जेठबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय, कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म

Read Time = 6 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । हाललाई परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी ९ः३० देखि ५ः३० बजे कार्यलय समय तोक्ने र सातामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको छ,’ कार्कीले भन्नुभयो । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ ।

सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीतन्त्रमा उत्साह छाएको बताउनुभयो । सरकारले खर्च घटाउनका लागि गरेको निर्णयमा विरोध गर्नु जायज नहुने धारणा राख्नुभयो ।

मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआइजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको छ ।

खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोगको आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सरकारले सिञ्चाइ व्यवस्थापनका लागि मोडालिटी सम्बन्धमा बंगललादेशको अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय पनि गरेको छ । सिन्धुपाल्चोक जिल्ला साबिक तातोपानी गाविसअन्तर्गत पर्ने नौ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । यसैगरी, दक्षिण कोरियाको सिओलमा हुने १५औँ वल्र्ड फरेस्टी कंग्रेससम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेललाई स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

विद्यालय र कलेजमा पनि हप्तामा दुई दिन बिदा
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरू पनि साताको दुई दिन बिदा हुने भएका छन् । सरकारी कार्यालयँगै विद्यालय र कलेजहरू पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरू साताका बाँकी पाँच दिन भने बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछन् ।

विद्यालय तथा कलेजका कार्यालयहरू भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् । सरकारले परीक्षणका रूपमा आगामी जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान साढे नौ बजेदेखि साढे पाँच बजेसम्म गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?