काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ । माघे संक्रान्ति (माघी पर्व)को अवसरमा सोमबार संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई शीतलनिवास बोलाएर शुभकामना आदानप्रदान आयोजना गर्नुभएका राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको ढिलाइ र कमजोरीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरूले तत्काल आवश्यक कानुन बनाएर संविधान कार्यान्वयनमा ध्यान दिन ध्यानाकर्षणसमेत गराउनुभयो ।
नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यत्तिको संविधान दक्षिण एसियामा, सार्क मुलुकहरूमा कमै होला भनेर सबैले सम्मान गरेका छन्, प्रशंशा गरेका छन् । अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । यो संविधानले पिछडिएका वर्गलाई, उपेक्षित वर्गलाई जो अधिकार दिएको छ । त्यो सार्थक हुनुपर्यो । हामीले व्यवहारमा उतार्नका लागि कानुन बनाउनुपर्ने छ । त्यसैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले दिएको अधिकारलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्नेछ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईंहरू सबैलाई अनुरोध र आग्रह के छ भने संविधान कार्यान्वयनमा जाऔँ ।’
सो अवसरमा राष्ट्रपति पौडेलले नेपालमा रहेका विदेशी राजदूतहरू तथा प्रतिनिधिहरूले नेपालको संविधानको प्रशंसा गर्ने गरेको बताउँदै भन्नुभयो, ‘मैले यहाँ आएपछि जति पनि विदेशी प्रतिनिधिहरू, पाहुनाहरू, राजदूतहरू अथवा विभिन्न विदेशी निकायका प्रतिनिधिहरूसँग मैले भेटेको छु । उनीहरूले नेपालको अहिलेको संविधानको मुक्तकण्ठले स्वागत गर्ने गरेका छन् । संविधानले महिला, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका दुर्गमका जनतालाई अधिकार दिएको भन्दै सबैले प्रशंसा गरेका छन् ।’
जनताले विकासको अपेक्षा गरेको र त्यसमा जनप्रतिनिधिले उचित भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपतिको भनाइ छ । जनताले संविधानपछि गरेको आशालाई निराशामा परिणत हुन दिन नहुनेमा जोड दिँदै राष्ट्रपति पौडेलले राजनीतिक दलका शीर्ष नेताहरूलाई भन्नुभयो, ‘जनताले अब जे पाइन्छ भन्ने आशा गरेका छन् त्यो आशालाई निराशामा परिणत नगरौँ । देशमा निराशाका कुराहरू आएका छन् । यो संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्कन कोही नेपाली जनता चाहँदैनन्, नेपाली जनताको चाहना र भावना मैले पनि बुझेको छु ।
विदेशबाट आएकाहरूको मात्र होइन कि देश भित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो, संविधान कार्यान्वयन गरेर देशलाई विकास गर्ने हो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो ।’ राष्ट्रपति पौडेलले माघी पर्वलाई नेपालको मौलिक पर्वको रूपमा चित्रण गर्दै सबैमा शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले आयोजना गर्नुभएको चियापान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा,संघीय संसद् अन्तर्गतका विभिन्न समितिका सभापति लगायतको उपस्थिति रहेको थियो ।
शीतल निवासमा सांसद सुवालको प्रतिवाद
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको बखान गर्दैगर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवाद गर्नुभएको छ । माघे संक्रान्तिको अवसरमा सोमबार संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई राष्ट्रपतिले दिवा भोजमा बोलाउनुभएको थियो । उपस्थित नेताहरूबीच राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा जोड दिनुभएको थियो । राष्ट्रपति पौडेलले संविधानको बखान गरिरहँदा सांसद प्रेम सुवालले भने प्रतिवाद गर्दै भन्नुभयो, ‘राष्ट्रपतिज्यूले संविधान राम्रो छ भन्नुभयो । संविधान त राम्रै छ । तर, सार्वजनिक शिक्षा त ध्वस्त भयो नि राष्ट्रपतिज्यू, प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बोलाएर ध्यानाकर्षण गर्नुपर्यो ।’ दोहोरो सवाल जवाफ नभएकोले राष्ट्रपति पौडेलले भने सांसद सुवालले उठाउनुभएको सवालको कुनै जवाफ दिनुभएन ।
ओलीद्वारा राष्ट्रपतिको दिवा भोज बहिष्कार
माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गर्नुभएको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको छ । राष्ट्रपतिले माघे संक्रान्तिको अवसरमा सोमबार राजनीतिक दलका नेताका लागि शीतल निवासमा दिवा भोजको आयोजना गर्नुभएको थियो । अध्यक्ष ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेकाले उपस्थित हुन नसकेको बताइएको छ । यसअघि भदौ पाँच गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन । यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलहरू नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राष्ट्रपतिले छलफल गर्नुभएको थियो ।
सरकारका कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँले नेतृत्व गरेको सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताउनुभएको छ । सोमबार अर्घाखाँचीस्थित सन्धिखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु ।
मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पूरा नगर्नेलाई हेरफेर गरिन्छ ।’ अर्थतन्त्र सुधारदेखि सुशासनको क्षेत्रमा धेरै काम अगाडि बढाइरहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सरकारले अर्थतन्त्र सुधारदेखि सुशासनको पक्षमा धेरै काम गरिरहेका छन् । तर, राष्ट्रको अपेक्षाअनुसार पूरै सन्तुष्ट छैन । अर्को वर्ष अझै तीव्र गतिमा काम गर्ने प्रतिबद्धता गरेको छु ।’ उहाँले आफ्नै कार्यशैलीबाट सरकारको कामलाई सुधार्ने प्रयास गरिरहेको दाबी गर्नुभयो ।
संघीय निजामती ऐन र प्रहरी समायोजनाको काम आफू नेतृत्वको सरकारले नगरे अरुले गर्न नसक्ने दाबी गर्दै भन्नुभयो, ‘प्रदेशहरूलाई बलियो अधिकार दिनको लागि संघीय निजामती ऐनलाई चाँडै पारित गर्छौं, प्रहरी समोजन ऐन पनि अगाडि बढिसकेको छ । मेरो नेतृत्वमा संघीय निजामती ऐन बनेन प्रहरी, समायोजन कार्यान्यन भएन भने या संघीय शिक्षा ऐन अगाडि बढेन भने मलाई डर छ अरूबाट यो काम हुँदैन ।’
‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन’
प्रधानमन्त्री प्रचण्डले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभएको छ । नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताउनुभएको हो । उहाँले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनुभयो । उहाँले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धतसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिएँ । तर, दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्ने हैसियतमा चुनावबाट आउन सकेन ।’ प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि दोहोर्याउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच