ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनहरुबाट १२ लाख बढी जरिवाना असुल

फाइल तस्वीर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनहरु बढेका छन् । जिल्लामा चालु आर्थिक बर्षको फागुन मसान्त सम्म २ हजार २६८ सवारी साधन कारवाहीमा परेका हुन् । ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनहरुमा सबै भन्दा बढी जीप रहेको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले जानकारी दिनुभयो । नाथकाअनुसार फागुन मसान्तका अनुसार १ हजार १२५ जिप, ५६१ मोटरसाइकल, २०४ ट्रक, १६८ ट्याक्टर, ५९ बस र अन्य १४८ गरी २ हजार २६८ ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा परेका छन् ।

ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनहरुबाट चालु आर्थिक बर्षको फागुन मसान्त सम्म १२ लाख बढी जरिवाना गरीएको छ । नियमको पालना नगर्ने एक हजार १२५ जिपबाट ६ लाख २५ हजार, ५६१ मोटरसाइकलबाट ३ लाख १५ हजार जरीवाना असुल भएको जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ । यस्तै २ सय ४ ट्रकबाट १ लाख ६५ हजार ५ सय, १ सय ६८ ट्याक्टरबाट ९४ हजार, ५९ बस कारवाहीमा पर्दा ३२ हजार जरीवाना असुल भएको छ भने अन्य १४८ सवारी साधनबाट ८१ हजार जरीवाना असुल भएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना हेलमेट मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी साधन हाँक्नेलगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका नाथले बताउनुभयो । ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा सम्झाईबुझाई गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला ट्राफिक कार्यालय बैतडीले सवारी चालकहरुले जथाभावी हर्न बजाउन थालेपछि हर्न निषेध होडिङ बोर्ड राखेको छ । जिल्लाका मुख्य बजार क्षेत्रमा हर्न निषेध होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख नाथले बताउनुभयो । जिल्लाको शाहीलेक, गोठलापानीलगायतका बजारमा हर्न निषेध होडिङ बोर्ड राखिएको हो । बजारमा सवारी चालकहरुले जथाभावी हर्न बजाउने भएकाले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?