टोलीमा फर्किए रोनाल्डो

Read Time = 3 mins

लिस्वेन । क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको टोलीमा फर्किनुभएको छ । नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई युरोकप २०२४ को छनोटका लागि टोलीमा समावेश गर्नुभएको हो । छनोटको समूह ‘जे’ मा रहेको पोर्चुगलले यो महिना दुई खेल खेल्दैछ । पोर्चुगलले २३ मार्चमा लिचेस्टाइन र त्यसको तीन दिनपछि लक्जेमवर्गसँग खेल्नेछ । त्यसका लागि रोनाल्डोलाई टोलीमा बोलाइएको हो ।

यो समूहमा पोर्चुगलसँगै लिचेस्टाइन, लक्जेमवर्ग, बोस्निया एण्ड हर्जगोभिना, आइसल्याण्ड र स्लोभाकिया रहेका छन् । सन् २०२२ को विश्वकपपछि ३८ वर्षीय रोनाल्डो पहिलोपल्ट टोलीमा फर्किनुभएको हो । पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले रुँदै मैदान छोड्नुभएको थियो ।

उहाँले पोर्चुगलका लागि १९६ खेलमा कीर्तिमानी ११८ गोल गर्नुभएको छ । हाल उहाँ साउदी अरेबियाको टोली अल नासरबाट खेल्दै हुनुहुन्छ । रोनाल्डोले अल नासरका लागि ९ खेलमा ८ गोल गरिसक्नुभएको छ ।

यस्तै, स्विडेन फुटबल फेडेरेसनले भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई एक वर्षपछि टोलीमा बोलाएको छ । स्विडेनले ४१ वर्षीय फरवार्डलाई युरोकप छनोटका लागि टोलीमा समेटेको हो । स्विडेनले यसै महिना (मार्च) को अन्त्यमा बेल्जियम र अजरबैजानसँग खेल्दैछ ।

घुँडाको चोटका कारण उहाँ इटालियन क्लब एसी मिलानको फरवार्ड सिजनको अधिकांश समय मैदानबाहिर हुनुहुन्थ्यो । इब्राहिमोभिचले पछिल्लोपटक सन् २०२२ मा विश्वकप छनोट प्लेअफमा पोल्याण्डसँग पराजित भएको खेल खेल्नुभएको थियो ।

सन् २०१६ को युरोकपपछि अन्तर्राष्ट्रिय फुटबल छाड्नुभएका ज्लाटन सन् २०२१ मा विश्वकप छनोटको दौरान नै टोलीमा फर्किनुभएको थियो । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका पूर्वफरवार्ड ज्लाटनले स्विडेनका लागि १२१ खेलमा ६२ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । उहाँ स्विडेनका सर्वकालीन शीर्ष गोलकर्तासमेत हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?