देशको कला संस्कृतिको संरक्षण, संवद्र्धन, पर्यटन प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरणका साथै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको नेपाली हस्तकला कोरोनाबाट थलिएकोमा लयमा फर्किंदैछ । तर, कच्चा पदार्थ, दक्ष जनशक्ति, पुँजी, नीतिगत र पुस्तान्तरणलगायतका समस्याका कारण हस्तकला क्षेत्रले अपेक्षाअनुसार गति लिन भने सकेको देखिँदैन । सोही कारण पनि विगत लामो समयदेखि नेपाली हस्तकलाको निर्यात स्थिर देखिएको छ । कतिपय हस्तकला पूर्ण स्वदेशी कच्चा पदार्थमा आधारित भए पनि स्वदेशमै उपलब्ध कच्चा पदार्थसमेत सहज र सर्वसुलभरूपमा पाउन नसक्दा आयात नै गर्नुपर्ने बाध्यता रहेको हस्तकला व्यवसायी बताउँछन् । निर्यातजन्य वस्तुमध्ये सर्वाधिक तुलनात्मक लाभको हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले खासै चासो नदिएको उनीहरूको गुनासो छ । प्रस्तुत छ, बिहीबारदेखि काठमाडौंमा सुरु हुने २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताका अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
अहिले हस्तकला व्यवसायको अवस्था कस्तो छ ?
पछिल्लो समय हस्तकला व्यवसायमा केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पनि हस्तकला निर्यात १३ प्रतिशतले बढेको देखिन्छ । युरोपतिरको मार्केट भने २० प्रतिशतले घटेको छ । उत्तरी नाका खुला भएका कारण धातु मूर्तिकला र परम्परागत विधाको निर्यात बढेको हो । यही अवस्था रहेमा क्रमिकरूपमा निर्यात बढ्न सक्ने देखिन्छ ।
हस्तकला महासंघले स्वर्ण महोत्सवका अवसरमा हस्तकला प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । उपलब्धि कस्तो रहेको छ ?
स्वर्ण महोत्सवका कार्यक्रम अझै पनि जारी छन् । जस्तै स्वर्णस्तम्भ बनाउने, स्वर्ण सिक्काको विषय मन्त्रिपरिषद्बाटै पारित गर्नुपर्ने भएकाले त्यो अहिले बाँकी नै छ । त्यसबाहेक संघीय सरकार, प्रदेश सरकार तथा सांसदज्यूहरूबाट अन्य सहयोग र सपोर्टको क्रम भने विगतभन्दा बढेको छ । उहाँहरूले हस्तकलाका बारेमा निकै चासोसाथ सोधखोज गर्नुहुन्छ । सल्लाह सुझाव लिनेदिने क्रम बढेको छ । हस्तकला क्षेत्रले निर्यातका साथै १० लाखलाई रोजगारी दिएको कुराले पनि सरकार तथा सांसदज्यूहरूमा चासो बढेको हो ।
महासंघले राज्यले नै स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने र विभिन्न उपहार, मायाको चिनो दिँदा हस्तकला नै दिनुपर्ने माग गर्दै आएको छ, कार्यान्वयनको अवस्था के छ ?
कतिपय प्रदेश सरकार र स्थानीय तहले केही सुरुवात गरेका छन् । ललितपुर महानगरपालिकाले त हस्तकलाको कोशेली घर नै सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले कसैलाई उपहार वा मायाको चिनो दिनुपर्दा कोशेली घरबाटै खरिद गरेर दिनुपर्ने व्यवस्था गरेको छ । बागमती प्रदेशले पनि यसमा पहलकदमी लिएको छ ।
नेपाल सरकारका सन्दर्भमा भने हस्तकला व्यवसायीले सार्वजनिक खरिद ऐनको ज्ञान नभएका कारण केही समस्या देखिएको छ । खासगरी हस्तकला तथा घरेलु साना उद्योगका उत्पादन खरिदमा मूल्य अभिवृद्धिकर(भ्याट) बिल आवश्यक पर्दैन, प्यानमात्रै भए पनि हुन्छ भन्ने हाम्रा कतिपय व्यवसायी कालीगढलाई ज्ञान नभएका कारण समस्या आएको हो । तर, यसमा महासंघले सहजीकरण गर्दै आएको छ ।
महासंघले आन्तरिक बजारमा १२ अर्ब र निर्यात १२ अर्ब गरी कुल २४ अर्ब बराबरको हस्तकला कारोबार हुने गरेको बताउने गरेको छ । जुन धेरै वर्षदेखि स्थिर देखिन्छ । आन्तरिक खपत किन बढ्न नसकेको होला ?
अहिले आन्तरिक खपत धेरै बढेको छ । पछिल्ला वर्षहरूमा दशैँ, तिहार, धनतेरसका बेला नेपाली हस्तकला धेरै खपत हुने गरेको छ । खासगरी धातुका मूर्ति, पूजा सामग्री र गरगहनाको बढी कारोबार हुने गरेको छ । त्यसैले आन्तरिक बजार खपतबारे फेरि अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हस्तकलाको कच्चा पदार्थको अवस्था के छ ?
कच्चा पदार्थ त्यति सहज छैन, समस्या नै छ । धेरैजसो कच्चा पदार्थ बाहिरबाटै ल्याउनुपर्ने भएकाले समस्या भएको छ । यसमा सरकार तथा भन्सार विभागले सहजीकरण गर्नुपर्ने देखिन्छ । जसका लागि महासंघले लबिङ पनि गर्दै आएको छ ।
धातुकला र सुनचाँदीजन्य हस्तकलाको कच्चा पदार्थमा समस्या होला, काष्ठकला, प्रस्तरकलाको कच्चा पदार्थको अवस्था के छ ?
काठ, ढुंगा पनि सहज छैन । नेपालको वनजंगलमा भएका काठ त्यत्तिकै कुहिएर गइरहेको छ भने व्यवसायीले मलेसियाबाट ल्याउनुपर्ने अवस्था छ । स्वदेशमै सहजरूपमा काठ उपलब्ध भएमा नेपाली पैसा नेपालमै रहने थियो भनेर हामीले नेपाल सरकार, प्रदेश सरकारसँग लबिङ गर्दै आएका छौँ । सुनचाँदीमा पनि सरकारले यस वर्षदेखि भन्सारदर बढाएका कारण सुनचाँदीजन्य हस्तकलाको लागत महँगो पर्न गएको छ । जसले गर्दा सुनचाँदीको अवैध कारोबार प्रोत्साहित भइरहेको देखिन्छ । सुनचाँदीको भन्सारदर घटाउने र दुर्ई प्रतिशत लक्जरियस शुल्क पनि नलिने व्यवस्था गरेमा अवैध कारोबार निरुत्साहित हुन सक्छ । गत वर्ष सुनको भन्सारदर १० प्रतिशत थियो, अहिले बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
हस्तकला महासंघले हस्तकला नीतिको माग गरेको धेरै भइसक्यो, के हुँदैछ ?
हामीले २०७५ सालमै हस्तकला नीतिको मस्यौदा बुझाएको हो तर राजनीतिक अस्थिरताका कारण हस्तकला नीतिको काम सुस्त देखिएको छ । हरेक वर्ष सरकार परिवर्तन हुने, मन्त्री, सचिवहरू पनि परिवर्तन हुने अवस्थाका कारण समस्या देखिएको छ । तर, हामीले नीतिका लागि लबिङ गर्न भने छाडेका छैनौँ । फेरिने हरेक सरकार, मन्त्री र सचिवज्यूहरूलाई नीतिका बारेमा हामीले ध्यानाकर्षण गराउने गरेका छौँ । सोही कारण पनि बागमती प्रदेशबाट हस्तकला ग्राम ऐन अन्तिम चरणमा पुगेको छ । पुस महिनासम्म पारित हुने अपेक्षा गरेका छौैँ ।
जनशक्तिको अवस्था के छ ?
दक्ष जनशक्ति अभाव नै छ । युवा विदेश पलायनको क्रम बढेकाले यस्तो भएको हो । त्यही भएर यहीँ युवा आकर्षित गर्न युवालक्षित कार्यक्रम कार्यक्रम ल्याउनुपर्छ भनेर सरकारसँग हामीले माग गर्दै आएका छौँ । हस्तकलामा पनि स्टार्टअप आउनुपर्छ, त्यसका लागि सरकारले प्रोत्साहित गर्नुपर्छ । अन्यथा पछि नेपाली हस्तकलामा समस्या आउन सक्छ ।
नेपाली हस्तकलाको ट्रेडमार्क छ ?
धातु मूर्तिकलाको त अहिलेसम्म छैन । हामी नेपाली हस्तकला धातु मूर्तिकलाको कलेक्टिभ ट्रेडमार्क दर्ताको तयारीमा छौँ । पश्मिनाको छुट्टै टे«डमार्क बनिसकेको छ भने फेल्टको पनि ट्रेडमार्कको तयारी हुँदैछ । कलानगरी ललितपुरमा रहेका हस्तकलाहरूको पनि छुट्टै ट्रेडमार्क हुनुपर्छ भनेर हामीले ललितपुर महानगरपालिकाअन्तर्गतको कलानगरीलाई घच्घच्याउँदै आएका छौँ ।
हस्तकलाको गुणस्तर परीक्षण ल्याबको पनि समस्या रहेको व्यवसायीको गुनासो छ, ल्याबका लागि महासंघले के गर्दैछ ?
हो, हस्तकला ल्याबको धेरै आवश्यकता छ । हामीसँग रहेको पुरानो मेसिन बिग्रिएको छ । नयाँ मेसिनका लागि हामीले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत् प्रस्ताव गरेका छौँ । आफ्नै ल्याब नभएका कारण एउटै कम्पनीले भारतको दिल्ली गएर ल्याब टेष्टमै ५०औँ लाख खर्च गर्नुपरिरहेको अवस्था छ । त्यहाँ भएकै जस्तो मेसिन हामीसँग भइदिए त्यो पैसा नेपालमै रहने थियो, व्यवसायीलाई पनि सहज हुने थियो ।
समस्याचाहिँ के छन् ?
मुख्य समस्या भनेको कच्चा पदार्थ र दक्ष जनशक्ति नै हो । आयात–निर्यातका लागि पेमेन्ट गेटवे सिस्टम नहुँदा पनि समस्या आएको छ । निर्यात गरेको सामानको पैसा पाउन समस्या नभए पनि कच्चा पदार्थ आयात गर्नुपर्दा भुक्तानीमा समस्या हुने गरेको छ । अहिलेको अवस्थामा हामीले नेपालमै बसेर अलिबाबामार्फत् व्यापार गर्न सक्ने व्यवस्था गर्नुपर्छ ।
बिहीबारदेखि काठमाडौंमा हुन गइरहेको हस्तकला व्यापार मेलाका बारेमा बताइदिनुस् न ?
यसपटक काठमाडौंको दरबारमार्गस्थित होटल परिसरमा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म मेला आयोजना हुँदैछ । अघिल्लो वर्ष हायातमा गरेका थियौँ । मेला राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसपटकको मेलामा करिब एक सय ३० स्टल रहनेछन् । मेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगलगायत स्वदेश तथा विदेशका उच्चपदस्थ अधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ । चाइनाबाट पनि हाम्रा वायर्सहरू मेला भिजिटका लागि आउँदै हुनुहुन्छ । मंसिर २८ गते हाम्रो स्थापना दिवस पनि हो, सोही दिवसको अवसर पारेर हामीले मेला आयोजना गरेका छौँ ।
मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, १८औँ हस्तकला प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तु प्रदर्शन, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदा(आइसिएच)को उजागर, ज्येष्ठ वरिष्ठ कलाकार सम्मान, कला प्रदर्शनी, अग्रणी निर्यातकर्तालाई सम्मानलगायत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच