
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो । अहिले खोलाको दुईपट्टि पिल्लर मात्रै ठडिएका छन् । त्यसबाहेक पुलको कुनै पनि काम हुन सकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन् । यसवर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधन कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन् । स्थानीयले वारपार गर्न झोलुंगे पुलको सहायता लिने गरेका छन् । यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोलाहरू छन् ।
यहाँ पुल नबन्दा वडा नम्बर १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिकहरू बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको हो । निर्माण कम्पनी समय-समयमा सम्पर्कविहीन हुँदा करोडौंको योजना अलपत्र हुने गरेको स्थानीयको भनाइ छ । वि.सं. २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरिरहेको छ । वि.सं. २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
दुई वर्ष तीन महिनामा सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गत वर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर अमर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उहाँको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको इञ्जिनियर अधिकारी बताउनुहुन्छ । पाँच महिनाको अवधिमा धेरै मजदुर लगाएर धमाधम काम गरे मात्रै सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।
इञ्जिनियर अधिकारी भन्नुहुन्छ, ‘विभिन्न कारणहरू देखाएर अहिलेसम्म काम सक्न सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ, हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर ग¥यो भने चैतसम्म सकिन सक्छ, काम गरेन भने गाह्रो छ, बेसको काम गरिसकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीहरूले पनि ताकेता गरिरहेका छौँ ।’
पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीय प्रेमबहादुर पुनले बताउनुभयो । यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला सहरमा पुगिने भन्दै ठेकेदारको लापरबाहीले हजारौँ तमानखोलावासीले दुःख पाएको पुनको भनाइ छ । बर्खा लाग्न थालेपछि १०÷१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उहाँले बताउनुभयो । सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउनुहुन्छ । ‘हिउँदमा त गाडी तर्न सक्छ, यात्रा गर्न र सामानहरू ओसारपसार सजिलै गर्न सकिन्छ, जब असार लाग्छ, त्यसपछि कात्तिकसम्म त गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति बेला पनि ओहोरदोहोर गर्न सकिन्थ्यो’ पुनले भन्नुभयो, ‘यही तालले हो भने त यहाँ पुल बन्ने सम्भावना देखिन्न, वर्षौँ भयो काम सुरु भएको एक वर्षमा एकपटक काम गर्न आउँछ, दुई/चार दिन गरेर भाग्छ ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताउनुभयो । यहाँ काम गर्न कुनै पनि बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरिरहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । सम्झौताको म्याद सकिएर थप गरेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उहाँको भनाइ छ । अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘हामीहरूले धेरैपटक निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै धेरैपटक पुलको काम सकिदिनु पर्यो भन्यौँ तर सुनुवाइ नै भएन, बाहिरबाट ल्याउने सामग्रीबाहेक अरू यही सहज रूपमा पाइन्थ्यो, काम गर्न समस्या नै थिएन, मजदुर लगाएको भए एकै वर्षमा पुल सकिन्थ्यो, तर तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइराखेका छन्, निर्माण कम्पनी बेखर छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच