महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र आज राष्ट्रपतिबाट समुदघाट्न हुने

हिमालय टाइम्स
Read Time = 8 mins

पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका विभिन्न परिचयमध्ये एक हो- धार्मिक र सांस्कृतिक शहर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम प्रायः हरेक दिन कुनै न कुनै धार्मिक अथवा सांस्कृतिक कार्यक्रमहरूको साक्षी बनेर बसिरहेको छ । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा जमघट पनि ठूलै हुन्छ । ठूलो जमघटलाई एकै ठाउँमा बस्न लगाएर सभा वा कार्यक्रम आयोजना गर्न त्यो बेला आधुनिक सभागृहको अभाव जनकपुरधामलाई खट्किरहेको थियो । अनि एउटा परिकल्पना तयार भयो- सरकारकै आयस्रोतबाट जनकपुरधाममा ठूलो र आधुनिक सभागृह निर्माण गर्ने ।

२०५७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारबाट भएको निर्णयबमोजिम जनकपुरधाममा स्वर्गीय महेन्द्रनारायण निधिको स्मृतिमा मिथिला संस्कृति केन्द्र स्थापना गर्ने परिकल्पना तयार भयो । करिब २.१५ बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक केन्द्र परिसरभित्र पुस्तकालय भवन, संग्रहालय ब्लक, कम्पाउण्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, दुई सयजना क्षमताको कन्फरेन्स हल र ६ सय जना क्षमताको सभा हललगायतका संरचना रहेका छन् । केन्द्र परिसरभित्र रहेको सांस्कृतिक सभा हललाई सञ्चालनमा ल्याउनका लागि फिनिसिङ, कार्पेट, कुर्सी जडान, रङरोगन, बत्ती जडानलगायत आवश्यक कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत् निर्माण कार्य सम्पन्न भई सम्पूर्ण संरचना सञ्चालनयोग्य अवस्थामा आइसकेको छ ।

हालसम्म केन्द्रभित्र विभिन्न संरचना निर्माणका लागि १२ करोड २४ लाख ७९ हजार ३४० रुपैयाँ (भ्याटबाहेक) खर्च भएको कार्यालयले जनाएको छ । दुई दशकभन्दा अघि गरिएको त्यो परिकल्पनाले यतिबेला आएर पूर्णता पाउँदै छ । विभिन्न आरोह र अवरोहहरू पार गर्दै शिलान्यास भएको लगभग २३ वर्षपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ पूर्ण आकार लिई अहिले ठडिएको छ । र, यो सांस्कृतिक केन्द्र आज(सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दनको साक्षी बन्ने तरखरमा छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक राजधानीबाहिर जाँदै हुनुहुन्छ । राजधानीबाहिर आफ्नो पहिलो भ्रमण उहाँले जनकपुरधामबाटै सुरू गर्ने निधो गर्नुभएको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा गरेपछि राष्ट्रपति पौडेल वडा नम्बर ४ को ‘तिरहुतिया गाछी’ स्थित ‘महेन्द्रनारायण मिथिला सांस्कृतिक केन्द्र’ पुग्ने कार्यक्रम छ । पौडेलले ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ को उद्घाटन गर्ने कार्यक्रम छ । र, त्यही सभागृहमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरवासीका तर्फबाट उहाँको नागरिक अभिनन्दन गर्ने तय भएको छ ।

तीन दिनअघि उपमहानगरपालिकाले आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय बैठकले राष्ट्रपति पौडेलले सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने तथा त्यही हलमा उहाँको नागरिक अभिनन्दन गर्ने निर्णय गरेको थियो । ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माणका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको योगदान छ । उपप्रधान तथा गृहमन्त्री छँदा र त्यसपछि पनि उहाँले भवन निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई सधँै दबाब दिइरहनुभएको थियो । राष्ट्रपति पौडेलले ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ उद्घाटन गर्ने भएपछि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता निधि शनिबार नै जनकपुरधाम पुगिसक्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको ठीक दक्षिणतर्फ रहेको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माणका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६५ असार ३० गते सात करोड २४ लाख ६८ हजार ८८९ को ठेक्का लगायो । ठेक्का पाउने निर्माण कम्पनी थियो कालिका रमण जेभी । ६ सय मानिस बस्न सक्ने सिट क्षमता भएको सभाहल तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा भए पनि पूर्णता पाउन दुई दशक बढी समय लाग्यो । पटक-पटक सम्झौताको म्याद थप हुँदै अन्ततः ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ तयार भएको छ ।

भवन हस्तान्तरणबारे ‘अन्योलता’
निर्माण कार्य सम्पन्न भइसकेपछि भवन हस्तान्तरणको विषयबारे अझै अन्योलता देखिएको छ । निर्माणपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ स्थानीय तह वा प्रदेश कुन निकायलाई जिम्मा लगाउनेबारे अझै टुंगो लाग्न नसकेको हो । कतिपयले सांस्कृतिक केन्द्रलाई स्थानीय तहको जिम्मा लगाउनुपर्ने तर्क गरेका छन् भने प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने राय पनि आएको छ । हस्तान्तरण गर्ने निकायको टुंगो नलाग्दासम्म तत्कालका लागि सांस्कृतिक केन्द्र शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको मातहत नै रहने भएको छ । इकाई कार्यालयका प्रमुख प्रदीप खनालले ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ अहिलेका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय मातहत रहने कार्यालय प्रमुख प्रदीप खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?