म्याग्दी । म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटाको नाश हुने गरेको छ ।
भू– तथा जलाधार ब्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भू–क्षय,नदी कटान र बाढी पहिरोका कारण वर्षेनी म्याग्दीका ६ वटै स्थानीय तहहरुबाट २५ लाख १५ हजार सात सय टन भन्दा बढी माटो बगेर जाने गरेको भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँले विगत पाँचवर्षदेखि यस वर्षको असार दोस्रो सातासम्म जिल्लामा बाढी पहिराले जिल्लामा दुई हजार पाँच सय १० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणको लागि बार्षिक एकसय ४० वटा निवेदन आउने भएपनि कार्यालयबाट १२ वटा निवेदनलाई बजेटले सम्वोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो ।
विकासका भौतिक पूर्वाधारहरु निर्माण गर्दा वातावरणीय पक्षलाई वेवास्ता गरिएको कारण म्याग्दीमा वर्षेनी बाढी र पहिरोको जोखिम बढ्दै गएको उहाँको भनाइ छ ।
“६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति बढेको छ”, उहाँले भन्नुभयो, “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।”
अन्नपूर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार एक सय ७३ टन, रघुगङ्गा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नपाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको कार्यालयले जनाएको छ ।
अध्ययन प्रतिवेदनका अनुसार मङ्गला गाउँपालिबाट ३३ हजार चार सय ६६ टन, मालिकाबाट एक लाख तीन हजार दुई सय ३० टन, धौलागिरि गाउँपालिकाको आठ लाख ९६ हजार चार सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षको दुई लाख ४५ हजार आठ सय ८६ टन माटो विभिन्न खोलानाला हँुदै बगिरहेका छन् ।
दुई हजार दुई सय ९७ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ । तीन प्रतिशत भू–भाग मात्र समथर छ । एकतीस बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका कार्यालयले जनाएको छ ।
तीन वटा जलाधार क्षेत्र र सात वटा उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७ दशमलव नौ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको छ । म्याग्दी, कालीगण्डकी र रघुगङ्गाले क्रमशः ५५, ३० र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ ।
वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले माथिल्लो तटीय क्षेत्रमा रहेको मुस्ताङमा केही वर्षयता अत्यधिक बर्सात हुँदा त्यसको असर म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका कालीगण्डकीको तटीय बस्तीमा देखिएको बताउनुभयो ।
“जलाधारीय दृष्टिकोणले अतिनै क्षतिग्रस्त अवस्थामा रहेको मुस्ताङमा विगत केही वर्षयता अत्यधिक पानी पर्न थालेको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको सतह बढ्दै जानु र सो क्षेत्रको गेग्रानको तल्लो तटीय क्षेत्रमा बढ्नु थप चिन्ताको विषय हो ।”
बाढी, पहिरो तथा नदी कटानजन्य समस्यालाई समाधान गर्न ग्रामीण सडक निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिमा अधारित सडक पाखो संरक्षण, अनियन्त्रितरुपमा बग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नुका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गर्न अध्ययन प्रतिवेदनमा सुझाव दिइएको छ ।
बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको जानकारी दिनुभयो ।
भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानवीय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेतीयोग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तीन बर्षमा म्याग्दी, पर्वत र बागलङमा बाढी पहिरोले एक सय २० जनाको ज्यान गएको समेत जानकारी दिनुभयो ।
उहाँले सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको बताउनुभयो । “तीन तहको सरकारले जलाधार संरक्षणमैत्री पूर्वाधार निर्माणमा जोड दिएमा दिगो विकासका पूर्वाधार निर्माण गर्न सजिलो हुन्छ ।’’ उहाँले भन्नुभयो । “प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।
जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिकाभित्र एक सय २८ पहिरोमध्ये २८ वटा ठूला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भूक्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच