इलामको रोङमा ‘गुरु किसान’ घोषणा : कृषि क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 6 mins

इलाम । इलामको रोङ गाउँपालिकाले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने उद्देश्यले "गुरु किसान" कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रमअन्तर्गत, कम क्षेत्रफलमा बढी उत्पादन गर्ने र आधुनिक कृषि प्रविधि अपनाउने किसानहरूलाई "गुरु किसान"को रूपमा पहिचान गरि परिचयपत्र समेत बितरण गरिएको छ ।

बुधबार रोङ गाउँपालिकाको इरौटारमा एक कार्यक्रमका बीच सङ्घीय सरकारका कृषि, पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकास मन्त्री खगेनसिंह लिम्बुले "गुरु किसान" घोषणा गर्नुभएको हो । पालिकाले "गुरु किसान" कार्यक्रम नेपालमै पहिलो भएको दाबी समेत गरेको छ

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले यो कार्यक्रमको घोषणा गर्दै भन्नुभयो, "हामीले किसानहरूलाई प्रतिस्पर्धी बनाउन र कृषि उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याएका हौँ । यसले किसानहरूलाई नयाँ प्रविधि सिक्न र आफ्नो उत्पादन क्षमता बढाउन प्रोत्साहन गर्नेछ । किसानहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न र उनीहरुको आयस्तर बढाउनको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।"

"गुरु किसान" कार्यक्रमको घोषणाले स्थानीय किसानहरूमा उत्साह छाएको छ । किसानहरूले यो कार्यक्रमले उनीहरूलाई नयाँ प्रविधि सिक्न र आफ्नो उत्पादन क्षमता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । "यो कार्यक्रमले हामीलाई धेरै हौसला दिएको छ," स्थानीय किसान राम राईले भन्नुभयाे, "हामीले अब नयाँ प्रविधि प्रयोग गरेर आफ्नो उत्पादन बढाउन सक्नेछौँ र आफ्नो आयस्तर सुधार गर्न सक्नेछौँ।"

रोङ गाउँपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना बनाएको छ । गाउँपालिकाले किसानहरूलाई प्राविधिक सहयोग, बीउबिजन, मलखाद र बजार पहुँच जस्ता सुविधाहरू प्रदान गर्ने योजना पनि बनाएको छ । "हामी यो कार्यक्रमलाई सफल बनाउन प्रतिबद्ध छौँ," गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, "हामी किसानहरूलाई सबै आवश्यक सहयोग प्रदान गर्नेछौँ र उनीहरूलाई सफल बनाउन हरसम्भव प्रयास गर्नेछौँ ।"

यस कार्यक्रमले इलामको रोङ गाउँपालिकालाई कृषि क्षेत्रमा नमुना बनाउने र अन्य स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

अध्यक्ष स्याङ्बोकाअनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवर्द्धन गर्ने लक्ष्य रहेको जनाइएको छ । ‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ ।’

प्रशोधनमा नीजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष लिइएको छ । संघीय सरकारअन्तर्गत योजना आयोगको पाँच करोड विशेष अनुदानबाट तीन वटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको बुधबार नै उद्घाटन गरिएको हो । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।

संघीय सरकारको अनुदानबाट करिव ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरुबाट गुरु किसान छनौट गरिएको हो । कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको हो ।

गाउँपालिकामा बिशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । त्यस्तै गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?