
पानीको दिगो व्यवस्थापनमा जोड दिँदै आएको वेष्ट पानी प्रालिले खासगरी वर्षात्को पानी संकलन र प्रशोधन प्रविधिमा काम गर्दै आएको छ । आकाशे पानी संकलन प्रविधिमार्फत् पानी व्यवस्थापनका लागि निजीदेखि सरकारी भवन, अस्पताल, स्कुल, कलेज, होटलहरूमा आकाशे पानी संकलन प्रविधि जडान गर्दै आएको वेष्ट पानीका प्रविधिप्रति पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको छ । वेष्ट पानीका चिफ टेक्निकल अफिसर गोकुल दंगालका अनुसार वेष्ट पानी २०१५ सालदेखि नै यसमा काम गर्दै आएको छ । नेपालमा मात्रै नभई विदेशमा समेत गएर काम गर्ने लक्ष्यका साथ स्थापना भएको संस्थाले आकाशे पानी खानयोग्य बनाउने, बढी भएको पानी ढलमा नपठाई जमिनमुनि रिचार्ज गर्ने, जमिनमुनिको पानी अथवा शहरी क्षेत्रको पानीलाई कुनै पनि केमिकल र विद्युत् प्रयोग नगरी पूर्णरूपमा अर्गानिकरण गरेर खानयोग्य बनाउने गरेको छ ।
उल्लेखित प्रविधिमा एकपटक लगानी गरेपछि पानीका लागि पटक-पटक खर्च गर्नु नपर्ने भएकाले पनि आकर्षण देखिएको दंगालको भनाइ छ । उहाँका अनुसार आकाशे पानी लामो समयसम्म उपयोग गर्न सकिन्छ, अन्य स्रोतका पानीभन्दा स्वस्थकर पनि हुन्छ । फिल्टर गरेर राखेको पानी १५ महिनासम्म पनि बिग्रिएको छैन । आकाशे पानी उपयोग गर्ने धेरै ग्राहकले स्वास्थ्य पनि राम्रो हुँदै गएको बताउने गरेका छन् । कतिपय ग्राहकले विगतमा अस्पताल धाइरहनुपर्ने गरेकोमा आकाशे पानी प्रयोगपछि औषधि खानु नपरेको बताएका छन् ।
वेष्ट पानीले खानेपानीमात्र नभई मानव जगत्का लागि आवश्यकताअनुसार काम गर्छ । पिउने पानीदेखि सिँचाइ, विल्ड लाइफ क्षेत्रमा समेत काम गर्छ । संस्थाले प्रविधि हस्तान्तरणका साथै सोसम्बन्धी प्राविधिक जनशक्ति उत्पादन र पानीको दिगो व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । हाल संस्थाले देशका विभिन्न ३९ भन्दा बढी जिल्लामा काम गरिरहेको जनाएको छ ।
त्यसो त आकाशे पानी संकलन, रिचार्जका लागि अझै पनि नीतिगत समस्या छ । राज्यबाट नियमन, अनुगमन छैन । आकाशे पानी संकलन गर्ने नागरिकहरूलाई राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधामा सहुलियत र प्रोत्साहनको व्यवस्था गर्न सकेमा अझै यसमा आकर्षण बढ्ने दंगाल बताउनुहुन्छ । स्थानीय तहहरूले पनि रेनवाटर र रिचार्ज प्रविधिमार्फत् पानी व्यवस्थापन गर्न सक्छन् तर सोबारेमा स्थानीय तहहरूले स्थानीयवासीका लागि कति पानी चाहिन्छ, स्रोतहरू के-के हुन सक्छन् ? कसरी पानीको दिगो व्यवस्थापन गर्ने भन्नेबारेमा अध्ययन गर्ने, तथ्यांक संकलन गर्ने, आकाशे पानी संकलन गर्ने वडावासीलाई सेवासुविधामा विभिन्न सहुलियत दिने नीति लिएको देखिँदैन । आकाशे पानी संकलन, फोहोर पानी प्रशोधनलाई अभियानकै रूपमा अघि बढाउने हो भने नेपालका कुनै पनि बस्ती पानीको खोजीमा अन्यत्र भौंतारिनु नपर्ने दंगालको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘ट्यांकर, जारको पानी कति दिनसम्म किनेर खाइरहने ? आकाशे पानी संकलन गरेर आफूलाई आवश्यक पानी आफैं व्यवस्थापन गर्न सकिन्छ ।’
त्यसो त दंगाल सन् २००६ देखि नै आकाशे पानी संकलनको अभियानमा लाग्नुभएको थियो । त्यतिबेला आकाशे पानी संकलनको कुरा गर्दा कसैले विश्वास गर्ने अवस्था थिएन । सित्तैमा आएको आकाशे पानीका लागि किन खर्च गर्ने भन्ने सोच थियो । आकाशे पानीमा किरा पर्छ, दूषित हुन्छ भन्ने सोचाइ थियो । उहाँ भन्नुहुन्छ, ‘सुरुमा हामीलाई काम पाउन धेरै गाह्रो भयो । यत्रो दुःख गरेर पढेर आइयो, काम गर्न खोज्यो, काम नपाउँदा धेरै दुःख लाग्यो तर पनि हामीले हिम्मत हारेनौं । विस्तारै रेनवाटर हार्भेष्टिङबारेमा कुरा बुझाउँदै गयौं, सोही क्रममा एक–दुईवटा घरमा काम पनि सुरु गर्यौं । त्यसपछि भने यसको प्रभावकारिता देखेर अन्य घरहरूबाट पनि काम आउन थाल्यो । जसले यस्तो प्रविधि राखेको छ, उनीहरूले नै यसबारेमा अरूलाई सुनाउन थालेपछि माग बढ्दै गयो । अहिले त यो प्रविधिका लागि हामीलाई भ्याइनभ्याइ छ । ग्राहकले अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ । आजको भोलि काम गर्न सक्ने अवस्था छैन । हाम्रो प्रविधि राम्रो भएका कारण यस्तो भएको हो । रेनवाटरतर्फ त हजारौं ठाउँमा काम गरिसकेका छौं । अस्पताल, स्कुल, कलेज, हाउजिङ, निजी घरहरू सबैतिर काम गरेका छौं । झुपडीदेखि महलसम्म रेनवाटर प्रविधिहरू जडान भइसकेका छन् ।’ आकाशे पानी संकलन ठूला महलदेखि सानो झुपडी जस्तो घरमा पनि गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच