
काठमाडौं । रमा-कृष्ण सिर्जना प्रतिष्ठानले साहित्य, संगीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई सम्मानित र पुरस्कृत गरेको छ । काठमाडौंमा भएको विशेष कार्यक्रममा प्राडा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा क्रमशः २०८० र २०८१ सालका लागि कवि भवानी घिमिरेस्मृति रमा-कृष्ण साहित्य सम्मानबाट साहित्यकार तथा समालोचक प्राडा.चूडामणि बन्धु र प्राडा.अभि सुवेदीलाई सम्मान अर्पण गरिएको थियो । डा.त्रिपाठीले वीर झागल गुरुङस्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कारबाट संगीतसाधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई पुरस्कृत गर्नुभयो भने डा.हर्क गुरुङस्मृति रमा-कृष्ण विज्ञान/प्रविधि पुरस्कारबाट वैज्ञानिक, अन्वेषक डा.मनीषराज पाण्डे र डा.इन्द्रप्रसाद सुवेदीलाई पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले रमा-कृष्ण सिर्जना प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, कला र विज्ञान क्षेत्रका साधक, अन्वेषकहरूलाई यसरी नै सम्मानित पुरस्कृत गर्दै आउनु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भवानी घिमिरे, वीर झागल गुरुङ र डा.हर्क गुरुङका योगदानलाई पनि स्मरण गर्नुभयो । यी सम्मान र पुरस्कारमा क्रमशः पन्ध्र हजार र दश दश हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेका थिए ।
प्राडा.चूडामणि बन्धुले आफू पछिल्लो समयमा नेपाली बालसाहित्यका क्षेत्रमा क्रियाशील रहेको जानकारी गराउँदै प्रतिष्ठानले साहित्य, संगीत र विज्ञान क्षेत्रमा योगदान गरेका स्रष्टा साधकलाई खोजेर सम्मानित पुरस्कृत गर्नु उल्लेखनीय रहेको बताउनुभयो ।
प्राडा.अभि सुवेदीले प्रतिष्ठानले सम्मानित गरेकामा खुशी व्यक्त गर्दै बाबुआमाका नाउँमा संस्था स्थापित गर्नु र भवानी घिमिरे, झागल गुरुङ र डा.हर्क गुरुङजस्ता अग्रजको स्मृतिमा सम्मान, पुरस्कार स्थापना गर्नु प्रशंसायोग्य रहेको धारणा राख्नुभयो । बुलु मुकारुङले गीतसंगीतका क्षेत्रमा आफूले गरेको कार्यको स्मरण गर्दै पुरस्कृत भएकामा खुशी व्यक्त गर्नुभयो ।
राजकुमार श्रेष्ठले आफूले यहाँसम्म आइपुग्न गरेको संघर्षका बारेमा जानकारी गराउँदै संगीतसम्राट् अम्बर गुरुङको सान्निध्यले आफू नेपाली अर्केष्ट्रा संगीतमा लागेको बताउनुभयो । डा.इन्द्रप्रसाद सुवेदीले आफूले कमिलाका बारेमा गरेको अनुसन्धान र मानवजीवनका लागि कमिलाको महत्वबारे जानकारी गराउँदै कमिलाबारेको अनुसन्धानले पनि नेपाललाई विश्वमा चिनाउन सकिने कुरा बताउनुभयो ।
डा.मनिषराज पाण्डेले आफू पनि पुरस्कृत भएकामा खुशी व्यक्त गर्दै प्रकृति तथा वातावरण संरक्षणका क्षेत्रमा आफू अझ क्रियाशील रहन प्राप्त पुरस्कारबाट प्रेरित रहेको बताउनुभयो । कार्यक्रममा डा.गीता त्रिपाठी, डा.इशान गौतम र डा.अञ्जना सिंहले सम्मानित पुरस्कृत प्रतिभाका बारेमा परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । लक्ष्मी उप्रेतीको कवितासंग्रह ‘तरगिंत धुन’को अंग्रेजी अनुवाद ‘Ripples या Emotion’ को विमोचन गरिएको थियो । विमोचित कृतिका बारेमा समालोचक डा.बलराम अधिकारीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति इ.महेन्द्रबहादुर गुरुङले सम्मान र पुरस्कार ग्रहण गरिदिएकामा खुशी र कृतज्ञता व्यक्त गर्दै अग्रज स्रष्टाहरूका तीनवटा कविता वाचन गर्नुभएको थियो । प्रतिष्ठानका महासचिव तथा कार्यक्रमका सहजकर्ता यादव भट्टराईले नेपाली समाजका विशिष्ट साधक अन्वेषकहरूले सम्मान पुरस्कार ग्रहण गरिदिनुभएर रमा-कृष्ण सिर्जना प्रतिष्ठान स्वयं सम्मानित भएको बताउनुभयो ।
प्रतिष्ठानका सचिव सीताराम गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष लक्ष्मी उप्रेतीले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहको अन्त्यमा अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा समूहले राजकुमार श्रेष्ठको निर्देशन र सुधाकर वस्तीको सहसंयोजनमा वृन्दवादन प्रस्तुत गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच