रुस-युक्रेन युद्धको एक वर्ष

मानवीय क्षतिसँगै अर्बौं स्वाहा, छैन रोकिने छाटकाँट

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको एक वर्ष पूरा भएको छ । सोभियत संघका तत्कालीन दुई मुलुक ३६५ दिनदेखि एकआपसमा लडिरहेका छन् । रुसले सन् २०२२ फेबु्रअरी २४ मा युक्रेनविरुद्ध विशेष सैनिक अभियान सुरु गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैनिक कारबाहीको घोषणा गरेको शुक्रबार एक वर्ष पूरा भएको हो । पूर्वी युक्रेनका रुसीभाषी डोनेट्स्क र लुह्यान्स्क क्षेत्रमा भएको जनमतसंग्रहले दुई देश युद्धमा पुग्ने परिस्थिति बनेको थियो ।

दुई क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै उनीहरूको सहयोगका नाममा सेना परिचालन गरेपछि युक्रेनसँग तनाव बढेको थियो । युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन नेटोमा आबद्ध हुन चाहेको, युरोपियन युनियनको सदस्य बन्न खोजेको, सीमा क्षेत्रमा नेटो सेना परिचालन गरेको र अमेरिकासँग मिलेर रुसलाई चुनौती दिएकोलगायत आरोप युक्रेनमाथि रुसले लगाएको थियो ।

एक वर्षयता रुस र युक्रेनबीच निरन्तर लडाइँ चलिरहेको छ । लडाइँ कहिले अन्त्य हुने भन्ने पनि अझै निश्चित छैन । दुवै देशले युद्ध जित्ने दाबी गरिरहेका छन् । युद्ध अन्त्य गर्न वार्ताको प्रयास पनि भइरहेको छ । तर, सम्झौताको पक्षमा दुवै मुलुक देखिएका छैनन् । एक वर्षको अवधिमा दुवै देशमा खर्बौंको क्षति भएको छ । मानवीय र भौतिक दुवै क्षति दुई देशले व्यहोरेका छन् । युक्रेनतर्फ बढी क्षति भएको छ । युद्धमा लाखौँ मानिसको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । ज्यान गुमाउनेहरूको यकिन संख्या भने अझै आउन सकेको छैन । युद्धका क्रममा सन् २०२२ को नोभेम्बरसम्म एक लाख रुसी र एक लाख युक्रेनी सैनिक मारिएको बिबिसीले उल्लेख गरेको थियो । युद्धमा मारिने सर्वसाधारणको संख्या हजारौँ छ ।

समाचारमा जनाइएअनुसार युद्धमा परेर ५६ हजारभन्दा बढी घाइते भएका छन् । अझै कम्तीमा १५ हजार मानिस हराइरहेको समाचारमा जनाइएको छ । युद्धका कारण करिब एक करोड ४० लाख मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुवैतर्फ गरी करिब तीन खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति ध्वस्त भएको समाचारमा उल्लेख छ ।

युद्धरत एक वर्षमा रुसले युक्रेनी भूमि खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्कलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणपछि ती क्षेत्रमा बाक्लो रूपमा रुसी सेना परिचालन गरिएको छ भने जनतालाई रुसी नागरिकका रूपमा बस्न भनिएको छ । त्यसो गर्न नमान्नेहरूलाई रुसी सेनाले तारो बनाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्ध सुरु भएयता अधिकांश युक्रेनी जनता भागेर छिमेकी मुलुक पोल्याण्ड, हंगेरी, रोमानिया, स्लोभाकिया, मोल्दोभासहित अन्य देश पुगेका छन् । तीमध्ये ८० लाखभन्दा बढी देशबाहिर विस्थापित भएको बताइएको छ । जसमा सबैभन्दा बढी ५४ लाख मानिस शरणार्थीका रूपमा पोल्याण्ड गएका छन् । त्यस्तै, १२ लाख युक्रेनी हंगेरी र १० लाख रोमानिया पुगेका छन् । युक्रेनमा अहिले एक करोड ७० लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको युएनएचसीआरको भनाइ छ । राष्ट्रसंघीय बालकोष युनिसेफले युक्रेनभित्र २५ लाख बालबालिका विस्थापित भएको र ५० लाख बालबालिका शिक्षाबाट वञ्चित भएको जनाएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार एक करोड १० लाख मानिसलाई ७४० संस्थाले मानवीय सहायता उपलब्ध गराएका छन् । ४३ मुलुकबाट संकलित एक करोड ७० लाख टन खाद्यान्न युक्रेनमा पु¥याइएको राष्ट्र संघले जनाएको छ ।

