
विकास प्रक्रियाको केन्द्र नै स्वतन्त्रता हो । (अमत्र्य सेन, नोबल पुरस्कार विजेता) आहार, निद्रा, भय र मैथुन यी चार कुराहरू पशु र मानवमा समान रूपमा रहेका हुन्छन् । पशुमा भन्दा मानिसमा अधिक रहेको भनेको एउटै कुरा हो-धर्म । धर्म अर्थात् कर्तव्य, राम्रो नराम्रो छुट्याउनसक्ने शक्ति, बुद्धि, विवेक आदि । कुन कुराले आफूलाई फाइदा गरेको छ र केका कारण हामी सधैं पछि पर्दै आयौं भन्ने पनि छुट्याउन सकिएन भने मानव हुनुको कुनै अर्थ हुँदैन । सही र गलतमा परख गर्न सक्नै पर्दछ ।
आजभोलिका सामाजिक सञ्जालहरूमा राजा भएका विश्वका विकसित देशहरूको नाम एकातिर र गणतन्त्र हुँदाहुँदै पनि गरिबीको चपेटामा पिल्सिएका देशहरूको नाम अर्कोतिर राखेर प्रचारप्रसार गर्ने काम भइरहेको छ । विकसित देशका ती राजाहरूले जनताका अधिकार कतिपटक खोस्ने प्रयास गरे ? आफूसँग नभएको अधिकार सिर्जना गर्न कुनै हरकत गरे कि गरेनन् ? संविधानभन्दा माथि रहन ती देशका राजाहरूले कतिपटक जननिर्वाचित सरकारहरूलाई अपदस्थ गरे ? र नेपालकाले के के गरे जस्ता कुराहरू राखेर नेपालको राजतन्त्रसंग तुलना चाहिँ गर्ने गर्दैनन् । लोकतन्त्र र लोकतन्त्रवादीहरूमाथि एकोहोरो प्रहार गर्ने मात्रै काम भइरहेको छ ।
वैधानिक राजाको सपरिवार षड्यन्त्रमा परेर मारिएपछि राजा हुनपुगेका ज्ञानेन्द्र शाहलाई गद्दीमा पुनःस्थापित गरेमा नेपाल झलल हुने, आमनागरिकका मुहारमा हाँसो झल्कने र नेपालमा देखिएका यावत् समस्याहरू जादुमयी तरिकाले हराएर जाने उद्घोष गर्दै सडकदेखि सदनसम्म संघर्षमा उत्रिएका छन् ।
पत्रकार, पत्रिका, लेखक वा कुनै सञ्चारमाध्यमलाई एकपक्षीय भएको आरोप लगाउन पर्यो भने आजभोलि १२ भाइको उपमा दिने चलन छ । पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका यी पदावली तिनै बाह्र भाइलाई भन्न परे १२ भाइ र तीदेखि बाहेकका अरूलाई समेत त्यसैमा मुछ्न परे १३औं भाइको दर्जा दिइन्छ । केही हप्ता यता आएर राजावादीहरू राजसंस्था पुनःस्थापनाको उद्देश्य लिएर सल्बलाई रहेका छन् ।
वैधानिक राजाको सपरिवार षड्यन्त्रमा परेर मारिएपछि राजा हुनपुगेका ज्ञानेन्द्र शाहलाई गद्दीमा पुनःस्थापित गरेमा नेपाल झलल हुने, आमनागरिकका मुहारमा हाँसो झल्कने र नेपालमा देखिएका यावत् समस्याहरू जादुमयी तरिकाले हराएर जाने उद्घोष गर्दै सडकदेखि सदनसम्म संघर्षमा उत्रिएका छन् । जनताको रगत र पसिनाबाट आर्जित लोकतन्त्रको समाप्तिबाट मात्रै देश र जनताको समृद्धि हुन्छ भन्ने गलत प्रचार गर्दै सोझा जनतालाई सडकमा उतार्ने प्रयास भइरहेको छ । मेरो कलम यसैका विरुद्धमा लगातार चलिरहेको हुँदा एक मित्रले मेरो एक लेखलाई एकपक्षीय भएको भन्दै १३औं भाइको उपमा दिएका छन् ।
अर्का एक मित्र छन्-जसले लोकतान्त्रिक व्यवस्था सञ्चालन गर्दा यसका सञ्चालकहरूले गरेका गल्तीहरू खोजीखोजी मलाई पठाइरहेका छन् । उनका लागि राजा भनेका विष्णु भगवान् नै हुन् र राजतन्त्रबाट भए गरेका गल्ती कमजोरीहरू कुनैका बारेमा पनि बोल्नु, लेख्नु महापाप हो भन्ने सन्देश मलाई दिन खोजिरहेका छन् । नेपालमा लोकतन्त्र प्राप्त भएपछि एउटै राम्रो काम भएको छैन र यसबाट मुलुक डुब्नेबाहेक केही हात लाग्दैन भन्ने उनको विचार छ । सडकमा राजावादीहरूले जे गरे पनि त्यसलाई सबैले सहर्ष स्वीकार गर्नुपर्ने र उनीहरूका जस्तासुकै कर्तुतहरूका बारेमा पनि दोष सबै सरकारलाई दिनुपर्ने प्रचारप्रसार गर्न व्यस्त छन् । जे होस्, यी दुवै मित्रलाई मेरा विचार पढेर मलाई सचेत गराउने काम गरेकोमा धन्यवाद दिनै पर्दछ तर उनीहरूको विचारले कस्तो कुराको प्रतिनिधित्व गर्दछ भन्ने पनि ख्याल राख्न जरुरी छ ।
लोकतान्त्रिक सरकार सञ्चालनका सन्दर्भमा कुन दलले कति काम ग¥यो र कुन दलले कति काम बिगार्यो भन्नेमा लेखकहरू सन्तुलित हुनै पर्दछ । सरकारका गतिविधिहरूका बारेमा जनतालाई सुसूचित गर्दा र उत्पन्न घटना परिघटनाका बारेमा विचार विश्लेषण गर्दा सबै पक्ष केलाउन जरुरी हुन्छ नै । एउटा दलको सबै नराम्रा कार्य र अर्का दलका सबै राम्रा उपलब्धिका बारेमा मात्रै उजागर गरियो भने निश्चय त्यो पक्षपात ठहर्छ र यसो गर्न हुँदैन । गुहु र गोबरका बीचमा कुन उपयोगी भनेर कसैले सोध्यो भने बारीमा मल हाल्न त गुहु काम लाग्ला तर गोबरकै पक्षमा सबैको व्याख्या एकोहोरिनेमा कुनै शंका छैन । मानिसको दिसा हालेर तरकारी त फष्टाउन सक्छ तर पनि त्यतातिर कमैको ध्यान आकृष्ट हुन्छ ।
मानिसका लागि सबैभन्दा प्यारो चिज स्वतन्त्रता हो । आफ्नो स्वतन्त्रतालाई बन्धकी राखेर कोही रमाउन चाहन्छ भने उसमा केही न केही कमजोरी छ भन्ने ठान्नुपर्दछ । आमाको गर्भमा छउञ्जेल मानिसले जति बन्दी भयो त्यतिमात्रै उसको बाध्यता हो अन्यथा बाहिर निस्केपछि प्रकृतिले नै उसलाई स्वतन्त्र बनाइदिएको छ । अधिकारसहितको स्वतन्त्र नागरिकभन्दा कसैको निरंकुश शासनअन्तर्गतको रैती हुन रहर गर्नु कदापि ठीक हो भनेर बोल्न सकिन्न, न लेख्न नै सकिन्छ । त्यसैले राजावादीहरूले राखेका मागमा उद्गम विन्दुदेखि नै स्वतन्त्रताप्रेमीहरूको असहमति हुने भएकाले एकपक्षीय हुनु स्वाभाविक नै हुन्छ ।
मान्छेको मात्रै के कुरा गर्नु । हरेक प्राणी स्वतन्त्रताकै पक्षधर हुन्छ । पिँजडामा थुनेर राखेको सुगालाई पिँजडाको ढोका खोलिदिने हो भने ऊ फुत्केर उड्छ । आकाशमार्ग हुँदै जंगलतिर लागेपछि त्यो सुगा फर्केर आउला भन्ने कुनै आश हुँदैन । सुगाको मालिकले बिहानैदेखि उसलाई चाहिने खाजा, खाना, पानी आदि सबै व्यवस्था गरिरहेको हुन्छ । बरू आफूले समयमा खानाखान पाउँदैन होला तर सुगाका लागि कत्ति पनि तलमाथि नहुने गरी व्यवस्था मिलाउँछ । घरका परिवारका बीचमा कहिलेकाहीँ झगडा पर्ला, ठूलाले सानालाई गाली गर्लान् तर सुगालाई भने त्यो घरमा रहेका सबैले पट्टु भन्दै अति माया गरेका हुन्छन् र पनि त्यो सुगा किन फर्किँदैन ? स्वतन्त्र भएपछि त्यही अन्न जुटाउन बिहानदेखि बेलुकासम्म कति मिहिनेत गर्नुपर्छ, शिकारीको जालमा पर्ने उत्तिकै डर हुन्छ र पनि सुगाले किन स्वतन्त्रता नै रोजेको होला ? फेसबुकमा राजतन्त्रको रोइलो गर्ने मित्रहरूले बुझेकै हुनुपर्ने हो ।
चिडियाखानामा बाघ भालुहरू थुनिएका हुन्छन् । जनताबाट कर उठाएर राज्यले चिडियाखानाका ती पशुहरूलाई ठीकठीक समयमा खुवाउने गर्दछ । जंगलमा हुँदा कति दिन उनीहरूले शिकार गर्न नसक्दा भोकभोकै रात बिताउँछन् । आफूभन्दा शक्तिशाली अर्को जन्तुको आक्रमणमा पर्ने त्रास उनीहरूलाई उत्तिकै हुन्छ तर चिडियाखानामा सुरक्षा व्यवस्था बलियो पारिएको हुन्छ । यति हुँदाहुँदै पनि ती पशुहरूसमेत त्यहाँबाट फुत्कने उपाय नै सोचिरहेका हुन्छन् । उनीहरूलाई त्यहाँ कहिले राँगाको, कहिले खसीको, कहिले कुखुराको आदि–आदि परिवर्तन गरी दिइएको खानामा स्वाद परेको हुँदैन । एक दिन मारेको एउटा जन्तुको मासु सात दिनसम्म खानमै उनीहरू मजा मान्दछन् ।
आफूमा निहित अधिकार कोही एकजनामा लगेर बिसाउने कुरामा कदापि समर्थन जनाउन सकिँदैन । नागरिकबाट पुनः रैतीमै परिवर्तीत हुने चाहना मानिसले राख्नै सक्दैन । विश्वेश्वरप्रसाद कोइरालाले जहिले पनि भन्ने गर्नुहुन्थ्यो-मानिस ब्रेडबाट होइन, ब्रेनबाट सञ्चालित हुनुपर्दछ ।
केही सोझा पशुहरू भने फर्केर खोरमा आउने पनि गर्दछन् । घरमा पालेका गाइभैँसीहरू बिहान फुकाएर जंगल पठाइदिए पनि बाटो बिर्सेनन् भने गोठतिरै फर्कन्छन् । गाउँघरतिर खसीबोकाहरू फुकाएर चर्न छाडे पनि खोरतिरै आउने गर्दछन् । भोलि यिनीहरूले मलाई काट्छन् या काट्ने मान्छेलाई बेच्छन् भन्ने थाहा पाउन सकेको भए यिनीहरू शायदै फर्कन्थे होलान् । आफ्नो मालिकको नियत र मलिकले आफूलाई पाल्नुको रहस्यका बारेमा ती पशुहरूलाई ज्ञान भएको भए दाम्लोबाट फुत्किएपछि निश्चय अर्कै गन्तव्यको निर्धारण गर्थे होलान् ।
आफ्नै आँखाअगाडि सँगै खोरमा हुर्र्किएको साथी काटिएको देख्दा पनि खसीबोकाले थाहा पाएका हुँदैनन् होला । मालिकको उद्देश्यका बारेमा आँखाले देखेको घटनाबाट पनि उनीहरूलाई ज्ञान मिल्दैन होला । उनीहरूमा यो शक्ति प्रकृतिले दिएको छैन जस्तो लाग्दछ तर मानिसलाई भने सत्य के हो, असत्य के हो, ठीक के हो, बेठिक के हो छुट्याउने शक्ति प्रकृतिले दिएको छ । आगोले पोल्छ भन्ने मानिसलाई राम्रैसँग थाहा छ र पनि पटकपटक आगामै हात हाल्ने प्रयास गरिरहन्छ भने त्यसलाई के भन्ने मलाई जानकारी छैन । त्यही खसीबोका जस्तै खोरमा फर्किने हो भने मेरो भन्नु केही छैन ।
लोकतन्त्रले मानिसलाई मानिसका रूपमा जिउन सिकाउँछ । अधिकारको उपयोग गर्दै स्वतन्त्र जीवनशैलीमा बाँच्न सिकाउने व्यवस्था लोकतन्त्र नै हो । आफूमाथि आफ्नै शासन चल्छ र धर्तीमा अर्कोको जति अधिकार छ, तिम्रो पनि त्यत्तिकै अधिकार छ भन्ने ज्ञान लोकतन्त्रले नै दिलाउँछ । सत्ता र शक्तिका आडमा तिमीमाथि कसैले नियन्त्रण गर्ने प्रयास गर्छ भने त्यसको प्रतिकार तिमीले गर्नुपर्दछ भनेर पढाउने लोकतन्त्रले नै हो । देशको शासन व्यवस्था सुव्यवस्थित गर्न व्यवस्थापकका रुपमा सरकार छान्ने अधिकार तिम्रो हो र तिमीलाई नपचे परिवर्तन गर्न सक्छौ भनी जनतालाई चेतना दिलाउने काम लोकतन्त्रले नै गर्दछ ।
लोकतन्त्रमा स्वतन्त्रताका नाममा उच्छृंखलता नपलाएको भने होइन । लोकतन्त्रका माध्यमबाटै निरंकुशतातिर प्रवेश गर्ने प्रयास कुनै–कुनै शासकहरूले नगरेका पनि होइनन् । लोकतन्त्रका नयाँ राजा, महारानी, युवराजहरू जन्मने प्रयास नभएको होइन तर यी सबैलाई हैसियत बताइदिने काम पनि यही लोकतान्त्रिक व्यवस्थामै भएको छ । आज गद्दीमा बसेर शासक झैँ हुंकार गर्दै आफूलाई बेग्लै संसारबाट आए झैँ फुर्तीफार्ती गर्नेहरू जेलका चिसा छिँडीमा बस्न पुगेको पनि देखेकै छौं । समय लाग्ला तर दोषी उम्कन नदिने व्यवस्था यही लोकतन्त्र नै हो ।
आफूमा निहित अधिकार कोही एकजनामा लगेर बिसाउने कुरामा कदापि समर्थन जनाउन सकिँदैन । नागरिकबाट पुनः रैतीमै परिवर्तीत हुने चाहना मानिसले राख्नै सक्दैन । विश्वेश्वरप्रसाद कोइरालाले जहिले पनि भन्ने गर्नुहुन्थ्यो–मानिस ब्रेडबाट होइन, ब्रेनबाट सञ्चालित हुनुपर्दछ । कसैको भक्तिगानबाट जीवन धान्ने व्यवस्थाको पक्षधर भएर साँझ बिहानै खीर खानुभन्दा स्वतन्त्रतासहितको एकछाक ढिँडोमा रमाउनु नै मानवीय स्वभाव हो । खान बस्न त कुनै अपराध गरे जेलमा मजैले पाइन्छ ।
लोकतन्त्र पुनःस्थापित भएपछि पलाएका विकृतिमा मात्रै ध्यान जाँदा सबै बिग्रिए जस्तो भएको हो । मानिसमा पलाएको चेतना, नेपाली जनताको जीवनस्तरमा आएको परिवर्तन, जनताको बढेको क्रयशक्ति आदि तिर हेर्ने हो भने लोकतन्त्रले सन्तुष्टि दिन्छ । यदाकदा देखिएका विकृत मानसिकतालाई पराजित गर्ने र सच्चा लोकतन्त्रवादीहरूका हातमा सत्ता सुम्पने अधिकार त जनतामै निहित छ । भ्रष्टाचार गरेकाहरूलाई विसं २०८४ को चुनावमा हराइदिऔं न, टन्टै खलास ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच