निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रहः व्यापारमा भन्दा उत्पादनमुलक उद्योगमा लगानी केन्द्रित गर्नुस्

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारीता र पारदर्शीता बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारका पनि कमी कमजोरीहरु रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ । समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक,निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ । त्यसैले सरकारको प्रभावकारीता बढ्न जरुरी छ । पारदर्शीता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरु गर्छौं ।’

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरुको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास,रुपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको बताउनु भयो । उहाँले सरकारले सामाजिक सुरक्षा,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताउनु भयो । उहाँले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विश्व अर्थतन्त्रको माहोलमा ४ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुनेछ । तर अन्य धेरै देशहरुमा त्यस्तो अवस्था छैन । यदि अन्तर्राष्ट्रिय परिस्थिति युद्धको बादल अन्त्य भयो भने नेपालमा आर्थिक,रुपान्तरण,पुँजी विकास विकास,उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न सकिन्छ । वर्तमान आर्थिक समस्या समाधान गर्न अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरु अपनाइरहेको छ । अल्पकालमा सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने हुनेछ । साधरण खर्चलाई निर्ममतापूर्वक कम गर्छौं । साधरण खर्चमा तलव भत्ता मात्रै छैन । सामाजिक सुरक्षा,शिक्षा स्वास्थ्य लगायतका सुविधाहरु रहेका छन् । त्यसमा सरकारले खर्च कम गर्न सक्दैन । सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाएर आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्नेछ । निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने हो । सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने हो । कानूनी कठिनाईहरुलाई सहज बनाउने हो । प्रतिष्पर्धी वातारण सुनिश्चित गर्ने हो । वैदेशिक लगानीको प्रवर्द्धन गर्ने हो ।’

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले काभिड-१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताउनु भयो ।

उहाँले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताउनु भयो । उहाँले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समिक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गाको कित्ताकाट सहज बनाउँदा मात्रै पनि बजार सहज हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?