
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता वायु प्रदूषण हृवात्तै बढेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था (आइक्युएयर)को सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित भएको देखाएको हो । आइतबारयता लगातार काठमाडौं यस सूचीको पहिलो नम्बरमा छ । बुधबार राति यो समाचार तयार पार्दासम्म काठमाडौंको वायुको गुणस्तर मापदण्ड २४२ आइक्युएयर तथ्यांक रेकर्ड भएको थियो । यसअघि बुधबार बिहान भने भारतको दिल्ली काठमाडौंभन्दा बढी प्रदूषित देखिएको थियो ।
दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको आइक्युएयर २०७ रहेको छ । यीबाहेक अन्य सहरमा यो सूचकांक २०० भन्दा कम छ । स्वास्थ्यका दृष्टिकोणले यी दुई सहर अति अस्वस्थकर बनेका छन् । काठमाडौंमा प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ ।
यसअघि अप्रिल १९ (बैशाख ७) मा पनि काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा परेको थियो । विश्वका प्रदूषित सहरको तेस्रोमा भियतनामको हनोई, चौथोमा भारतको मुम्बई, पाँचौँमा इजरायलको तेल अभिभ याफो, छैठौँमा इराकको बग्दाद, सातौँमा चीनको वुहान, आठौंमा थाइल्याण्डको चियाङ माई, नवाँैमा पाकिस्तानको लाहोर र दशौँमा कजाकिस्तानको अल्माटी रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज (बिहीबार) देखि थोरै प्रदूषण घट्ने देखिए पनि अर्को हप्तादेखि वर्षाको सम्भावना देखिएको छ ।
आँखा पोल्नेदेखि श्वासप्रश्वासम्मका समस्या
प्रदूषणका कारण सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् भने श्वासप्रश्वासमा समस्या देखिएको छ । मौसमविद् पोखरेल वायु प्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउनुहुन्छ । उहाँ वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउनुहुन्छ । वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पिएम १० र पिएम २.५ को मापदण्डमा जाँचिन्छ । पिएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरूसँग सम्बन्धित छ भने पिएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरूसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ । विज्ञहरूका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको विकारको पदार्थ कार्बनडाई अक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पिएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् । यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ । रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयाघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयाघातको समेत प्रचुर सम्भावना बढाइदिन्छ ।
यातायातका साधन प्रदूषणको प्रमुख कारक
काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना-ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धुलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धुवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धुवाँ पनि वायु प्रदूषणका स्रोत हुन् । गर्मी यामसँगै सुरु भएको आगलागीका घटनासमेत वायु प्रदूषणको कारकको रूपमा जोडिएका छन् । अहिले नेपालको तराई, भारतको उत्तरी क्षेत्र र पाकिस्तानमा किसानले बालीनाली भित्र्याइसकेपछि खेतमा पराल, छ्वाली लगायतमा आगो बाल्ने भएकाले पनि हावा प्रदूषित हुने विज्ञहरू बताउँछन् । काठमाडौं बल आकारको सहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीँ भेला भएर बस्ने र दिनदिनै थप हुँदै जान्छन् । त्यो निस्कन पाउँदैन । त्यसका लागि पानी पर्नैपर्ने विज्ञ बताउँछन् । बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर भएकाले मर्निङवाकमा ननिस्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पनि विज्ञहरूले सुझाएका छन् ।
सामान्यतः शून्यदेखि ५० सम्मको एक्युआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई भने मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्युआई १५० देखि २०० हुँदा श्वासप्रश्वाससम्बन्धी समस्या भएका र पाको उमेरका मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् । २०१ देखि ३०० एक्युआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ । यसरी हेर्दा एक सातादेखि काठमाडौंको हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच