हिमाद्वारा गाउँमै स्वास्थ्य शिविर सञ्चालन, चार सय बढीले लिए सेवा

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ४७४ जना लाभान्वित भएका छन् । सो गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालन भएको शिविरबाट यहाँका नागरिक लाभान्वित भएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो । स्त्रीरोग, भिडियो एक्सरे र हाडजोर्नी रोगको समस्या भएका स्थानीयवासीलाई प्रत्यक्षरूपमा गाउँमै सेवा दिनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी हाडजोर्नी र स्त्रीरोगका बिरामीले बढी सेवा लिएका छन् । महिलाको पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने समस्या भएका महिलालाई शिविरले राहत मिलेको छ ।’ गाउँका बढी महिला कामको व्यवस्थाले स्वास्थ्य संस्थासम्म पुगेर उपचार गर्नबाट वञ्चित हुने गरेका छन् । साना–साना रोग लागेको पनि थाहा हँुदैन । यी सबै समस्यालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दक्ष चिकित्सकबाट उपचार गर्ने पाउँदा हिमाका स्थानीयवासीलाई स्वास्थ्यमा राहत पुगेको अध्यक्ष शाहीले बताउनुभयो ।

सानै उमेरमा विवाह गर्दा, बच्चा छिटो जन्माउँदा र महिनावारी भएको बेला उचित स्वास्थ्य सेवा नपाउनुले गर्दा पाठेघरमा समस्या हुने गरेको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर सोनम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिविरमा आएका अधिकांश महिलाहरूको पाठेघरमा समस्या देखिएको छ ।

केही महिलाहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म रेफर गरिएको छ । पाठेघरमा समस्या भएका महिलाहरूको संख्या बढी रहेको स्त्रीरोग विशेषज्ञ डाक्टर गुरुङले बताउनुभयो । हाडजोर्नीका बिरामीले पनि सेवा लिएको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले बताउनुभयो । नशा च्यापिएका, चोटपटक लाग्दा उपचार नगराई बसेका र विभिन्न कारणले हाडजोर्नीको समस्या भएका बिरामीलाई गाउँमै पुगेर सेवा दिन पाउदा खुसी लागेको हाडजोर्नी विशेषज्ञ डाक्टर रोकायाले बताउनुभयो ।

स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले ठूलो राहत पु¥याएको स्थानीयवासी बताउँछन् । विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविरले घरमै सेवा पाउँदा निकै राहत पुगेको स्थानीयवासी रतन रोकायाले बताउनुभयो । अब पालिकाले हरेक तीन/तीन महिनाको फरकमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । यही असार ६ र ७ गते निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्ने हिमा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?