बर्दघाटमा सार्वजनिक पोखरी ठेक्काबाट राजस्व

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक पोखरीहरूको पहिलो पटक ठेक्का प्रक्रिया अगाडि बढाएको छ । नगरले पोखरीहरूको संरक्षण गर्दै ठेक्का प्रणालीमार्फत् राजस्व संकलन प्रक्रिया अघि बढाएको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि नै विशेष समिति गठन गरी नगर क्षेत्रका पोखरीको अभिलेखीकरण गरेको थियो । यसअघि स्थानीय क्लब तथा संघसंस्थाले ती पोखरी प्रयोग गर्दै संरक्षण गरिरहेका थिए । तर, अहिले नगरपालिकाले नै ती पोखरीहरू ठेक्कामा लगाउने नीति अवलम्बन गरेको छ ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठकाअनुसार ठेक्का प्रक्रियाबाट मुख्यतः पोखरी संरक्षण गर्न तथा अतिक्रमण रोक्न मद्दत पुग्नेछ । उहाँले भन्नुभयो, ‘पोखरी ठेक्काले संरक्षण र पालिकाको राजस्व वृद्धि गर्न पनि भूमिका खेल्छ ।’

राजस्व वृद्धिमा लागेको बर्दघाट नगरपालिकाले राजस्वको दायरा बढाइरहेको छ । पोखरी संरक्षण र संवर्द्धनका लागि नगरपालिकाले बजेट विनियोजन गरी कार्यक्रमसमेत अघि सारेको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार नगरपालिकाभित्र रहेका १८ पोखरीमध्ये हालसम्म नौवटा पोखरी ठेक्कामा लगाइएका छन् । बाँकी नौवटा पोखरीका लागि पनि ठेक्का आहृवान भइसकेको छ । ठेक्का प्रक्रिया पारदर्शीरूपमा अघि बढाइरहेको भन्दै उहाँले पोखरीलाई कृषि तथा उत्पादनसँग जोडेर आर्थिक उन्नतिको माध्यम बनाउन सकिने बताउनुभयो ।

नगरपालिकाका अनुसार हाल एक पोखरीको वार्षिक ठेक्का शुल्क ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सार्वजनिक पोखरी संरक्षणलाई प्राथमिकता दिँदै नगरपालिकाले पोखरी अतिक्रमण गरी निर्मित अवैध संरचनासमेत हटाइसकेको छ ।

नगरपालिकाले पोखरी संरक्षणका लागि स्थानीय तह, संघसंस्था र समुदायको सहभागिता आवश्यक रहेको बताएको छ । यस नीतिबाट पोखरीको उपयोग उचितरूपमा हुने र नगरको हरियाली तथा जैविक विविधता जोगाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?