चितवन । भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ । युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो ।
युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो ।
भौतिक विकासमा अग्रणी मानिएको भरतपुरलाई आइटी हबका रूपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । डिलोइटले भरतपुरको २० वर्षे गुरुयोजनाअन्तर्गत आइटी हब निर्माण गरी यहाँको आर्थिक समृद्घि र रोजगारीको अवसर सिर्जनालाई मुख्य आधार बनाएको छ ।
नगरप्रमुख रेनु दाहालले परामर्शदाता कम्पनीलाई वस्तुगत आधार र भौगोलिक यथार्थलाई गहनरूपमा बुझेर गुरुयोजना निर्माण गर्न सुझाव दिएको बताउनुभयो । गुरुयोजनालाई निर्धारित समयमा सकेर केन्द्र, प्रदेश सरकार, दातृ निकायको सहयोग र समन्वयमा कार्यान्वयनमा लैजाने महानगरको योजना रहेको उहाँले बताउनुभयो ।
भौतिक विकास, समता-समानता, सुशासनपछि अबको भरतपुरको लक्ष्य रोजगारी सिर्जना र अत्मानिर्भर सूचना प्रविधिमैत्री भरतपुर बनाउने लक्ष्य रहेको नगरप्रमुख दाहालको भनाइ छ ।
यो कम्पनीले यसअघि भारतको बैङ्लोर र बङ्गलादेशमा आइटी हब बनाउन सहयोग गरेको थियो । महानगर प्रमुख दाहालले भन्नुभयो, “अनुभवी कम्पनी भएकाले समयमै उच्चस्तरको गुरुयोजना बन्नेमा हामी विश्वस्त छौँ ।”
डिलोइटले भरतपुरको सूचना प्रविधिको क्षमता आकलन, आइटी कम्पनीको आवश्यकता, भरतपुरले आइटी कम्पनीलाई के-के सुविधा दिनसक्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यसैगरी नीतिगत सुधार गर्नुपर्ने विषय, आइटी कलेज र तालिम केन्द्र निर्माणलगायतका विषयमा अध्ययन गरी गुरुयोजना बनाउने छ ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेपलपमेन्ट स्टडिज (आइआइडीएस)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालबाट एक सय छ भन्दा बढी सूचना प्रविधि कम्पनीले सेवा निर्यात गरेका छन् । सूचना प्रविधि क्षेत्रले सेवा निर्यातका माध्यमबाट वार्षिक रु ६८ अर्ब ७६ करोडभन्दा बढी रकम स्वदेश भित्र्याइरहेको छ ।
आइआइडीएसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको सूचना प्रविधि सेवा निर्यातमा ६४ दशमलव दुई प्रतिशतको उल्लेख्य वृद्धि भएको थियो । नेपालका त्यस्ता आइटी कम्पनीलाई भरतपुर भित्र्याएर रोजगारी सिर्जना गर्न उपयोग हुने गरी गुरुयोजना बनाउन लागिएको नगरप्रमुख दाहालले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच