‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारी’मा कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्र्रहका जस्ता कृति पाठकमाझ ल्याउनुभएका स्रष्टा खेमनाथ दाहालको नयाँ कृति आत्मपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको छ । उहाँका तीन कृतिहरू रश्मि खण्डकाव्य, योद्धा काव्य र श्वेतपत्र महाकाव्य पद्यात्मक छन् भने अन्य श्रद्धाञ्जलि, हावर्डको चौतारीमा र म त बन्दी भएको छु तीन कृति गद्यात्मक छन् । यतिबेला उहाँको नवीनतम् कृति ‘अहोरात्र’को विद्वत वर्गमा चर्चा-परिचर्चा भइरहेको छ । आफ्नो पछिल्लो कृति ‘अहोरात्र’ बहुआयामिक कृति भएको बताउनुहुने स्रष्टा खेमनाथ दाहालसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको पुस्तक वार्ताको संक्षिप्त अशंः-
कविताका गद्य र पद्य विधामा एक खालको उचाइ चुम्नु भएको यहाँ कसरी आख्यान लेखनतिर आकर्षित हुनुभयो ?
उचाइको मापन कसरी गर्ने हो त्यो मापनको आफ्नै प्रक्रिया होला । नियात्रा कृति ‘यात्राको सिकर्नी’ पूर्वका मेरा सबै कृति कविता विधामा सीमित छन् । त्यसमा पनि तीन कृति रश्मि खण्डकाव्य, योद्धा काव्य र श्वेतपत्र महाकाव्य पद्यात्मक छन् भने अन्य श्रद्धाञ्जलि, हावर्डको चौतारीमा र म त बन्दी भएको छु तीन कृति गद्यात्मक छन् । मेरो सोचाइमा कविताको व्यापक रूप नै आख्यान हो । कवितामा जुन कुरा एक शब्दमा भनिन्छ त्यही कुरालाई सरल र बोधगम्य बनाएर आख्यानमा लेखिन्छ । म कविता लेख्दालेख्दै अहोरात्र र कृष्टिनाको प्रेम यी दुई कृतिको टिपोट लेख्ने सन्दर्भमा थाहै नपाई आख्यानतर्फ लागेछु तर संयोग यात्राको सिकर्नी (नियात्रा संग्रह) पहिले प्रकाशीत हुन पुग्यो । हुन त ‘गद्य कविनां निकषं वदन्ति’ महाकवि दण्डीको यो भनाइ जो सुसुप्त भएर मेरो मनमा बसेको छ त्यसले पनि कताकता मलाई आकर्षित गरेर आख्यानतर्फ लागँे कि ?
हालै यहाँको पहिलो उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ ल्याउनुभएको छ, पुस्तक पाठकले कत्तिको मन पराएको पाउनुभयो, के–कस्ता प्रतिक्रिया आइरहेका छन् ?
अहोरात्र भरखरै मात्र पाठकको हातमा पुग्न सुरु भएको छ । अहिलेसम्म जति प्राज्ञ र बौद्धिक पाठकका हातमा पुगेको छ उहाँहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । वास्तवमा मैले सोचेभन्दा अझ बढी सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छु । कतिपयले श्वेतपत्रको मर्यादा कायमै राख्न सफल भएकोमा धन्यवाद दिएर थप हौसला बढाइदिनु भएको छ जसले म उत्साहित भएको छु । तथापि ‘वादे वादे तत्व बोध’ भनिन्छ त्यसैले म अझै प्रतीक्षारत छु विविध प्रतिक्रियाको ।
कसरी जन्मियो ‘अहोरात्र’ ?
वास्तवमा म अमेरिका पुगेदेखि नै केही लेख्न चाहन्थे । पहिलो पटकको भ्रमणमा हावर्डको चौतारीमा लेखेँ तर धित मरेको थिएन । त्यसपछिका भ्रमणमा नियात्रा लेख्न खोजेँ तर चित्त बुझ्दो फुरेन । सायद तेस्रो पटकको भ्रमणमा एकजना (कल्चरमा पि.एच.डी.गरिरहेका) मुस्लिम विद्यार्थीसँगको भेटघाट, छलफल र चाथौ पटकको भ्रमणमा फराजको भेटघाटका अतिरिक्त बसाइका क्रममा अनुभूत भएका विविध घटनाले मलाई लेख्न बाध्य बनाए र मैले यो कृति तयार गरेँ ।
‘अहोरात्र’ बहुआयामिक कृति हो । यसले एकातिर विश्वलाई धार्मिक सहिष्णुताको मार्ग प्रदर्शन गर्दछ भने अर्कोतर्फ अवैधको पीडा, नेपाली नेपालीबीचको विभेदताको गाथा, प्रवासीबीचको विभाजन र अन्त्यमा अर्को पिँढीका लागि विशेषतः आफ्नो संस्कारको विविध जानकारीलगायत शोधमूलका रूपमा तयार पारिएको कृति हो भन्ने कुरा नै सन्देशका रूपमा मैले यो कृतिमा प्रवाह गर्न खोजेको छु । तसर्थ हरेक दर्शन र साहित्यपे्रमी पाठकलाई यो कृति एकपटक पढ्न सादर अनुरोध गर्दछु ।
यो कृति पाठकसमक्ष ल्याउन कति समय लाग्यो ?
यो कृति तयार पार्न झण्डै पाँच/छ वर्ष लाग्यो होला । यो कृति लेख्न सुरु गरे पनि लेखौं कि नलेखौंको अवस्थामा अल्मलिएँ म धेरै दिन धेरै वर्ष । फेरि अध्ययन पनि आवश्यक थियो आफूले सोचेजस्तो कृति प्रकाशित गर्न ।
पुस्तक लेख्ने बेलाका लक्षित पाठक को-को हुन् भन्ने सोच्नुभएको थियो ?
यो कृति मैले कालजयी बनाउने हिसाबले लेखेको छु । यो केवल एकवर्ग मात्र लक्षित नभएर वहुवर्ग लक्षित कृति हो भन्दा अतिशयोक्ति नहोला । शास्त्री, विद्वतवर्ग, अमेरिका जान चहाने विद्यार्थीवर्ग, छोराछोरी अमेरिका पठाउन उत्सुक अभिभावकदेखि प्रवासमा रहेका वर्तमान तथा भावी पुस्तासम्म यो कृतिका पाठक हुने अपेक्षा मैले गरेको छु ।
नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
सरसरती हेर्दा नेपाली साहित्यको वर्तमान अवस्था उन्नतोन्मुख देखिन्छ । प्रतिवर्ष लेखक बढेका छन् । हिजो नगन्य लेखकका केही कृतिहरूमात्र प्रकाशित हुन्थे भने आज प्रतिवर्ष झण्डै विभिन्न लेखकका ६ सयभन्दा बढी कृति प्रकाशित भइरहेका छन् । नेपालीभाषी जनसंख्याको आधारमा यी कृतिलाई कम मान्न सकिन्न । आज विश्वका हरेक देशका नेपालीभाषी पुगेका छन् र विश्वका कुनाकुनामा लेखक जन्मिरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पहुँच विश्वव्यापी भएको छ । अहिले आएर नेपाली साहित्यका स्तरको स्खलनका विषयमा
कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
सबै विचार समेटिएका कृति पढ्न रुचाउँछु । आफूलाई मनपर्ने मात्र नभएर यदाकदा चर्चाका विषय पनि मेरा रोचक विषय बन्छन् र खोजेर पढ्छु । पूर्वीय दर्शनयुक्त कृतिलाई अझ महत्व दिन्छु । आजकल दर्शनशास्त्र प्रिय लाग्न थालेको छ ।
पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
भरखरै श्री स्वामी करपात्रीजी महाराजको ‘माक्र्सवाद और रामराज्य’ (दोस्रो पटक) र प्रतिभा रायको ‘द्रौपदी’ पढी सकेँ । अहिले मिसन ‘र अ’ हातमा छ ।
धेरै पल्ट पढेको किताब ?
मन परेका कृतिलाई प्रायः दोहो¥याएर पढ्ने गरेको छु । ‘मुनामदन’, ‘तरुण तपस्वी’को कुरै नगरौ अन्यमा गोर्कीको ‘आमा’ र टाल्सटायको ‘युद्ध र शान्ति’लाई धेरै पटक पढेको छु ।
पढ्न मन लागेर नपाएको किताब ?
