एक महिनामै १२ अर्ब बढीको पेट्रोल, डिजेल आयात

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना अर्थात् साउनमा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँमा झरेको हो । गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १.५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ कायम भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात भएको थियो । साउनमा वैदेशिक व्यापार आयातको अनुपात ९०.५२ प्रतिशत रहेको छ ।

साउनमा सात अर्ब ३४ करोड ७१ लाख २५ हजारको डिजेल र पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको हो । 

त्यस्तै, गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा ०.६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ थियो । साउनमा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको पेट्रोल आयात भएको छ ।

त्यसैगरी साउनमा दुर्ई अर्ब ८६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको छ । कुल दुई अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरका एक लाख ७९ हजार नौ सय ९७ स्मार्टफोन नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको सोही अवधिममा एक अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरका एक लाख ७६ हजार दुई सय ४९ मोबाइल भित्रिएका थिए । चीनबाट एक अर्ब ९० करोड रुपैयाँका एक लाख २३ हजार र भारतबाट ९४ करोड २८ लाख रुपैयाँ बराबरका ५५ हजार स्मार्टफोन नेपाल भित्रिएका छन् ।

त्यस्तै, सोही अवधिमा २३ करोड ४९ लाख ८९ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । ३५ हजार तीन सय १५ टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको हो । २५ हजार सात सय ४२ टन क्लिंकर र नौ हजार पाँच सय ७२ टन तयारी सिमेन्ट भारत निर्यात भएको विभागले जनाएको छ । गत वर्षको अन्त्यसम्म ७७ करोड ९३ लाख रुपैयाँको १० लाख चार हजार २३ मेट्रिकटन क्लिंकर तथा सिमेन्ट निर्यात भएको थियो । सरकारले सिमेन्ट निर्यातमा सहुलियत दिएसँगै गत वर्षदेखि पाल्पा, अर्घाखाँची र बालाजु गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । त्यसैगरी नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ भने ९५ करोड ६६ लाख ३९ हजार बराबरको गलैँचा निर्यात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?