
काठमाडौं । डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अघि बढाइरहेको बताइएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी उक्त प्रतिवेदनमा जापान र संयुक्त अधिराज्यका सरकारको सहयोगमा सञ्चालित वित्तीय सेवाहरूमा पहुँच र कोरियाली सरकारको सहयोगमा सञ्चालित नेपालमा डिजिटल वित्तीय सेवाहरूमार्फत् नेपालको डिजिटल वित्तीय सेवाहरूको विस्तारमा उल्लेखनीय प्रगति भएको उल्लेख छ ।
प्रतिवेदनले राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीति (एनपिएसडिएस), खुद्रा भुक्तानी रणनीति कार्यान्वयन र प्रभावकारी विद्युतीय भुक्तानी कारोबारलाई विशेषगरी सेवाबाट वञ्चित समुदायका लागि सहज बनाएको डिजिटल भुक्तानी प्लेटफर्महरूको वृद्धिलगायतका प्रमुख कोसेढुंगाहरूमाथि प्रकाश पारेको छ ।
दक्षिण एसियाका लागि आइएफसीका प्रबन्धक ग्रेगरी स्मिथले भन्नुभयो, ‘डिजिटल वित्त एउटा गतिशील र द्रुत गतिमा विकसित हुँदै गइरहेको क्षेत्र हो । यस प्रतिवेदनले वित्तीय संस्था र नियामकहरूलाई डिजिटल वित्त विकासको सिंहावलोकन प्रदान गर्छ, साथै नेपालको वित्तीय सेवा उद्योगका लागि स्वस्थ र दिगो डिजिटलाइजेसन यात्रा प्रवद्र्धन गर्न मद्दत गर्ने अन्तर्दृष्टिहरू प्रदान गर्छ । राष्ट्र बैंकसँगको साझेदारीमा हाम्रो लक्ष्य डिजिटल वित्तीय प्रणाली सुदृढ पार्नु, वित्तमा पहुँच बढाउनु र सबैका लागि आर्थिक वृद्धिलाई अगाडि बढाउनु हो ।’
विगतको एक दशकमा द्रुत इन्टरनेट विस्तार, प्राविधिक नवप्रवर्तन र विद्युतीय भुक्तानीको बढ्दो प्रयोगका कारण नेपालको वित्तीय प्रविधिमा प्रगति देखिएको छ । उल्लेखित विकासक्रमहरूले वित्तीय परिदृश्यलाई नयाँ आकार दिने काम गरेका छन्, जसले गर्दा व्यवसाय र व्यक्ति दुवैका लागि नयाँ अवसरहरू सिर्जना भइरहेका छन् । आर्थिक वर्ष २०१९/२० र आर्थिक वर्ष २०२१/२२ को अन्तिम महिनाका तथ्यांकहरूलाई तुलना गर्दा डिजिटल भुक्तानी १२५ प्रतिशतले बढेको देखिन्छ, जुन दुई सय ८० खर्ब अर्थात् २१ बिलियन अमेरिकी डलरबाट बढेर छ सय २० खर्ब अर्थात् ४७ बिलियन अमेरिकी डलर पुगेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो, ‘डिजिटल वित्तीय सेवाहरूले वित्तीय समावेशीकरण सम्भव बनाउन, लागत घटाउन र दक्षतामा सुधार ल्याउन ठूलो सम्भावना प्रदान गर्छन् ।
आइएफसीसँगको हाम्रो लामो समयदेखिको साझेदारीले यी अत्यावश्यक सेवालाई प्रत्यक्षरूपमा र प्रशासन तथा निजी क्षेत्रसँगको साझेदारीमार्फत् सबै नेपालीहरूका लागि थप समतामूलक वित्तीय भविष्य सिर्जना गर्न धेरै व्यक्तिहरूसम्म पु¥याउन मद्दत गर्नेछ ।’ प्रतिवेदनले डिजिटल वित्तीय सेवाहरूमा भएको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै डिजिटल पूर्वाधार, वित्तीय साक्षरता र साइबर सुरक्षामा बढ्दो लगानीसहित विकासका अवसरहरू पहिचान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच