अख्तियारद्वारा जल उत्पन्न प्रकोप नियन्त्रण दाङका इञ्जिनियर रानाभाटविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इञ्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । इञ्जिनियर रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा उनले सार्वजनिक सेवामा प्रवेश गरेको २०४६/०३/३० देखि २०७९/०७/०६ सम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को विश्लेषण गर्दा तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको देखिएको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा सेयर÷जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ । निजले श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, सेयर खरिद तथा बैंकमा रकम जम्मा गरेको पाइएकाले बिगो जफत गर्ने प्रयोजनका लागि राधा रानाभाटलाई पनि प्रतिवादी बनाइएको छ ।

उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सोलार पम्पिङ खानेपानी निर्माण योजनाको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष घर्तीसहित १३ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा झुटो बिल भर्पाई बनाएर भुक्तानी गर्न नमिल्ने चार लाख ६६ हजार ४८८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्णबहादुर घर्ती, इञ्जिनियर नवीन डाँगी, सब-इञ्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध चार लाख ६६ हजार ४८८ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ । यस्तै, आयोगले घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले तत्कालीन उपाध्यक्ष घर्ती, वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई, वडा सदस्यहरू टीका विक तथा गनबहादुर भण्डारी र वडा-सचिव कुलबहादुर योगीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?