काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्वको समूहले काठमाडौंमा व्यापक प्रदर्शनको तयारी गरेको छ । प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका लागि देशभरबाट मान्छेहरू काठमाडौं आउन थालेका छन् । प्रदर्शनका लागि एक लाख बढी मानिसहरू काठमाडौं आइसकेको अभियानले दाबी गरेको छ । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले विभिन्न जिल्लाबाट लाखौँ मान्छे काठमाडौं आइसकेको दाबी गर्नुभयो ।
मंगलबार कार्यक्रमको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले काठमाडौंमा तीन लाख बढी मान्छे उतार्ने दाबी गर्नुभयो । अभियानका संयोजक प्रसाईँ भने पत्रकार सम्मेलनमा उपस्थित हुनुभएन । ‘डेढ लाख मानिसहरू काठमाडौं आइसकेका छन् । थप डेढ लाख मानिस आउँछन्,’ उहाँले भन्नुभयो, ‘काठमाडौंमा तीन लाख मान्छे कार्यक्रममा जान तयार छन् । कुल मिलाएर न्यूनतम ६/सात लाख मान्छे जुट्छन् ।’ आन्दोलनमा हजारौँ स–साना समूह जुटेको भन्दै यो दुर्गा प्रसाईँको निजी आन्दोलन नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरू ल्याउने उहाँले बताउनुभयो । भक्तपुरबाट आउने र्याली कमलविनायक सानोठीमी हुँदै पेप्सीकोला आउनेछ । पेप्सीबाट गुहेश्वरीको बाटो भएर मित्रपार्क हुँदै बल्खुसम्म पुग्ने उहाँले बताउनुभयो । यस्तै, कीर्तिपुर, कलंकी र गोंगबुबाट पनि जुलुसहरू आउनेछन् । मध्याहृन १२ बजे बल्खु चोकमा जम्मा भएर कोणसभा गरिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं आएका मानिसहरूलाई प्रहरीले दुःख दिएको उहाँले आरोप लगाउनुभयो । काठमाडौं आएकाहरूलाई होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उहाँको आरोप छ । ‘हामीले बुक गरेका ठाउँमा सुरक्षाकर्मीले धाकधम्की दिइरहेका छन् । धर्मशाला, पार्टी प्लालेस र होटलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ उहाँले भन्नुभयो, ‘नागरिकले खान बस्न पाउने हक सरकारले खोस्न खोजेको छ । यसको हामी विरोधमा छौँ ।’
प्रसाईंले बल्खु र युवासंघले तीनकुनेमा प्रदर्शन गर्न पाउने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिदिएको छ । दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।
युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।
प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी
जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । ‘हिन्दू सम्राट् सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ बजाइएको थियो । कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि हुनुहुन्थ्यो । ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध युवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिनुभएको हो । कुनै पनि व्यक्तिलाई संविधान तथा कानुन प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको छ ।
सरकारले बल प्रयोग गरे प्रतिवाद गर्ने
अभियानको लागि केन्द्रमा दुर्गा प्रसाईंको नेतृत्वमा सात सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, ईशा खड्का, राजु पनेरु, आनन्द प्याकुरेल, रमा सिंह र प्रेमदीप लिम्बू रहनुभएको छ । कार्यक्रम गर्न २१ वटा समिति बनाइएको छ । सुरक्षा व्यवस्थादेखि खाद्यान्न, मानिस ओसारपसार गर्ने सबै प्रबन्ध मिलाइएको छ । काठमाडौंमा आउने मानिसलाई २५ वटा पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था मिलाइएको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिनुभयो । सातवटै प्रदेशका सहभागीलाई प्रदेशअनुसार अलगअलग क्षेत्र विभाजन गरी बस्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । पाँच ट्रक खाद्यान्न व्यवस्थापन भइसकेको र ५१ जनाको चिकित्सक टोली तयार रहेको अभियानको दाबी छ । प्रदर्शन शान्तिपूर्ण हुने अभियानको दाबी छ । तर, सरकारले बल प्रयोग गरे प्रतिवाद गर्ने अभियान्ताहरू बताउँछन् ।
अभियानकै एक नेताका अनुसार प्रतिरक्षा गर्न पाँच हजारको युवा दस्ता तयारी अवस्थामा छ । एमालेले पनि त्यही दिन कार्यक्रम पारेकाले मुठभेड हुनसक्ने जोखिमको आँकलन सुरक्षा निकायले गरेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखले सोमबार नै बैठक बसी विशेष निगरानी बढाउने निर्णय गरेका छन् । प्रहरीले आइतबारदेखि नै ठाउँठाउँमा जाँच र निगरानी गरिरहेकै छ ।
निषेधित क्षेत्र घोषणाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । निषेधित क्षेत्र घोषणा गर्ने स्थानीय प्रशासनको निर्णयले नागरिकको अधिकार कुण्ठित भएकाले सर्वोच्चमा रिट हालेको उहाँले बताउनुभयो । युवा संघ नेपाल र अभियान्ता दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । दुवै पक्षले एकै स्थानमा प्रदर्शन गर्दा शान्ति सुरक्षामा असर पर्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन गर्न नपाइने आदेश जारी गरेको थियो । मंसिर ४ देखि ३० गतेसम्मका लागि आदेश जारी गरिएको थियो ।
ललितपुरमा पनि निषेधाज्ञा
ललितपुरका केही स्थानमा पनि निषेध आदेश जारी गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक आदेशमार्फत मंगलबारदेखि ६ महिनासम्मका लागि निषेधादेश जारी गर्नुभएको हो । ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्रीनिवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ६ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको छ ।
अभियानप्रति राप्रपामा दुई धार
व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ । संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास र संशय व्यक्त गरिरहँदा एकथरि नेताहरूले खुलेरै उहाँको अभियानलाई समर्थन र ऐक्यबद्धता जनाएका छन् । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डाअनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान/जनप्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन स्वाभाविक हुन आउँछ । अतः मंसिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धाराणा छ ।’
यता, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको विचार पनि डा. लोहनीसँग मिल्दोजुल्दो छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रसाईंको अभियानप्रति समर्थन जनाउनुभएको छ । मिश्रले लेख्नुभएको छ, ‘यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु/सुन्छु । त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन । हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ । पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन÷जोगाउन ‘कट्टर दुस्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावादीहरू नसक्ने ? अनि झन् त्यसमा पनि गाली गरेर बस्ने ? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?’
उहाँले अगाडि लेख्नुभएको छ, ‘मै सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्’ भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा । अन्यथा, ‘विनाशकारी अग्रगमन’ को विशाल चट्टान फुटाउनु छ । आफैँ-आफैँ बाझेर आआफ्ना अहम् पूरा होला । तर, उद्देश्य प्राप्ति हुँदैन । त्यसैले सकिन्छ, सहकार्य गरौँ । सकिँदैन, सहयोग गरौँ । सहयोग पनि गर्न मन नलागे असहयोग नगरौँ । र, सार्वजनिक रूपमा एकले अर्कोलाई हियाउने र ‘म चाहिँ असल, ऊ चाहिँ कमसल’ भन्ने काम नगरौँ ।’
राप्रपाले आधिकारिक रूपमा भने प्रसाईंको कार्यक्रमलाई लिएर कुनै आधिकारिक धारणा बनाएको छैन । अध्यक्ष लिङ्देनलगायत राप्रपा संस्थापन पक्ष प्रसाईंप्रति सकारात्मक देखिँदैन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईंको अभियानलाई लिएर पार्टीले कुनै संस्थागत निर्णय नलिएको बताउनुहुन्छ । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि ‘निःस्वार्थ रूपमा’ गरिने कुनै पनि आन्दोलनप्रति पार्टीको नैतिक समर्थन र सदासयता रहन्छ । तर, किन्तु परन्तु गरेर जनतालाई लट्पटाउन खोज्नेहरूसँग हामी सतर्क छौँ । साथै राप्रपा र राप्रपा नेतृत्वलाई लान्छित गर्ने पात्र र प्रवृत्ति हामीलाई स्वीकार्य हुनेछैन ।’ स्वार्थ प्रेरित अभियानहरूमा पार्टी नजोडिने भन्दै उहाँले भन्नुभयो, ‘राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा निरन्तर रूपमा उठाउने एउटै शक्ति राप्रपा हो । राजसंस्थाको नारा लाग्ने कार्यक्रममा हाम्रा कार्यकर्ताहरू जान सक्लान् । तर, स्वार्थप्रेरित अभियानमा पार्टीगत उपस्थिति रहँदैन ।’
राप्रपा संस्थापन पक्षले भने जस्तै प्रसाईंको ब्यानरमा राजसंस्था वा हिन्दू राष्ट्र पुनःस्थापनाको एजेण्डा उल्लेख गरिएको छैन । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ मात्र लेखिएको छ । यद्यपि, प्रसाईंले कार्यक्रमको घोषणा गर्दा व्यवस्था परिवर्तनकै लागि भएको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच