सोल । प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ । सोल, टोक्यो र वासिंटनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रममा कोष उपलब्ध गराउने विश्वास गरिन्छ ।
सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘प्योङयाङको जासुसी जनलर ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’ मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।’ उहाँको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ ।
रीलाई उत्तर कोरियाली हृयाकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल संगठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ । रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक-सम्बन्धित खनिज र संयुक्त राष्ट्रसंघद्वारा स्वीकृत सामग्री लिथियम-६ को व्यापार’ मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाएको छ ।
कालो सूचीमा परेका व्यक्तिलाई सोलको पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्यरूपमा प्रतीकात्मक हुन् ।
सोलले अहिले गतवर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालो सूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ । उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताउनुभएको थियो ।
‘उत्तर कोरियाको उत्तेजनाले अनिवार्यरूपमा मूल्य तिर्नुपर्ने हाम्रो सरकारले स्पष्ट गरेको छ’, सोलको विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा भनेको छ, ‘उत्तेजना बन्द गर्न र आणविक निःशस्त्रीकरणका लागि वार्तामा सहभागी गराउन अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सहयोग जारी राख्ने तथ्यबाट हाम्रो सरकारले उत्तर कोरियालाई महसुस गराउनेछ ।’
सोल, टोक्यो र वासिंटनका अनुसार प्योङयाङले गत वर्षमात्रै क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढी चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधि’मार्फत सूचना एकत्रित गरेर आफ्नो हतियार कार्यक्रममा सहयोग गरेको थियो । रासस÷एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच