नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिल पक्षको बहस सकियो

आजबाट प्रतिवादीका तर्फबाट बहस

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा दायर भएको मुद्दामा सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ । पीडित तथा वादीको तर्फबाट आइतबारदेखि बहस गरेका सरकारी वकिलहरूले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन् ।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गर्नुभएको थियो । त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरे लगायतले बहस गर्नुभयो । मंगलबार खाजा ब्रेकअघि नै सरकारी वकिल पक्षले बहस सकाएको छ । अब पीडित पक्षका निजी वकिलहरूले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

यसअघि, न्यायाधीश न्यौपानेले वादीतर्फबाट तीन दिन र प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिनको समय छुट्याउनुभएको थियो । थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्ने छ । जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरू त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउनेछन् । माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन सक्छ ।

यसअघि पक्राउ परेका अभियुक्तहरूको एकसाता लगाएर न्यायाधीश न्यौपानेले बयान गराउनुभएको थियो । पक्राउ परेकाहरू अधिकांशले आफूमाथिको आरोप भने अस्वीकार गर्दै आएका छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिवसमेत रहनुभएका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहनुभएका कांग्रेसका नेता बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङ्टावा शेर्पा पक्राउ पर्नुभएको छ ।

त्यसैगरी, हज समितिका अध्यक्ष शमशेर मियाँ, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अर्का बिचौलिया सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, बिचौलिया टंक गुरुङ, रामशरण केसी, बालकृष्ण खाँणका पिए नरेन्द्र केसी, बिचौलिया गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना अहिले हिरासतमा हुनुहुन्छ ।

कानुन व्यवसायीको तर्क- सुरक्षा खतराका कारण प्रतिवादीलाई थुनामै राखियोस्
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने दलील जाहेरवाला पक्षका कानुन व्यवसायीले अदालतसमक्ष गरेका छन् । काठमाडौं जिल्ला अदालतमा मंगलबार थुनछेक बहसमा भाग लिँदै जाहेरवालातर्फका कानुन व्यवसायीले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अभियुक्तहरूकै सुरक्षाका लागि पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने तर्क गर्नुभयो । ‘बाहिर आक्रोश छ, प्रतिवादीहरूकै सुरक्षाका लागि भए पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘प्रतिवादीहरूलाई धरौटीमा छाड्दा अदालत र न्यायप्रति नै वितृष्णा ल्याउन सक्छ ।’ यस्तो मुद्दामा कानुनी छिद्र प्रयोग गरियो भने यसले मुलुक र समाजलाई गम्भीर असर गर्ने उहाँले बताउनुभयो ।

अधिवक्ता हरिप्रसाद कँडेलले प्रतिवादीमध्येकै सानु भण्डारीले नाम लिएका अन्य राजनीतिक उच्च तहका नेताहरूमाथि पनि छानविनका लागि इजलासले आदेश दिनुपर्ने बताउनुभयो । अधिवक्ता राधिका चौलागाईंले पनि जाहेरवालाहरू निकै पीडामा रहेको र उनीहरू आक्रोशितसमेत रहेको भन्दै प्रतिवादीहरूलाई खतरा हुनसक्ने भएकाले थुनामै राख्न आदेश हुनुपर्ने तर्क गर्नुभयो ।

बयान लिइएको क्रमका आधारमा बहस
आज (बुधबार)बाट हुने अभियुक्ततर्फको बहस अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुनेछ । न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायी, त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्नेछन् ।
न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोक्नुभएको छ । अर्को बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत नेउपानेले जवाफी बहस गर्नुहुनेछ । सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुनेछ ।

थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको भन्दै ठगीसहित पाँच अभियोगमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । ३० मध्ये १८ अभियुक्त पक्राउ परेका छन् भने १२ अझै फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?