अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन मिल्दैन : चित्रबहादुर केसी

फाईल फोटाे

Read Time = 10 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताउनु भएको छ ।
सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गर्नुभयो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहीँ अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि निर्णय गरेको छ । सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नुहुँदैन् । ०७२ को संविधानमा केही त्रुटि भएको भएपनि त्यसलाई सच्याएर जानुपर्छ । वैवाहिक अंगिकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नुहुन्न । यो हाम्रो पार्टीको माग हो ।’

अध्यक्ष केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरुको विरोध भने नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अहिले नेपालमा संसदभित्र नागरिकताको विषयमा छलफल तथा बहस भैरहेको छ । संसद् बाहिरको कुरा गर्दा नेपाली जनता महँगीको मारमा परेका छन् । सरकारले महँगीविरुद्ध आश्वासनबाहेक केही पनि गर्न सकेन् । आज सुन्नमा आएको छ कि पेट्रोल र डिजेलमा भाउ घटाएको छ रे । अब त्यो पनि व्यापारीले कति मान्ने हो ?’

केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरुको अडान रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘सबभन्दा पहिले अहिले सदनभित्र चलेको नागरिकताको विषय हो, कुनैपनि देशका नागरिकले नागरिकता पाउने कुरामा विवाद होईन । हाम्रो समस्या के भयो भने संविधानमा सबै कुरा स्पष्टता छ, यहाँ अंगीकृत नागरिकबाट जन्मिएकाहरुलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने कुरा आईरहेको छ । हाम्रो भनाई के हो भने वंशजको नागरिकता दिनको लागि नेपालमा आमा वंशज र बुवापनि वंशज हुनुपर्छ । त्यसबाट जन्मिएको छोराछोरीलाई वंशजको नागरिकता दिन मिल्छ । अंगीकृतका छोराछोरीले जागिर पाएनन् । पढ्न पाएनन् । उनीहरुले अवसर पाएनन् भन्ने कुरा छ, राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिन मिल्छ । संसदीय समितिको निर्देशन सरकारले पालना गर्नुपर्छ । समितिको निर्देशन पालना गर्नुको साटो उल्लंघन गर्नु अपमान हो । समिति भनेको पनि संसद् नै हो । वैवाहिक अंगीकृत नागरिक हुनलाई ७ वर्ष कुर्नुपर्छ भनेर सरकारलाई समितिले निर्देशन दिएको छ । सरकारले त्यो निर्देशन पालना गरेको छैन् । नेपालमा जन्मिएका अंगीकृत नागरिकका सन्तानहरुलाई उनीहरुलाई वंशजको नागरिकता दिनुपर्छ भनेर यो धेरै वर्षदेखि छलफल हुँदै आएको कुरा हो । त्यसकारणले अहिलेपनि हाम्रो पार्टीको नीति के हो भने अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन मिल्दैन । हाम्रो यहाँको अवस्था पनि हेर्नुपर्छ । उत्तरतिर पनि ठूलो जनसंख्या भएको मुलुक छ । दक्षिणतिर पनि त्यस्तै छ ।’

केसीले नेपालमा राजनीति गर्ने भनेको जनता र देशको पक्षमा काम गर्ने भन्दापनि राजनीति अहिले व्यवसाय भएको टिप्पणी गर्नुभयो । ‘राजनीतिक गर्नेहरुप्रति सर्वसाधारण जनताको श्रद्धा होईन घृणा छ । राजनीति त सबै नीतिको मूल नीति हो । राजनीति गर्दा आफूलाई कति फाईदा हुन्छ, नजिककालाई कति फाईदा हुन्छ त्यो मात्रै हेर्न थालिएको छ, यो त विकृति हो । जनता मरुँन कि बाँचुन केही मतलव छैन् । सत्तामा पुग्न जेपनि गर्ने अनि पैसा कमाउने र त्यो पैसा निर्वाचनमा उडाउने परिपाटी देखियो । बारम्बार सत्तामा रजाँई गर्ने प्रवृत्ति छ, त्यो घातक छ । यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ । सत्ता र शक्तिमा जानको लागि जे पनि गर्ने काम गलत हो ,’ भन्नुभयो ।

उहाँले दलभित्र पनि अहिले अराजकता हाबी भएको आरोप लगाउँदै भन्नुभयो, हालै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयनमा आउन मन्त्रीहरु नै चूनौती बनेर खडा भएको विषय उठाउँदै त्यो प्रवृत्तिको विरोध गर्नुभयो ।
उहाँले भन्नुभयो अमेरिकाको एसपिपी कार्यक्रम अस्विकार गर्नेबारे नेपालका दलले लिएको निर्णय स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमसीसी नेपालमा धेरै पाक्यो । कांग्रेसबाहेकले विरोधको नाटक गरे । सत्ताबाट बञ्चित हुने देखेर, उनीहरुले पछि पास गरे । हेर्नुहोस् नेपालमा साँचो मान्छेको पछि जनता पनि लाग्दैनन् । केही दलले चर्को स्वरमा विरोध गरेपछि पनि एमसीसी पारित गरे । एमसीसीको विरोधमा जनमोर्चा र मजदुर पार्टीमात्रै एक्लो भए । एमसीसी पारित गरेपछि अमेरिकाको मनोबल बढ्यो, र एसपिपी पारित गराउन लागिपरेको थियो । तर, नेपालमा सबै दल एकजुट भएर एसपिपी कार्यान्वयन नगर्ने निर्णय भयो । जनताले पनि विरोध गरे । त्यसपछि एसपिपी अस्विकार भयो । नेपाली जनता पनि अब सबै कुरा आँखा चिम्लिएर स्विकार गर्ने अवस्थामा छैनन् । सचेत छन् । एसपिपी अस्विकार गर्ने सबै पक्षलाई धन्यवाद दिनुपर्छ ।’

केसीले कुनैपनि शक्ति राष्ट्रले कसैलाई पनि त्यसै सहयोग नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘शक्ति राष्ट्रले आफ्नो फाईदा हेर्छन् । हाम्रो तटस्थ परराष्ट्र नीति छ, त्यो नीतिलाई कायम गर्नुपर्छ । हामी कुनैपनि क्याम्पमा सामेल हुनुहुँदैन । यदि कुनै क्याम्पमा सामेल भयौं र कठपुतली भयौं भने, आज युक्रेनमा के भैरहेको छ । विश्वमा अहिले अघोषित रुपमा तेस्रो विश्वयुद्ध भैरहेको छ । त्यसको असर हाम्रो देशले पनि भोगिरहेको छ । नेपाली जनता अहिले महँगीको पीडामा परेका छन् । सरकार मुकदर्शक भैरहेको छ । आर्थिक संकट परेपछि मात्रै विचार गरेर हुँदैन् । नेपाल कृषिप्रधान देश भनिएको छ । तर, अहिले सबै कुरा विदेशबाट आयात भएको छ । हामीले त युवायुवती मात्रै निर्यात गरेका छौं । आज मुलुक संकटतिर गैरहेको छ । श्रीलंका टाट पल्टिएको छ । हामी पनि बेलैमा सुध्रिएनौं भने हाम्रो स्थिति पनि श्रीलंकाजस्तै हुन्छ । हामी सच्चिनुपर्छ । कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्नुपर्छ । अनावश्यक खर्च कटाएर भएपनि जनतालाई राहत दिनुपर्छ ।’

अध्यक्ष केसीले अहिलेको पाँच दलीय गठबन्धनमा समस्या रहेपनि आगामी संसद्को निर्वाचनसम्म नै कायम गरिने स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?