चुनुमाया पार्कलाई हरियाली बनाउन वृक्षारोपण 

हिमालय टाइम्स
Read Time = 4 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित चुनुमाया पार्कलाई हरियाली बनाउन वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू-संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ र भुतखोला सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा यहाँ वृक्षारोपण गरिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार दोभान तिनाउ खोलाको किनारा रहेको चुनुमाया पार्क सुख्खा क्षेत्रलाई केही बर्ष भित्रै हरियाली शितल बनाउने र तिनाउ नदी  बस्ती भित्र नपसोस् भन्ने अभियानका साथ वृक्षारोपण गरिएको छ ।

‘पुथ्वीको संरक्षण : दिगो प्रकृतीमैत्री जीवनयापन’ भन्ने नाराका साथ कार्यक्रममा सहभागी अतिथिहरुलाई पिपलपाते व्याज र तेजपातको माला लगाई स्वागत गरिएको थियो । सधैं फुलको माला लगाउने अतिथीहरूले तेजपातको माला लगाउँदा फरक अनुभुति गरेका थिए । चुनुमाया पार्कमा शित्तल प्रदान गर्ने प्रकृतिका स्वामी, वर पिपल, लगायतका ठूला प्रकृतिका रुख विरुवा रोपिएको थियो । लगाएका विरुवाहरू भूतखोला सामुदायिक वन र सव डिभिवन वन कार्यालय पाल्पाले रेख देख तथा हुर्काउने जिम्मा लिएका छन् । कार्यक्रममा सहभागी मन्त्री, सचिव, महाशाखा प्रमुख लगायतका अतिथीहरूले नेमप्लेट राखेर वृक्षारोपण गरेका थिए ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले तिनाउ वन समन्वय समितिलाई विभिन्न किसिमका विरुवा हस्तान्तरण गर्दै वातावरणको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने भएकाले हामी सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । हामी सबैले आ–आफ्नो क्षेत्रबाट  बोट विरुवा लगाऔ, अनावश्यक रुख कटान नगरौ, रुख विरुवा प्रशस्त भएमा बाढी पहिरो भू-क्षय नियन्त्रण हुने भएकाले विश्व वातावरण दिवसले हामी सबै मानवलाई सचेत बनाएको मन्त्री हमालले बताउनुभयो । मन्त्री हमाल सहितको वन मन्त्रालयको टोलीले भूतखोला झरना, जैविक विविधताको सत्यवती ताल, कोल्डाँडाको तेजपात खेतीको अवलोक गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्तीमगरले पाल्पाको तिनाउको बन क्षेत्र, तिनाउ नदी रुपन्देहीको बुटवलदेखि भैरहवासम्मका जनताको प्राण भएको बताउनुभयो । रुपन्देहीका जनताको पिउने पानीदेखि अरबौं रुपैयाँको राजश्व संकलन गर्ने आधार नै तिनाउ नदी भएकाले  संरक्षणका लागि रुपन्देहीको सक्रियता हुनुपर्ने सांसद घर्तीले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दुर्गाबहादुर कार्की, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख दिपक ज्ञवालीले विश्व वातावरण दिवसको महत्व, तिनाउको बन क्षेत्रले खेलेको भूमिका, समुदायस्तरबाट चाल्नुपर्ने कदमका बारेमा जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?