
काठमाडौं । रसुवा जिल्लामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको आयोजनाले जनाएको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका-१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिने आयोजनाले जनाएको छ । हेस्थ पोष्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत(सिइओ) बायोङ सु मिनले सोमबार हाकुमा आयोजित कार्यक्रमबीच एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा आमाछोदिङमो गाउँपालिका बडा १ र २ का वडाध्यक्ष, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारी, स्थानीय बासिन्दालगायतको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका सिइओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बिरामी र दुर्घटनाका घाइतेलाई अस्पताल पु¥याउनुअघि नै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन सम्पन्न एम्बुलेन्स गाउँपालिकालाई प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिई उपलब्ध गराइएको एम्बुलेन्सबाट बिरामीलाई समयमै स्वास्थ्य सेवासम्म पु¥याउन एउटा कोशेढुंगा हुने विश्वास लिएका छौं ।’ गाउँपालिका अध्यक्ष तामाङले विकास आयोजनाहरू स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिएमा मात्र सफल हुने भन्दै आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरू हुने भएकाले सोहीबमोजिम कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नेपाल सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स आयातमा लाग्ने राजस्व नेपाल सरकारबाट छुट प्राप्त भएको छ । राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ रहेको छ । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत् हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत् प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।
आयोजनाका अनुसार कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका-१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत्् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली-१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत रहेको छ ।
आयोजना निर्माणका लागि इञ्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ । वर्षभरि नै एक सय चार मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने आयोजनाको निर्माण २०८३ को मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच