माओवादीले भन्यो : चीनले जारी गरेको नक्शाबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छ

'१२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्नुपर्छ'

Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्शा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताउनुभएको हो । उहाँले नेपाली भूमि नेपालको नक्शामा नदेखाइएको यस विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कुटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चीनले जारी गरेको नक्शाको सम्बन्धमा त्यो के भयो ? किन त्यस्तो हुन गयो ? किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? यसको बारेमा त कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । मैले हिजो त्यो जारी भएको सुनेदेखि बुझ्दाखेरी पहिलाको सरकारले जानकारी दिएको थियो भन्ने छ । कुटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझावपनि छ । मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । र यसबारेमा प्रष्ट हुनुपर्छ । सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट गर्नुपर्छ र यो विषय त्यसरी पहलकदमी अगाडी बढाउनुपर्छ भन्ने लाग्छ ।’

प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताउनु भयो । उहाँले औपचारिक र संस्थागत रुपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताउनु भयो । माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘म नै सभामुख भएको बेलामा १२ बुँदे घोषणापत्र जारी भएर त्यो पारित भएको छ । अहिले हाम्रो पार्टीको लाइन के हो त भन्दाखेरी त्यो व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । किनभने त्यो हाम्रो सार्वभौमसत्ता सम्पन्न संसदले पास गरेको विषय हो नि । त्यो प्रष्ट रुपमा, संस्थागत रुपमा, औपचारिक रुपमा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । त्यसो गरेपछि मात्रै वास्तवमा यो कार्यान्वयन सहज हुनसक्छ । किनभने जनतामा उठेका प्रश्नहरु स्पष्ट हुनुप¥यो । अरु धेरै कुरा भन्दापनि त्यहाँ पास भएको १२ बुँदे घोषणापत्र सम्झौताको अंग बन्नुपर्छ भन्ने छ । त्यसै अनुसार जान्छ ।’

उहाँले वर्तमान सत्तारढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताउनु भयो । उहाँले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?