युद्धका कारण विश्व अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । संसारभर युद्धका कारण भोकमरीमा पर्ने मानिसहरूको संख्या अकासिन पुगेको छ । रुस र युक्रेन दुवै देश संसारकै प्रमुख खाद्यान्न निर्यातक रहेकोमा युक्रेनबाट हुने अन्न निर्यातमा यो वर्ष भारी गिरावट आएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै सबै वस्तुहरूको मूल्य आकासिएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०२२ को अन्ततिर चरम् खाद्य असुरक्षामा रहने मानिसहरूको संख्या साढे ३४ करोड पुगेको छ । कोभिडले थङ्थिलो बनाएका धेरै देशका विपन्न मानिसहरूलाई यो संकटले थप गरिबीतिर धकेलेको छ ।

रुस–युक्रेन युद्धलाई लिएर शक्ति राष्ट्रहरू पनि स्पष्ट रूपमा विभाजित भएका छन् । संयुक्त राष्ट्र संघको बिहीबार राति बसेको आपत्कालीन बैठकले रुसले युक्रेनबाट सेना फिर्ता लानुपर्ने भन्ने प्रस्तावमा चीन, भारतलगायत राष्ट्रहरू मतदानमै सहभागी भएनन् । उक्त प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भए पनि ३२ देश भने मतदानमै सहभागी भएनन् । उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ राष्ट्रहरू रहेका थिए भने रुससहित ६ वटा मुलुकले विपक्षमा मतदान गरेका छन् । यसले के देखाउँछ भने युक्रेनमा शान्ति स्थापनाका लागि विश्वका शक्ति राष्ट्रहरू एक स्थानमा छैनन् ।

नेपालले युक्रेनमा रुसी आक्रमणको विरोध गरेको थियो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेको थियो ।

अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा
अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,’ राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभएको छ । यद्यपि, उहाँले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिनुभएको छैन । यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किएभ पुग्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलब्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बताउनुभएको थियो ।

युक्रेनबाट निःसर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले युक्रेनबाट आफ्ना सेना निःसर्त फिर्ता गर्न आहृवान गर्दै समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसंघीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा १४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् । १९३ सदस्यीय संयुक्त राष्ट्रसंघमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा १४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए ।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसंघीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आहृवान’ भएको टिप्पणी गर्नुभएको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल’ साउथ युक्रेनको पक्षमा उभिँदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताउनुभयो । उहाँले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तर्राष्ट्रिय समुदायले बुझेको बताउनुभएको छ ।

युद्ध हामीले हैन, पश्चिमा र युक्रेनले सुरु गरेका हुन् : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न चाहेको बताएका छन् । युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत समाधान गर्न चाहेको बताउनुभएको हो । शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि पुटिनले बताउनुभएको छ । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाउनुभयो । पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गर्नुभएको छ । त्यस्तै, उहाँले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाउनुभएको छ ।

युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको छ, रुसलाई जमिन दिएर शान्ति सम्झौता हुन सक्दैन : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग दिन नसकिने बताउनुभएको छ । रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनु भएको उहाँले बताउनुभएको छ । केही दिनअघि बिबिसीसँगको अन्तर्वार्तामा उहाँले पश्चिमा मुलुकको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति जेलेन्स्कीले वसन्त यामको आक्रमण सुरु भइसकेको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्षम रहेको बताउनुभएको छ । उहाँले रुसी आक्रमणको प्रतिरोध गर्न पश्चिमा मुलुकबाट सैन्य सहयोग पनि मागिरहनु भएको छ ।

जीवनमा कैयौँ सम्झौता हुने गरे पनि रुससँग भने सम्झौता हुन नसक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘अहिले हाम्रो अस्तित्वको रक्षा नै हाम्रो एकता हो । मलाई विश्वास छ युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको छ ।’ एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?