अहिले मलाई हिमवत् खण्डका विषयमा पढ्ने चासो बढेको छ र तत् सम्बन्धी कृतिहरूको खोजीमा छु ।
कतिबेला पढ्नुहुन्छ ?
निश्चित समय छैन । म हत्तपत्त पुस्तक वा पत्रपत्रिका रहित बस्तिन । प्रायः प्रातकालमा पढ्न कोसिस गर्छु ।
पुस्तकको छनोट कसरी गर्नुहुन्छ ?
विषयको आधारमा छनोट गर्छु जस्तो अहोरात्र लेख्दा कुरआन, बाइबल, भागवत, गीता, त्रिपिटक र इतिहास पढ्न बाध्य भएर पढेँ ।
कुनै पुस्तकले सोच नै परिवर्तन गरिदिएको छ ?
भागवत, गीता र त्रिपिटकका केही अंश पढेपछि माक्र्सवाद अधुरो लाग्न थाल्यो र पूर्वसोचमा कताकता परिवर्तन भएको महसुस हुन थालेको छ । यस कुरालाई मैले अहोरात्रमार्फत केही उजागर गरेको पनि छु ।
यौनलाई प्राथमिकतामा राखेर प्रकाशित भएका पुस्तकहरू पढ्नुभएको छ ?
युवा कालमा वात्सायनको कामसूत्रदेखि घिसिङको नीलो चोलीसम्म यथेष्ठ कृति पढेको छु ।
एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन वर्जित छ भन्छन् । यहाँको विचारमा ?
‘अति सर्वत्र वर्जयेत्’ भन्नुमात्र उचित होला । मेरो विचार रसविनाको साहित्य कसरी र कस्तो साहित्य होला र ? नव रस शृंगार, वीर, करूण, हास्य, रौद्र, भयानक, वीभत्स, अद्भूत र शान्त त्यसै प्रादुर्भाव गरिएको होइन । मानवीय आध्यात्मिक र भौतिक आनन्दका लागि नै रसलाई प्रयुक्त गरिँदै आएको छ । शृंगार र यौनको अनन्याश्रित सम्बन्धलाई पृथक गर्न खोज्दा कतै सृष्टिको संरचनामा नै व्यवधान होला कि ? साहित्यमा यौनको कुरा गर्दा शृंगारयुक्त कालिदाशको मेघदूतलाई नजरअन्दाज गर्न नमिल्ला कि ।
कस्ता पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?
यो त पाठकको प्रकृति, प्रवृत्ति र सोचमा भरपर्ने कुरा हो । प्रथमतः मानिस आफूले जे जर्दा बढी आनन्द प्राप्त हुन्छ त्यही गर्न उद्यत् रहन्छ । तथापि मैले भन्नु पर्दा शिक्षाप्रद कृति पढ्न सुझाव दिन्छु ।
अहोरात्रसित जोडिएका कुनै रोचक सन्दर्भ ?
अहोरात्रको टिपोट गर्ने क्रममा फराजका प्रश्नमा बेलाबेला मैले सही उत्तर दिन नसकेर गरेको आलटाल जसलाई मैले अहोरात्रमा उल्लेखसमेत गरेको छु । यी प्रसंग सम्झेर बेलाबेला म आफैं उद्वेलित हुने गर्दछु ।
अन्त्यमा ‘अहोरात्र’ उपन्यासले दिन खोजेको वास्तविक सन्देश के हो र पाठकलाई के भन्न चाहनुहुन्छ ?
मेरो विचारमा यो बहुआयामिक कृति हो । यसले एकातिर विश्वलाई धार्मिक सहिष्णुताको मार्ग प्रदर्शन गर्दछ भने अर्कोतर्फ अवैधको पीडा, नेपाली-नेपालीबीचको विभेदताको गाथा, प्रवासीबीचको विभाजन र अत्यन्तमा अर्को पिँढीका लागि विशेषतः आफ्नो संस्कारको विविध जानकारीलगायत शोधमूलका रूपमा तयार पारिएको कृति हो भन्ने कुरा नै सन्देशका रूपमा मैले यो कृतिमा प्रवाह गर्न खोजेको छु । तसर्थ हरेक दर्शन र साहित्य पे्रमी पाठकलाई यो कृति एकपटक पढ्न सादर अनुरोध गर्दछु ।
Sundar antarvarta badhai x daju