक्कर दिएको हो । नेविसंघ र अनरास्ववियुलाई चुनौती दिएको क्रान्तिकारीले आफ्नै नतिजा पनि सुधार गरेको छ ।
आंगिक क्याम्पसमा नेविसंघ पहिलो भएको छ । चैत ५ गते चुनाव भएका ३८ आंगिक क्याम्पसमध्ये नेविसंघले सबैभन्दा धेरै स्थानमा जितेर पहिलो भएको हो । बिहीबार अबेरसम्म ३६ क्याम्पसको गणना सकिँदा नेविसंघ १४ वटा क्याम्पसको अध्यक्ष जितेको छ । दोस्रो स्थानमा रहेको अनेरास्ववियुले १० वटा क्याम्पसमा जित हात पारेको छ । क्रान्तिकारी सात क्याम्पसमा विजयी हुँदा चारवटा क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एउटा क्याम्पसमा जसपा नेपालनिकट समाजवादी विद्यार्थी युनियनले जित हात पारेको छ । वीरगञ्ज नर्सिङ क्याम्पसमा भने मतगणना रोकिएको छ । आचारसंहितामा विवाद हुँदा गणना रोकिएको हो ।
त्रिविका ६२ वटा आंगिक क्याम्पसमा चुनाव हुनुपर्नेमा संगठनहरूको आन्तरिक विवादका कारण ३८ वटामा मात्रै चुनाव भएको हो । त्रिविका एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सबैको यकिन नतिजा सार्वजनिक भएको छैन । प्रमुख तीन दलनिकट तीनै संगठनले आ–आफ्नै दाबी गरिरहेका छन् । मंगलबार देशभरिका ३८ आंगिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले सम्बन्धन प्राप्त करिब साढे तीन सय र ६२ आंगिक क्याम्पसमा एकै चरणमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर, विद्यार्थीको अवरोधका कारण ठूला तथा आंगिक क्याम्पसहरूमा चुनाव हुन सकेन ।
सम्बन्धन प्राप्त क्याम्पसमध्ये बिहीबार बेलुकीसम्म नेविसंघले कम्तीमा सय ठाउँमा जितेको दाबी गरेको छ । अनेरास्ववियुले ९० हाराहारी क्याम्पसमा विजयी भएको दाबी गरेको छ । त्यस्तै, अखिल क्रान्तिकारीले ८० बढी क्याम्पसमा तिज हात पारेको दाबी गरेको छ । स्ववियु निर्वाचनमा प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाग लिएको थिएन । विश्वविद्यालयलाई राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीतिअनुसार नै उम्मेदवारी नदिएको रास्वपाले जनाएको छ । रास्वपाको फागुन ८ गते बसेको सचिवालय बैठकले स्ववियु निर्वाचनमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै पनि संलग्नतासमेत नरहने निर्णय गरेको थियो ।
के भन्छन् विद्यार्थी संगठनका नेता ?
प्राप्त नतिजाबाट सन्तुष्ट रहेको नेविसंघका सभापति सभापति दुजाङ शेर्पाले बताउनुभयो । नेविसंघले लिएको नयाँ कार्यक्रम र नयाँ बाटोलाई विद्यार्थीहरूले अनुमोदन गरेको उहाँले बताउनुभयो । अनेरास्ववियुले भने अघिल्लोपटक जितेका क्याम्पससमेत गुमाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले कोशी र काठमाडौं उपत्यकामा असर परेको बताउनुभयो । तर, अनेरास्ववियुको मत भने नघटेको अध्यक्ष बडाल दाबी गर्नुभयो । समानुपातिकमा अनेरास्ववियु नै अगाडि रहेको उहाँले बताउनुभयो । क्रान्तिकारीले भने यसपटक नतिजा सुधार गरेको छ । माओवादीको विद्यार्थी संगठनका इञ्चार्ज एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा विचारमा स्पष्ट, संगठनमा एकता र परिचालनमा सक्रियताले अखिल क्रान्तिकारीको ग्राफ बढेको दाबी गर्नुहुन्छ । स्ववियुको नतिजाले माओवादी आगामी निर्वाचनमा एक्लै लड् भन्ने सन्देश दिएको उहाँको भनाइ छ । विद्यार्थीको चुनावमा पनि स्वतन्त्र उम्मेदवारले इतिहास रचेका छन् । चारवटा क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कहाँ-कहाँ रोकियो चुनाव ?
त्यसबाहेक रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शंकरदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पसजस्ता उपत्यकाका प्रमुख क्याम्पसमा निर्वाचन हुन सकेको छैन । यस्तै, उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनी पनि निर्वाचन हुन बाँकी छ । चैत ५ गते चुनाव हुन नसकेको पद्मकन्या क्याम्पसमा बिहीबार चुनाव भएको छ ।
बाँकी क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताउनुभयो । ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्नसक्ने व्यवस्था रहेको छ । सोहीअनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ, उहाँले भन्नुभयो ।
त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन स्थगित
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन नै स्थगित भएको छ । निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाममा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि यहाँ विवाद भएको हो । नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो । शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाउनुभएको छ भने बडैलाले अनुज कार्की नेतृत्वमा प्यानल खडा गर्नुभएको छ । बडैलाले निर्वाचन समिति समेतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । ‘...अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले २०८१/१२/०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले मिति २०८१/१२/१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफल टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ’ निर्वाचन अधिकृत प्राडा. कृष्णप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्ववियु निर्वाचनको नतिजाले उत्साहित हुनुभएको छ । स्ववियु चुनावमा क्रान्तिकारीका पक्षमा लहर देखिएको बताउनुभएको छ । देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको उहाँको भनाइ छ । ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टीनिकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, प्रचण्डले भन्नुभएको छ, ‘कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवावर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच