कालीकोट । सान्नी त्रिवेणी गाउँपालिका-२ रकुका अबिलाल विष्टसँग खाडी देशको दुःखको अनुभव छ । गाउँकै स्कुलमा पढ्दै गर्दा वैदेशिक यात्राको लागि कतार पग्नुभएका उहाँले त्यहाँ आफ्नो देशको प्रेम थाहा पाउनुभयो । थोर-धेरै आम्दानी भए पनि उहाँलाई मनको शान्त भने कहिल्यै भएन । उहाँको लागि विदेशको रोजगारी यात्रा यो जिन्दगीको नयाँ अध्याय भएको थियो । तीन वर्षसम्म खाडीमा काम गरेपछि उहाँको मनले मानेन । विदेशीको भूमिमा उसैको इसारामा काम गर्नुेपर्ने ? उहाँले कतारको यात्रा तीन वर्षमा टुंग्याउनुभयो । नेपाल फर्केर कृषिलाई आफ्नो नयाँ कर्म बनाउने निधो गरी त्यो तीन वर्षको कष्टकर यात्रालाई बिट मार्दै मिठा सपना, स्वदेशमै केही फरक गर्ने हुटहुटीले उहाँ स्वदेश फर्किनुभयो ।
स्वदेश फर्किएछि उहाँले आफन्त, साथीभाइ र परिवारसँग आफ्नो लक्ष्यको विषयमा सुनाउनुभयो । त्यो थियो स्वदेशमा, आफ्नै ठाउँमा कृषि उद्योग फार्म खोलेर केही नयाँ उद्यमी बन्ने । उहाँले भने अनुसारको कृषि फार्म सुरु भएन । उहाँले सुर्खेतमा अर्गानिक भान्सा घर व्यापार व्यवसाय सुरु गर्नभयो । तर, व्यवसाय चलेन । भन्नुहुन्छ, ‘एकातिरको लक्ष्य लिएको म अर्कोतिर काम गर्दा कहाँ मन लाग्नु, तीन महिना व्यापार गरेपछि कुनै आशाको किरण नदेखेर व्यापार छाडी पुनः धनकै लागि विदेश जाने सोच बनाए ।’ उहाँले भन्नुभयो, ‘केही रकम आर्जन गरेर ल्याएको व्यवसायमा लगाएको थिए । तर, त्यो चलेन ।’
खाडीको पीडा बिर्सन नसक्नुभएका उहाँको मनमा फेरि गाउँ घरमै केही कृषि उद्योगतर्फ मन गयो । घर परिवारसँग सरसल्लाह गरेर आफ्नै गाउँ रकुमा चाउमिन उद्योग सञ्चालन गर्ने सोच बनाउनुभयो । दुई लाख रकम जम्मा गरेर उहाँले प्रकृति चाउमिन उद्योगको सुरुवात गर्नुभयो ।
पहिलोपटक गाउँमा चाउमिन उद्योग सञ्चालन गर्नुभएका अविलाललाई सन्तुष्ट हुने आधार भनेको साथीभाइको प्रशंसा र विभिन्न संघसंस्था अनि सरकारी निकायको सम्मान जसले मलाई आफ्नो कर्ममा अघि बढ्न सहज बनाएको उहाँ बताउनुहुन्छ । आफ्नै घरपरिवारबाट पनि साथ र सहयोग मिल्न थाल्यो । व्यवसाय सञ्चालनकै क्रममा साना किसान लघुवित्त वित्तीय संस्थामार्फत तालिम लिने अवसर मिल्यो । केही कमाउने अनि केही सिक्नको लागि नेपालका बिभिन्न शहर बजारमा तालिम दिने अवसर पनि पाउनुभयो । पछि चाउमिन उद्योग राम्रो हुन थालेपछि हुरेन्डेक नेपालमार्फत सञ्चालित लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले थप केही रकम अनुदान दियो ।
अहिले दैनिक ४० देखि ५० किलोसम्म चाउमिन बिक्री हुने गरेको छ । खाडीको दुःख सम्झिने हो भने स्वदेशमै सुन फलाएको जस्तो लाग्छ, उहाँलाई । उहाँले भन्नुभयो, ‘मासिक रूपमा ५० हजारदेखि ६० हजारसम्म कमाउँछु । यसका लागि अझै केही समस्याहरू छन् । सबै ठाउँमा यातायात सुविधा छैन । नयाँ औजार उपकरणसँगै बजारीकरणमा समस्याहरू छन् । अहिले रेंगील, लालिघाट, शान्तिघाट लगायतका बजारमा दिने गरेका छौँ ।’ यातायतको साधनहरू भएमा रास्कोट, सान्नी, पचालझरना गाउँपालिका लगायतका क्षेत्रमा दिन सकिने अबिलाल बताउनुहुन्छ ।
अहिले चाउमिन उद्योगमा घरकै मान्छेले रोजगारी पाएका छन् । मेरो योजना कर्णालीको रैथाने अन्नबाली जस्तै कागुनु, चिनो, फापर कोदो लगायतका अन्नबाट उत्पादन गरी जिल्ला मात्र हैन कर्णालीको अर्गानिक रैथाने वस्तु काठमाडौंसम्म पुर्याउने योजना थालेको बताउनुभयो । ‘अहिले रैथाने बालीको अन्नबाट बनाउने परिकारका बारेमा तालिम लिरहेको छु,’ उहाँले भन्नुभयो । अबिलाल मात्र हैन यहाँका बेरोजगार युवाहरू केही न केही व्यवसायमा लागेका छन् । कोही तरकारी खेती गरिररहेका छन् भने केही भेडा तथा बाख्रापालन गरेर जीविकोपार्जन गरिरहेका छन् ।
बालविवाह छिटो विवाह र जवजस्र्ती गरिने विवाह विरुद्धको परियोजनामार्फत बेरोजगारलाई रोजगार दिएर उनीहरूको जीविकोपार्जनमा समेत सहयोग गर्दै आइरहेको परियोजना फिल्ड सुपरभाइजर कटक बमले बताउनुभयो । यो परियोजनाबाट रास्कोट, नरहरिनाथ र शान्नि त्रिवेणी गाउँपालिकाका १२९ जनालाई व्यावसायिक सुरु तथा सुधार तालिम दिएर मिहला किशोरी उद्योमिहरूलाई आर्थिक सहयोग गरी जीविकोपार्जन गरिरहेको बमले बताउनुभयो ।
यो परियोजनाको सहयोगमा सान्नी, रास्कोट र नरहरिनाथ गाउँपालिकामा कसैले कुखुरापालन, सिलाइकटाई व्यवसाय त कसैले अर्गानिक व्यवसाय सञ्चालन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच