कोहलपुर बसपार्कमा ‘बिजनेश टावर’ नबन्ने

Read Time = 5 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर नगरपालिकाले संरचना भत्काएको छोटो दुरीको बसपार्कमा तत्काल कुनैपनि संरचना निर्माण नहुने भएको छ । लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई हटाएर भत्काइएको संरचनामा तत्काल कुनै पनि संरचना नबन्ने भएको हो । हाल नगरपालिकाले डोजर लगाएरको भत्काइएको क्षेत्र खाली छ ।

बसपार्कबाट लामो तथा छोटो दुरीका यातायातका गतिविधि भने सञ्चालन भइरहेको छ । उक्त क्षेत्रमा कोहलपुर नगरपालिकाले व्यवसायिक प्रयोजनको लागि कोहलपुर बिजनेश टावर/कम्प्लेक्स निर्माण गर्ने तयारी थालेको थियो । तर, व्यवसायीहरुको व्यापक दबाब र सुझावपछि बसपार्क क्षेत्रमा कोहलपुर बिजनेश टावर/कम्प्लेक्स निर्माण गर्ने योजनाबाट नगरपालिका पछि हटेको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले तत्काल कोहलपुर बिजनेश टावर\कम्प्लेक्स नबन्ने बताउनुभयो । उहाँका अनुसार कार्यपालिकाद्धारा गठिन अध्ययन कार्यदलको सुझाव र व्यवसायीहरुको माग अनुसार तत्काल बसपार्कमा कुनैपनि संरचना बन्ने छैनन् । उहाँले बसपार्कमा रहेका संरचना हटाएपछि तत्काल काम गर्न खोजेपनि सबैको सुझावको आधारमा तत्काल कुनैपनि संरचना नबनाउने निष्कर्षमा नगरपालिका पुगेको सुनाउनुभयो ।

हरियाली बसपार्क टोल विकास संस्थाले आयोजना गरेको नगरप्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा आचार्यले भन्नु भएको थियो । ‘हामी समिति निर्माण गरेका थियौँ । समितिले अध्ययन र सुझाव पेस गरेको छ । व्यवसायीहरुको समेत कुरा हामीले सुन्यौ । कोहलपुर बिजनेश टावर /कम्प्लेक्स तत्काल बन्दैन । तत्कालको लागि प्रक्रिया स्थगत भएको जानकारी गराउन चाहन्छु ।’ त्यहाँ संरचना निर्माण गर्दा टोल विकास संस्था र व्यवसायीसँग छलफल विना कुनैपनि संरचना नबन्ने नगरप्रमुख आचार्यको भनाइ छ ।

कोहलपुर नगरपालिकाद्धारा गठित वडा नम्बर १२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाह संयोजक रहेको समितिले बसपार्कमा निर्माण गरिने संरचनाको सम्बन्धमा गरेको अध्ययन र सुझाव मागपछि त्यहाँ तत्काल कुनैपनि संरचना निर्माण गर्न नहुने निष्कर्ष निकालेको हो । समितिले बसपार्क क्षेत्रमा रहेका व्यवसायीहरुलाई सुझाव माग गरेको थियो । व्यवसायीहरुले नगरपालिकाले संरचना भत्काएपछि व्यवसायिक चहलपहल कम भएको र आगामी दिनमा संरचना बनाउँदा नगर र व्यवसायीहरुको हितमा हुनेगरी निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । हरियाली बसपार्क टोल विकास संस्थाका अध्यक्ष टेकराज आचार्यले बसपार्क क्षेत्रमा संरचना हटाइएको ठाउँमा आपसी समझदारीमा संरचना निर्माण गरि छिटो सञ्चालनमा ल्याउन आफूहरुले माग गरेको बताउनुभयो । उहाँका अनुसार अहिले त्यहाँ धुलो र माटोका कारण अन्य व्यवसायी र यात्रुहरुलाई असर गरिरहेको छ । त्यसतर्फ स्थानीय सरकारले उचित ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बसपार्क क्षेत्रलाई व्यवसायिक प्रयोजनको लागि प्रयोग गर्न पनि नगरप्रमुखसँग व्यवसायीहरुले माग गरेका छन् । उक्त क्षेत्रमा मालपोत तथा नापी लगायतका कार्यालय राखेर प्रयोगमा ल्याउन सकिने व्यवसायीको माग र सुझाव छ । यस्तै यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा ल्याउन पहल गर्न र त्यसमा आफूशरु साथ दिन तयार रहेको व्यवसायीहरुले माग गरेका छन् । कार्यालयहरु आएमा अहिले प्रयोगमा आइरहेको बसपार्र्कको संरचनामा प्रयोग गर्न दिन आफूहरुको तयार रहेको उनीहरुको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?